बागलुङ, १० असार– बागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यो बजेट गत वर्षको भन्दा १० करोड बढी हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ९४ करोड ७७ लाख ८६ हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
नगर उपप्रमुख सुरेन्द्र खड्काले बिहिबार सार्वजनिक गरेको बजेटमा चालु तथा पूँजीगत र वित्तिय व्यव्स्थापनतर्फ १५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यक्रमतर्फ आर्थिक वर्ष २०७८/०७९ का लागि २३ करोड ५ लाख विनियोजन गरिएको छ ।
उपप्रमुख खडकाले आर्थिक विकासतर्फ कृषिमा १ करोड, ५९ लाख, पशु विकासका लागि ६९ लाख, पर्यटनमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रर्वद्वनका लागि ४ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ ।
यस्तै, सामाजिक विकातर्फ शिक्षामा ३९ करोड ५१ लाख बजेट विनियोजन गर्दै प्रारम्भिक बालविकास केन्द्रका सहजकर्तालाई नेपाल सरकारले घोषणा गरेको मासिक पारिश्रमिकमा ७ हजार थप गरी १५ हजार कायम गर्ने व्यवस्था गरिएको छ ।
जनस्वास्थ्य सेवातर्फ ९ करोड ५८ लाख, ६५ हजार, युवा तथा खेलकुद विकास विकासतर्फ बाङेचौर खेल मैदान निर्माणका लागि ३ करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ शिल्ड, खेलकुद मैदान सुधार र विस्तारका लागि ९३ लाख ५० हजार रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सुरक्षित आप्रवासन परियोजना, भाषा, साहित्य, कला र संस्कृती, सुरक्षित आवास व्यवस्थापन कार्यक्रमलाई समेत प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । यस्तै, खानेपानी आयोजनाका लागि ५८ लाख विनियोजन गरिएको उपप्रमुख खड्काले जानकारी दिएका छन् ।





