शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनी नगरको नीति : कृषि र पशुपालनमा केन्द्रित ( पूर्ण पाठ)

जैमिनी नगरको नीति : कृषि र पशुपालनमा केन्द्रित ( पूर्ण पाठ)

६४ करोड १३ लाख ६४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक


  • ढोरपाटन सम्वाददाता
  • असार १० २०७८, बिहिबार

बागलुङ, १० असार– दक्षिण बागलुङको जैमिनी नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सक्रियताका साथ लाग्ने नीति लिएको नगरपालिकाले कृषि र पशुपालन व्यवसायमार्फत स्वरोजगारी उत्पादनमा जोड दिएको हो । कृषिमा उत्पादन बृद्धिका लागि बाँझो जग्गालाई निश्चित समयका लागि भाडामा लिएर उत्पादन मुलक क्षेत्रमा लगाउने नीति लिईएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
नगर प्रमुख पौडेलले नवौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेसहारा महिला पुरुष तथा एकल महिला बिषेश अनुदान कार्यक्रम सार्वजनिक गरे । पशु पल्टन र कृषि पल्टन परियोजना सञ्चालनमार्फत दिगो बिकास गर्ने लक्षलाई यसपालिका पनि निरन्तरता दिईएको छ । नगरले शिक्षा, स्वास्थ्य सामाजिक बिकास र पूर्वाधार निर्माणको कामलाई उपलव्धीमुलक बनाउने नीति लिएको छ ।

(नीति तथा कार्यक्रमको पूर्ण पाठ)

जैमिनि नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कुश्मिसेरा, बागलुङ

२०७८

नवौं नगर सभाको बैठकमा नगर प्रमुख श्री इन्द्रराज पौडेलबाट प्रस्तुत

आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम

२०७८ साल असार १० गते

आदरणीयसभाध्यक्षज्यू, नगर सभाका सदस्यज्यूहरु,

जैमिनि नगरपालिकाको यो गरिमामय नवौं नगरसभाको वैठकमा आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम सम्वोधन गर्न पाउँदा खुशीव्यक्त गर्न चाहन्छु । यस अवसरमा लोकतन्त्र प्राप्तिको संघर्षमा जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जलीअर्पण गर्दै तथा घाइते प्रति स्वास्थ्यलाभको कामना गर्दछु । राष्ट्रियता. लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदान प्रति उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।

विश्व यो वर्ष कोरोना महामारी कोभिड १९ को विकराल समस्याबाट गुज्रिरहेको छ । यसबाट हाम्रो देश नेपालमा पनि दिनानुदिन संक्रमितहरुको संख्या वढिरहेको अवस्था विद्यमान छ । प्राणघातक यस भाईरसको कारणबाट यस नगरपालिका भित्रका नागरिकतथा स्वदेश र विदेशमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरु प्रति भावपूर्ण श्रद्धान्जली र परिवारजन प्रति समवेदना व्यक्त गर्दछु । यस महामारीबाट सजग र सचेत हुंदै एक आपसमा भौतिक दुरी कायम गरी सुरक्षित तवरले जनजीवनलाई चलाउन सम्पूर्ण जैमिनीबासी दिदि बहिनी दाजुभाइ प्रति हार्दिक अपिल गर्दछु । महामारीको समस्याले गर्दा गतवर्ष देखी नै  हाम्रो ध्यानमहामारी रोकथामको दिशातर्फ मोड्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ । महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी मित्रहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । साथै सम्पूर्ण वडाध्यक्ष लगायत सदस्य ज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, राजनैतिक दलहरु, नागरिक समाजका अगुवाहरु प्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।

संघीय लोकतान्त्रिक गणन्त्र नेपालको मुल संरचना सघ प्रेदश र स्थानीय तह विचको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । स्थानिय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार संचालन ऐन २०७४ जारी भइ कार्यान्वयनमा रहेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरुको वहाली सँगै संविधानमा व्यवस्था भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्दै स्थानीय सरकार संचालन गर्नुका अतिरिक्त लोकतान्त्रिक, समावेशी, जवाफदेही, पारदर्शी र प्रभावकारी स्थानीय शासनको अनुभूति जनतालाई गराउने दायित्व पनि जनप्रतिनिधिहरुको रहेको छ ।

 

नेपालको संविधानले सघं प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । संघ प्रदेश र स्थानीय तहका आ-आफ्नो अधिकार र कार्यक्षेत्र तोकेको छ । राज्य शक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तहको साझा अधिकारका सुचि समेत संविधानको अनुसुचिमा व्यवस्था गरिएका छन् ।  संविधानले प्रत्याभूति गरेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा उल्लेखित प्रावधानहरुलाई सरकारले कार्यान्वयन गर्नु पर्नेछ । नयाँ शासकीय प्रवन्ध र प्रणालीले राष्ट्र निर्माणको लागि शान्ति र स्थायित्वको आधार निर्माण गरेको छ । यो राजनैतिक र नीतिगत अवसरको जगमा उभिएर नागरिकले अनुभूति गर्ने परिवर्तनको लाभांश वर्तमान पुस्ताले नै प्राप्त गर्ने गरी नेपाली जनताको जीवनस्तरमा सुधार गरी विकास र संवृद्धिको मार्ग प्रशस्त गर्नु आजको आवश्यकता रहेको छ।यो पुरा नहुँदा सम्म हाम्रो प्रतिबद्धता जस्ताको तस्तै रहिरहने छ ।

नेपाल सरकारको निर्णय अनुसार वि.स २०७३ साल फागुन २७ गतेका दिन जन्म लिएको जैमिनी नगरपालिका पाँचौ वर्षमा अगाडि वडिरहेको छ । ग्रामिण परिवेशलाई समेटी निर्माण गरिएको हाम्रो नगरपालिकालाई वास्तविक नगरको स्वरुप दिन निकै कठिन छ । आन्तरिक स्रोत र साधनहरुको न्यूनता छ । विकासका पूवार्धारहरु नयाँ निर्माण गर्नुपर्ने अवस्था छ । सीमित स्रोत र साधनको विचमा असिमित आवश्यकताहरुलाई पुरा गर्नुपर्ने बाध्यतालाई मनन गर्दै हाम्रा विकासका गतिविधिहरु अगाढि बढाउनु परेको छ । अन्तरराष्ट्रिय प्रतिवद्धता अनुरुप वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्यहरु हासिल गर्न हामी आम नगरबासी आफै कम खर्चिलो बन्दै विकास निर्माणलाई आफ्नो घरको जस्तै काम संझेर पुरा गर्नु हाम्रो कर्तव्य ठान्नुपर्दछ ।

धेरै कामहरु हामी आफै लागेर पुरा गर्न सक्यौ भने मात्र सीमित साधन श्रोतमा संवृद्धिको यात्रा थालनी हुन सक्दछ, अन्यथा गलत प्रवृतिको विकास हुदै जाने, श्रोत र साधनको दुरुपयोग हुदै जाने, गरीबी, पछौटेपन जहाँको तही रही रहने अवस्था सृजना हुन सक्दछ । यसैले सवै कमजोरीहरुलाई निराकरण गर्दै सवै जातजाती, वर्ग, लिंग, क्षेत्र समुदायहरुलाई शसक्त र विकसित बनाउदै प्रस्तुत नीति तथा कार्यक्रम सार्थक बनाउने तर्फ हामी सवैको ध्यान जानु अपरिहार्य छ । हाम्रो प्रयास प्राप्त स्रोत र साधानलाई प्राथमिकीकरण गरी उचित प्रतिफल प्राप्त गर्ने दिशा तर्फ अग्रसर हुनु जरुरी छ । जनतालाई पुर्‍याउनुपर्ने शिक्षा,स्वास्थ्य खानेपानी, भौतिक पूवार्धार निमार्ण, कृषि क्षेत्र विकास, रोजगारी सिर्जना, गरीवी न्युनिकरणका लागि संन्तुलित र समावेशी विकास जस्ता विषय र क्षेत्रहरुमा केन्द्रित हुनु पर्दछ ।

नेपालको संघीय शासन प्रणाली नेपाली जनताको लामो त्याग वलिदान र संघर्षको उपज हो । नेपालको संविधानले सूत्रपात गरेको संघीय शासन प्रणालीलाई कार्यमुलक र प्रभावकारी वनाइ नागरिकको हक अधिकारको रक्षा, आर्थिक विकास र संवृद्धिको लागि जैमिनी नगरपालिका निरन्तर लागि रहने छ । लोक तन्त्रका आधारभूत मुल्य र मान्यता, जनताको प्रतिष्पर्धात्मक बहुदलीय शासन प्राणाली , मौलिक अधिकार, मानव अधिकार,वालिक मताधिकार, पुर्ण प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, शक्ति पृथकिकरण , निष्पक्ष न्याय संपादन र विधिको शासन संचालन गर्दै “सुखी जैमिनी संमृद्ध जैमिनी” को यात्रा सफल पार्न नगरपालिका प्रतिवद्ध छ ।

 

अध्यक्ष महोदय,

हामी जनप्रतिनिधिहरुले हाम्रो कार्यकाल ४ वर्ष व्यतित गरिसकेका छौं । यो अवधिमा हामीलाई प्राप्त श्रोत र साधनलाई जनताको आवश्यकता र हित अनुकुल हुने गरी सेवा पुर्‍याउने प्रयास गरिरहेका छौं । सवै वडा केन्द्रमा निरन्तर चल्न सक्ने सडक निर्माण, प्रशासकीय भवन निमार्ण सुधार, सुकुम्बासी, घरविहिन र खरका छाना भएका परिवारलाई व्यवस्थित बसोवास,स्थानीय कृषि उत्पादनमा बृद्धि र बजारीकरण, गुणस्तरीय र सुलभ शिक्षाको अवसर, सहज र भरपर्दो स्वास्थ्य सेवाको पहुंच तथा महामारी नियन्त्रण,स्वच्छ खानेपानी र सरसफाई युक्त टोलवस्ती, गुणस्तरिय खाद्य बस्तु उपलब्धताको प्रत्याभुति,कला संस्कृतिको संरक्षण, पर्यटन क्षेत्रको विकास, रोजगारीका अवसरहरुको सृजना, वातावरण संरक्षण, सुशासन र संस्थागत विकास जस्ता क्षेत्रहरुमा शुरु गरिएका प्रयासहरु हाम्रा प्राथमिकताका प्रमुख क्षेत्र हुन् ।

हामीले यस अवधि सम्ममा प्राप्त गरेका उपलब्धि, थालिएका प्रयास, महत्वपूर्ण सिकाई राजनैतिकदलका अग्रजहरु, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजबाट प्राप्त सुझावलाई मनन गरिनुका अतिरिक्त यस नगरपालिकालाई आगामी आ.व. २०७८/०७९ मा संघीय सरकार तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा शर्शत र निर्शत गरि प्राप्त हुने रकम, र नगरपालिकाको आन्तरिक आय समेतलाई मध्येनजर गरी आगामी आर्थिक वर्षमा नगरपालिकाबाट सम्पादन गरिने सवै प्रकारका योजना तथा कार्यक्रमहरु अगाडि वढाउने लक्ष्यका साथ यो नीति तथा कार्यक्रम तयार गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरुका अतिरिक्त पुरा गर्नुपर्ने अधुरा कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ  ।

अध्यक्ष महोदय,

अव म विषयगत क्षेत्रका नीति र कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

विषयगत क्षेत्रका नीति र कार्यक्रमहरु

. आर्थिक विकास

क.कृषि तथा पशुसेवा

नेपालको कुल ग्राहस्थ उत्पादनमा लगभग २८ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ । देशको कुल जनसंख्याको ६५.६ प्रतिशत कृषि पेशामा आधारित छन् । आर्थिक विकासको प्रमुख आधार नै कृषि तथा पशु पालन हो । जैमिनि नगरपालिकाको आर्थिक विकासको मुख्य मेरुदण्डको रुपमा पनि कृषि तथा पशु पालनलाई लिर्ईएको छ।यस क्षेत्रको विकासको लागि गत वर्ष देखिनै सुरु गरिएका कृषिवाट सम्वृद्धि तथा कृषिवाट गरिबी निवारण जस्ता कार्यक्रमलाई निरन्तरता दिईने गरी निम्‍न अनुसारका नीति लिईनेछ ।

  • कृषि र पशु सेवाका लागि एक वडा एक प्राविधिक कार्यक्रमलाई थप प्रभावकारी वनाइनेछ ।
  • एक गाँउ एक उत्पादनका लागि पकेट तथा ब्लक कार्यक्रमलाई प्रदेश / संघको सहयोगमा संचालन गरिनेछ।
  • कफि, कागती, सुन्तला, अलैंचीर मह खरिद तथा ब्यवस्थापन कार्यक्रमको क्षेत्र विस्तार गरी लसुन, प्याज, अदुवा, वेसार र टिमुरलाई समेट्ने गरी कार्यपालिकावाट कार्यबिधि परिमार्जन गरिनेछ ।
  • यस वर्ष नगर प्रमुख पशु परियोजना र नगर प्रमुख कृषि परियोजना साथै कृषि पशु आयोजना संचालन गर्ने नीति लाई परिमार्जन गरि थपमोडेल फर्मको रुपमा बिस्तार गर्दै लगिने छ । उक्त परियोजना संचालनका लगि बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै जग्गा प्लटिङ गरि कार्यान्वयनमा ल्याउने नीति लिईने छ । यसमा नगरपालिकाले लागतको ६० प्रतिशत सम्म अनुदान दिने गरी कृषि तथा पशुका नमुना फार्महरु सञ्चालन हुनेछन ।
  • वेसहारा महिला पुरुषलाई जिविकोपार्जनमा टेवा दिनका लागि छोराछोरी वा सासुससुराको सेवालाई निरन्तरता दिएका, श्रीमान् वा श्रीमती सँग सम्बन्ध विच्छेद भएका वा श्रीमान् वा श्रीमतीले अर्को विवाह गरेरअवहेलित हुन पुगेका या कुनै कारणले एक्लो भएका, राज्यवाट कुनै किसिमको भत्ता वा सुविधा नपाएका विपन्न महिलापुरुषहरुका लागि कृषिसँग आवद्ध गरेर जीविकोपार्जनका लागि पूँजी उत्पादन गर्ने शर्तमावेसहारा महिला पुरुष तथा एक्लो महिला विशेष आर्थिक अनुदान कार्यक्रम संचालन गरिनेछ ।
  • बिपन्न कृषक हरुका लागि सुरक्षित पोषणलक्षित कार्यक्रम संचालन गरिने छ ।
  • युवा, महिला, विपन्न तथा दलित समुदायलाई नगर प्रमुख कृषि तथा पशु आयोजनाका कार्यक्रमहरु संचालन गर्दा थप सहुलियतका साथ समावेश हुन प्राथमिकता दिइने छ ।
  • माटो परीक्षणकालागि ल्याबको ब्यवस्था गरी माटो परीक्षण गर्ने कार्यलाई वडा स्तर सम्म अभियानको रुपमा संचालन गरिनेछ ।
  • कम्तिमा एक वर्ष बाँझो रहेको कसैको जग्गा कमाउन अर्कोले निवेदन दिएमा व्यक्तिको जग्गाको स्वामित्व यथावत रहने गरी नगरपालिका आफैले बाँझो जग्गा निश्चित समयका लागिलिजमा लिई कमाउन दिने नीति लिइनेछ । कृषि,पशु र पर्यटन विकास क्षेत्रको लागि स्नातक गरेका युवाहरुलाई न्युनतम ब्याजमा वित्तिय संस्था मार्फत ऋण स्वरुप रकम उपलब्ध गराउने व्यवस्था अवलम्बन गरिनेछ ।
  • कृषि तथा पशु जन्यपदार्थ उत्पादन गर्ने कृषकका लागि विक्रीमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरी कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गरिनेछ ।
  • मागमा आधारित कार्यक्रम लाई प्रथामिकता दिईने छ । कृषि क्षेत्रको विकासका लागि कृषक वर्गिकरण तथा परिचयपत्र व्यवस्थापन, नविनतम प्रविधि प्रयोग तथा सिप हस्तान्तरणको लागि तालिम तथा भ्रमण, उन्नत विऊ,रसायनिक मल, पशुपंक्षिको औषधि, खोप, पशु आहारा व्यवस्थापन, कृषि यान्त्रिकरण तथा बिबिधिकरण तथा उत्पादन सामाग्री वितरण, वालि उपचार केन्द्र(plant clinic )स्थापना, मौरी व्यवसाय तथा माछा व्यवसायको पुर्वाधार निर्माण जस्ता कार्यक्रमहरुको लागी सहुलियत समुचितव्यवस्था गरिने छ ।
  • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन लागत कम गर्न गैहृ सरकारी क्षेत्रको वजेटलाई समेत एकिकृत ढंगवाट परिचालन गरी उत्पादनमा जोड दिने नीति लिइने छ । कृषि र पशुजन्य पदार्थवाट आत्मनिर्भर वन्दै आयात प्रतिस्थापन घटाउने र आय स्तरमा वृद्धि गर्ने नीति लिईने छ ।
  • साना सिंचाई कार्यक्रम , थोपा टनेल , एक घर एक टनेल र प्लाष्टिक पोखरी, जस्ता कार्यक्रम संचालन गर्ने नीति लिईनेछ ।
  • बाढी पहिरो चट्टयाङ जस्ता प्राकृतिक प्रकोप तथा अन्य प्रकोपबाट हुने कृषि / पशु जन्य क्षतिको राहत व्यवस्थापनका लागि नीति लिईनेछ ।
  • स्थानीय रैथाने बालि तथा स्थानीय पशु संरक्षण कार्यक्रम संचालन गर्ने नीति लिइनेछ ।
  • कृषि तथा पशुजन्य पदार्थउत्पादनको वजार व्यवस्थापनको लागि नेपाल सरकारको गुणस्तर र मापदण्ड भित्र रही बिक्रि बितरण गर्ने कार्य लाई थप व्यवस्थीत गरिने छ ।
  • सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहकार्यमा Custom hiring centerर कृषी उपज सङ्कलन केन्द्र स्थापना गरि कृषि यान्त्रिकरणमा सहजिकरण गर्ने नीति लिईनेछ ।
  • परम्परागत कृषि बिकाश योजना अबलम्बन गरि अर्गानिक खेति ,करेशाबारि व्यवस्थापन,Agroforestry practices तथा अन्य कृषि कार्यमा जोड दिईनेछ ।
  • डालेघाँस, भुईं घाँस, पुष्प खेती, पुष्प नर्सरी,फलफुलनर्सरी तथा विरुवा व्यवस्थापन, कृषि तथा पशु विमा कार्यक्रम र कोल्ड तथा रष्टिक स्टोरस्थापना तथा व्यवस्थापनको नीति लिईने छ ।
  • पशुको नश्‍ल सुधार कार्यक्रम लाई प्रभावकारि बनाउन प्रदेश सरकार सँग सहकार्य गरी कृत्रिम गर्भाधान सेवा मार्फत जन्मिएका पाडि बाच्छीलाई हुर्काउनको लागि उचित व्यवस्थापन गर्ने नीति अबलम्बन गरिनेछ ।
  • पाडापाडी पाल्न आय आर्जनमा वृद्धि गर्ने उदेश्यले सामुहिक र व्यक्तिगत प्रोत्साहनका कार्यक्रमहरु लागु गरिने छ ।
  • कृषि ज्ञान केन्द्र , पशु सेवा बिज्ञ केन्द्र र गैर सरकारी संस्थाबाट संचालन हुने कार्यक्रमहरुमा नगरपालिकाले सहकार्य समन्वयको नीति प्रभाबकारी रुपमा अगाडि बढाइनेछ ।
  • कृषि तथा पशुपंक्षिको तत्थ्यांक अद्यावधिकगरि कृषि तथा पशु क्षेत्रको बस्तुगत विवरण तयार गरिने छ । आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने नीति लिईने छ । संचालित कार्यक्रमहरुको अनुगमन तथा मुल्यांकन गरी उत्कृष्ट कृषकलाई सम्मान गर्ने नीति लिइने छ ।
  • नगर प्रमुख परियोजनाको अतिरिक्त नगर प्रमुख आयोजना र कार्यक्रम सञ्चालन गरिने छ ।
  • जैमिनी नगरपालिकाको कृषि क्षेत्रको विकास गर्न प्रर्यटन उद्योग र व्यापार क्षेत्रसँग आबद्ध गर्दै प्राङ्गारिक कृषि प्रणालीमा जोड दिइने छ ।

ख. संस्कृति सम्बर्धन एवं पर्यटन विकास

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरि सामाजिक सु सम्बन्धमा आधारित समाज निर्माण तर्फ लाग्नु नै नगरपालिकाको प्रमुख उद्देश्‍य हो । सामाजिक सांस्कृतिक तथा सेवामुलक कार्यमा स्थानिय समुदायको सिर्जनसिलताको प्रर्बधन र परिचालन गरि नगरपालिका क्षेत्र भित्र रहेका विविध मूर्त तथा अमूर्त कला तथा संस्कृतिको संरक्षणमा जोड दिइने छ ।  यस नगरपालिका पर्यटकीय दृष्टिले सुन्दर छ । प्रसिद्ध जैमिनीधाम, थनथापीमाई भगवति मन्दिर, गाजाको दह, हाडिकोट क्षेत्र, गणेशस्थान, हात्तिढुंगा, गाजाको दह क्षेत्र, कमल जैसी मन्दिर, राधाकृष्ण मन्दिर, पुरानो गाउँ क्षेत्र, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सति मन्दिर जैदी जस्ता आस्थाका प्रसिद्ध धरोहरहरु एवं कालापातल राङखानी लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा रहेका खानी निर्मित सुरुङहरु जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइनेछ । यस प्रकारका कला र संस्कृतिको क्षेत्रलाई खोज, अनुसन्धान, संरक्षण र विकास गर्दै लग्नु नगरको दायित्व हो भन्ने प्रतिवद्धताका साथ संस्कृतिको पूर्ण संरक्षण गरी त्यसको मूर्त पहिचान गराउन संग्राहलय स्थापनाका लागि समेत पहल गरिने छ । नगर क्षेत्रमा स्थापित एवं प्रदेश स्तरमा समेत पहिचान बनाउन सफल भजन समूहहरु तथा जैमिनी मेला, माघे संक्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला लगायतका संस्कृतिलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अंगिकार गरिनेछ । आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षणगरी समाजको आर्थिक विकासमा सहयोग पुर्‍याउन नगरक्षेत्रमा सुरु भएका स्थापित होमस्टेहरुलाई परिष्कृत एवं पहुंच योग्य बनाउन पहल गरिनेछ । जैमिनी धाम, पुरानो गाँउ, हाडिकोट, गाजादह, भैरवस्थान लगायतका प्रसिद्ध एवंम रमणिय स्थलहरुलाई एकिकृत गरि पर्यटकिय पदैल मार्गको निर्माण गर्दै पर्यटन रुट गराउन आवश्यक पहल गरिनेछ । यसै बर्ष भित्र जैमिनी नगरपालिकाको पर्यटन प्रोफाइल तयार गरिनेछ ।

ग.अर्थ, उद्योग तथा बाणिज्य

उद्योग क्षेत्र आर्थिक विकासको प्रमुख मेरुदण्ड हो । औद्योगिकीकरणले मुलुकको आर्थिक उन्नतिमा सहयोग पुर्‍याउदछ । ग्रामीण परिवेशमा बनेको नयाँ नगरपालिका हुनाले यस क्षेत्रमा उल्लेख्य उद्योगहरु संचालनमा रहेका छैनन् । स्थानीय श्रोत, साधन र सीपबाट स्थापना भएका र हुने घरेलु तथा साना उद्योगहरुलाई नगरपालिकाले संरक्षण गरी उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने नीति लिएको छ । बजारलाई व्यवस्थित गर्न, कालो वजारी नियन्त्रण गर्न, गुणस्तरीय खाद्य वस्तुको सुनिश्चितता प्रदान गर्न, आपूर्ति र भण्डारणको व्यवस्था मिलाउन चेम्बर अफ कर्मश, बजार व्यवस्थापन समिति, उपभोक्ता मन्च, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी कार्यान्वयन गरिनेछ । कालिगण्डकी कोरिडोर क्षेत्रका मुख्य स्थानहरुमा उद्योग तथा पेशा व्यवसाय सन्चालनका लागि चाहिने आवश्यक पूर्वाधार तयारीमा विशेष जोड दिने नीति लिइएको छ । यसका अतिरिक्त अर्थ उद्योग तथा बाणिज्यका क्षेत्रमा निम्नानुसारको नीतिअबलम्बनगरिने छ ।

१) नगरपालिकामा उपलब्ध स्रोत र साधन तथा आर्थिक विकासको प्रतिफललाई न्यायोचित वितरणमा जोड दिइने छ ।

२) तुलनात्मक लाभका क्षेत्रको पहिचान गरि घरेलु उद्योगको विकास र विस्तार गर्दै बस्तु तथा सेवाको निर्यात प्रबर्धन वजार विविधिकरण र विस्तार गर्न जोड दिइने छ ।

३) जैमिनि नगरक्षेत्र भित्र आफ्नो जन्मभुमि कायम गरी वाहिर रहनु भएका गैर आवासिय नेपालीहरुको ज्ञान, सिप र प्रविधि र पुँजिलाई नगरपालिकाको विकास सँग जोडन आह्वान गरिने छ ।

४) नगरपालिकामा उद्योग ग्राम स्थापनाको लागि सम्भाव्य क्षेत्रको पहिचान गरी उद्योगहरुको प्रवर्द्धन गर्ने र सोका लागि आवश्यक पूर्वाधारहरुको विकास गर्न संघ, प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्दै जाने नीति लिईनेछ ।

५) कृषिमा आधारित घरेलु तथा साना उद्योगका साथै लघु उद्यमलाई विशेष प्राथमिकता दिई कार्यक्रमहरु संचालन गरिनेछ ।

६) बजारको एकाधिकार र कृत्रिम अभावको स्थिति रहन नदिन र गुणस्तरहिन एवं म्याद नाघेका वस्तुहरुको विक्रि वितरणलाई रोक्न नापतौल तथा मूल्यमापनको नीति व्यवस्थित गर्दै अनुगमनको माध्यमबाट प्रभावकारी कदम चालिनेछ ।

७) लघु उद्यम कोषको विकास गरिनेछ । बजार अनुगमन प्रभावकारी वनाईनेछ ।

८) सहकारी संस्थासँग समन्वय गरी साना तथा घरेलु उद्योगलाई उत्पादनमुखि बनाउने नीति लिइने छ।

९) साझा सरोकार र महत्वको विषयमा अन्तरपालिका र अन्तर जिल्ला सँग समन्वय गर्दै विकासका क्षेत्रमा साझा लगानिको लागि आवश्यक समन्वय गरिने छ ।

घ.सहकारी तथा वित्तीय क्षेत्र

नेपालको संविधानले तिन खम्बे अर्थ नीति अबलम्बन गर्ने कुरालाई जोड दिइएको छ । अर्थ तन्त्रका यि तिन क्षेत्र सरकार, निजि र सहकारी क्षेत्रको आ-आफ्नो संयुक्त प्रयासवाट मात्र विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्छ। नेपालको अर्थतन्त्रको विकासमा सहकारी तथा वित्तिय क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । यस क्षेत्रको समुचित व्यवस्थापनले  स्थानीय श्रोत, साधन, श्रम, सिप र पुंजीलाई परिचालन गरी रोजगारी, गरीबी निवारण र आय आर्जनमा सहयोग पुर्‍याउँदछ । सहकारी ऐन र नियमावलीको व्यवस्था अनुसार जैमिनीक्षेत्रका सहकारीहरुलाई संस्थागत क्षमता अभिबृद्धि गर्दै कृषि र उद्योग क्षेत्रमा लगानी गर्न अभिप्रेरित गरिनेछ । सहकारीहरुको काम कारवाहीलाई नियमित अनुगमन र नियमन गरिनेछ । नगर क्षेत्रमा स्थापना भएका र हुने वित्तिय संस्थाहरुलाई जनताको आवश्यकतासँग सहज सेवाप्रदान गर्न घुम्तीसेवाको लागि पहल गरिनेछ । सहकारी तथा वित्तिय क्षेत्रको विकासका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाईने छ । उद्देश्यमा एकरुपता भएका सहकारीहरुलाई एकिकृत गर्ने नीति अबलम्बन गरिनेछ । सहकारीहरुलाई रोजगारीको सिर्जना, बस्तुको उत्पादन र सेवाको क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने नीति लिइनेछ ।

सामाजिक विकास

  • शिक्षा, युवा तथा खेलकुद

शिक्षा विकासको आधार हो । मर्यादित तथा परिस्कृत जीवन, सम्मानित रोजगार र उद्यम विकासको आधार पनि हो। ज्ञानमा आधारित समाजको माध्यमबाट दिगो संवृद्धिका लागि शिक्षालाई महत्वपूर्ण माध्यमको रुपमा स्वीकार गरिएको छ । संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । यसै सन्दर्भमा जैमिनी नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद नीति तथा कार्यक्रम निम्नानुसार रहनेछ ।

  • कोभिड १९ महामारीका वीच बैकल्पिक शिक्षण सिकाइ पद्दतीलाइ प्रभावकारी रुपमा अवलम्बन गरिनेछ । विश्वव्यापी महामारी (कोभिड १९) का कारण देश बन्दाबन्दीको अवस्थामा रहेकोलेयो अवस्थामा हुन गएको शैक्षिक क्षति न्युन गर्न विहान-वेलुका तथा सार्वजनिक विदाको समय समेत उपयोग गरी शिक्षकहरुलाई अध्यापन कार्य गर्न उत्प्रेरित गरिनेछ ।
  • बिद्यालयको एकिकृत शैक्षिक सूचना व्यबस्थापन प्रणालीलाइ यथार्थपरक र बस्तुनिष्ठ बनाउदै लगिनेछ ।
  • बालविकास सहजकर्तालाइ बालमनोविज्ञान सम्बन्धी तालिम दिई सक्षम बनाउने, बालशिक्षालाइ सुविधासम्पन्न र शैक्षिक सामग्रीयुक्त बनाई बालकक्षालाई अनिवार्य गरिनेछ।
  • यस बर्षको वजेट बक्तव्य मार्फत संघिय सरकारबाट घोषणा वालविकास केन्द्रका सहजकर्ताहरु र बिद्यालय कर्मचारीहरुको तलव भत्ता निर्धारण गरि नपूग रकम स्थानिय तहले व्यहोर्ने भनिएकोमा यस्तो प्रकारको शशर्त अनुदान प्रकृतिको रकम संघिय सरकारबाट नै व्यहोर्ने व्यबस्था हुनु पर्नेमा त्यसो नभै झण्डै ५०% रकम वित्तिय समानीकरण अनुदान बाट व्यहोर्ने व्यबस्था व्यबहारिक र न्यायिक नदेखिने बिषय संघिय सरकारलाइ जानकारी गराउदै बिकास निर्माण र अन्य शिर्षकहरु बाट समेत रकम कटौती गरि बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारीहरुको तलव भत्तामा नगरपालिकाको सामर्थ्यको आधारमा आर्थिक बिनियोजन गर्ने नीति अवलम्बनगरिनेछ।
  • बालमैत्री स्थानीय शासन कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ ।
  • भौगोलिकता,विद्यार्थी सङ्ख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप/ घट गरिनुका साथैसामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान, व्यवस्थापन, पुनर्वितरण गरिनेछ।गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिनेछ।
  • सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विद्यालय एकिकरणका अतिरिक्त ६ सय घरधुरी सम्म रहेका वडामा सवै विद्यालयलाई एकिकरण गरी १ विद्यालय र वढिमा २ सम्म आवासीय विद्यालयको व्यवस्था क्रमसँगै गर्ने र ६ सय घरधुरी भन्दा बढि भएका वडामा २ अथवा बढिमा ३ भन्दा नबढ्ने गरि आवासीय विद्यालयको अवधारणा ल्याइने छ, यसको कार्यान्वयनका गर्न आवाशिय सामुदायिक बिद्यालय संचालनका लागिकार्यबिधि निर्माण गरि संघ प्रदेश र स्थानिय अभिभावक संग सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ ।
  • स्थानीय परिबेश अनुसारको स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • सामुदायिक तथा संस्थागत विद्यालयको समग्र पक्षको सुक्ष्म अध्ययन गर्न सघन विद्यालय अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ । बिषयगत शिक्षकहरुबाट विद्यालयमा नमूना कक्षा शिक्षण गर्ने कार्यलाइ प्रभाबकारी बनाउदै लगिनेछ । बिषय बिज्ञ समूह र जनप्रतिनिधीहरु समेतबाट बिद्यालयको सामुहिक सुपरीबेक्षण कार्यलाइ प्रभावकारी बनाइनेछ ।
  • विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी गर्न आवश्यकताका आधारमा शैक्षिक सामग्री तथा पाठ्यसामग्रीहरु वितरण गरिनेछ।
  • सम्पूर्ण सामुदायिक विद्यालयहरुलाइ पूर्वाधारसम्पन्न बनाउँदै लगिनेछ।
  • नगरपालिकाबाटकक्षा ८, ५ र ३ को परीक्षा संचालन तथा सिकाइ उपलब्धी परीक्षा, अतिरिक्त क्रियाकलाप एवं प्रतिभा पहिचान कार्यक्रमहरु संचालनमा ल्याइने छ ।
  • स्थानीय शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा वृद्धी गर्नको लागी स्थानीय शैक्षिक सामग्री निर्माण र प्रदर्शनी कार्यक्रमसञ्चालन गरिनेछ ।
  • सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा राज्यको स्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न उत्प्रेरीत गर्ने नीति अबलम्बन गरिने छ ।
  • नगरपालिकाबाट बार्षिक शैक्षिक क्यालेण्डर‚शैक्षिक योजना र शैक्षिक प्रोफाइल निर्माण गरी सम्पूर्ण विद्यालयहरुको शैक्षिक गतिविधिहरुमा एकरुपता कायम गरिनेछ ।
  • विद्यार्थी सङ्ख्याको आधारमा एक विद्यालय एक पुस्तकालयको व्यवस्थापन क्रमशः गरिनेछ ।
  • आधारभुत तह कक्षा १-८ देखि माथिका माध्यमिक बिद्यालयमा क्रमशः एक विद्यालय एक तालिमप्राप्त कम्प्युटर शिक्षकको व्यवस्थापन गरिनेछ ।
  • विषयगत शिक्षक तालिम, पुनर्ताजगी तालिम, सुचना प्रविधि तालिम तथा प्रअहरुलाई विद्यालय व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।
  • प्रत्येक विद्यालयमा विद्युत जडान गरिने, आबश्यकताका आधारमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरको पहुँच पुर्याइने साथैसबै बिद्यालयमा इन्टरनेट जडान गरिनेछ ।
  • उच्च शैक्षिक उपलब्धी र अन्य सूचकहरुका आधारमा विद्यालय, प्रअ, शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ।
  • विद्यालय बाहिर रहेका व्यक्तिहरुको लगत संकलन गरी अनिवार्य रुपमा विद्यालयमा भर्ना गरिने र कम्तिमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यबस्था गरिनेछ ।
  • शैक्षिक सामग्री तथा शिक्षक डायरी सहित शिक्षक कक्षाकोठामा प्रवेश अनिवार्य गर्नको लागी एक शिक्षक एक झोला कार्यक्रमलाइ प्रभावकारी बनाइनेछ ।
  • साना कक्षाकोठा व्यबस्थापन र फर्निसिङ कार्यलाइ निरन्तरता दिँदै प्रत्येक कक्षाकोठामा बुककर्नर, कक्षाकोठा सजावट, विद्यार्थीको तह र उमेर अनुसार डेक्स बेन्चको व्यवस्था गर्नको लागी विद्यालयलाई सहजिकरण गरिनेछ ।
  • विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघ अध्यक्षहरुलाइ काम, कर्तव्य र अधिकार सम्बन्धी गोष्ठी र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सबै सामूदायिक विद्यालयहरुलाइ जङ्क फुड निषेधित क्षेत्र घोषणा गरि विद्यालयमा दिवा खाजाको व्यबस्था क्रमशः लागू गरिनेछ ।
  • सबै माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला र ICT Lab को व्यबस्था गरिने तथा सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी र शौचालयको पहुँच पुर्‍याइनेछ ।
  • कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययन गर्ने सामूदायिक विद्यालयका सबै छात्राहरुलाइ सेनेटरी प्याड र दिगो व्यबस्थापनका लागि इन्सीनेटर र छात्राहरुले प्याड झिक्न भेन्डिङ मेसिनको व्यवस्था गरिनेछ ।
  • विद्यालयमा जडान गरिएको विद्युतीय हाँजिरीलाइ थप व्यवस्थित गर्दै लगिनेछ ।
  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
  • विद्यालयको भौतिक संरचना मर्मत एवं निर्माण कार्य गर्नको लागी विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार गराउने नीतिलाइ निरन्तरता दिइने छ ।
  • विद्यालयले गर्नुपर्ने विविध शैक्षिक कृयाकलापहरु समयमै सम्पादन गरी शैक्षिक उपलब्धी हाँसिल गर्न प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरिनेछ ।
  • विद्यार्थीहरुको आवश्यकता पहिचान गरी लोकसेवा तयारी कक्षा सञ्चालन गरिने छ ।
  • कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरेका विद्यालयहरुलाई विज्ञान विषयका सामग्री व्यवस्थापन गर्नको लागी अनुदान प्रदान गरिनेछ ।
  • प्राविधिक शिक्षा सञ्चालित विद्यालयमा जेहन्दार विद्यार्थीहरुलाइ प्रतिस्प्रधाका आधारमा छात्रबृत्तिका लागि बिद्यालयलाइ दिइएको अनुदानलाइ निरन्तरता प्रदान गरिनेछ ।
  • प्रअ, गाउँ शिक्षा समिति तथा बालविकास सहजकर्ताको बैठक निरन्तर रुपमा सञ्चालन गरि उपलव्धि समिक्षा गरिनेछ ।
  • शिक्षकक अभावको कारण शिक्षण सिकाई कार्य सञ्चालन हुन नसकेका बिद्यालयहरुलाइ शिक्षण सिकाई अनुदानको व्यबस्था गरिनेछ ।
  • सामुदायिक बिद्यालय सत्यापन कार्यक्रम संचालन गरिनेछ ।
  • आबश्यकताका आधारमा शिक्षा ऐन नियम र कार्यबिधिहरु निर्माण गरि कार्यान्वयन गरिनेछ ।
  • सामुदायिक सिकाई केन्द्रलाई थप व्यवस्थित बनाई विविध किसिमका तालिम सञ्चालन गर्नको लागि अनुदान को व्यबस्था गरिनेछ ।
  • विद्यालयको समग्र पक्षको सुधार गर्नको लागी नगरपालिका‚ बिभिन्न गैर सरकारी संघ संस्थाहरुको सहकार्य र विद्यालयको लागत साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 

ख. (१) स्वास्थ्य

नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत  धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक को व्यबस्था गरिएको छ । यसमा आधारभुत तथा आकस्मिक स्वास्थ्य निशुल्क हुने संबैधानिक व्यबस्था छ । सोही अनुसार यस नगर भित्रका नागरिकलाई आधारभुत र आकस्मिक सेवा प्रदान गर्न निम्नानुसारको स्वास्थ्य नीती तथा कार्यक्रम लागु गरिनेछ ।

१. सबै नागरिकलाई सेवाको पहुँच पुर्‍याई आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

२. विश्वव्यापी महामारीको रुपमा रहेको र नेपालमा पनि फैलिइरहेको कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको सम्पुर्ण सामर्थ्य प्रयोग गरिनेछ ।

३. कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी , जनप्रतिनिधि तथा नागरिक समाजको समन्वयमा प्रभावकारी कामहरु गरिनेछ । यसका लागि आवश्यक पर्ने माक्स ,सेनिटाइजर , पी.पी.ई. लगायतका सामाग्री व्यबस्थापन , क्वारेन्टाईन तथा आइसोलेसनको विस्तार तथा व्यबस्थापन र प्रभावकारी काम र सेवाका लागी जोखिम भत्ता तथा प्रोत्साहनमा कोभिड १९ रोकथाम तथा नियन्त्रण कोषको प्रभावकारी परिचालन गरिनेछ ।

४. आधारभुत स्वास्थ्य सेवा पुर्‍याउन पहुँच कम भएको नगर क्षेत्रभित्र शहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सेवाको शुरुवातको अवधारणा ल्याईनेछ ।

५.जै.न.पा. ३ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गराउने प्रक्रियामा  लगिनेछ ।

६.नगर क्षेत्रभित्र सुरक्षित प्रसुति सेवा उपलब्ध गराई मातृ तथा नवशिशु मृत्युलाई शुन्यमा कायम राखिरहन सबै वडामा बर्थिङ सेन्टरको अवधारणा अनुरुप बाँकी रहेको वडामा पनि बर्थिङ सेन्टर स्थापना गराईनेछ ।

७.कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र यस न.पा. को रेफर सेन्टर समेत भएकाले यसलाई अस्पतालमा स्तरोन्नती तथा आवश्यक भौतिक उपकरण तथा मानव संसाधन व्यबस्थापनमा बिशेष जोड दिईनेछ ।

८. सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दि अनुसारका स्वास्थ्यकर्मीहरुको पदपूर्ती गरिनेछ ।

९. प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रमको प्रभाबकारिता र पहुँच बढाउँदै लगिनेछ ।

१०.बिपन्न नागरिकलाई मुटुरोग ,क्यान्सर ,मृगौला आदि निर्धारीत रोगको उपचारको लागि सहज रुपमा प्रेरित गरी रु. १,००,०००। सम्मको सहुलियतको लागि सहजिकरण कोषको व्यबस्था गरिनेछ ।

१०. ६० वर्ष माथिका जेष्ठ नागरिकलाई टेलिमेडिसिन परामर्श कार्यक्रम शुरुवात गरिनेछ ।

११. पाठेघरको समस्याबाट पिडित महिलाहरुको लागि घुम्ति शिविर मार्फत सेवा प्रदान गरी पाठेघरको निशुल्क  अपरेशन सम्मको व्यबस्था मिलाइनेछ ।

१२.नगरपालिका क्षेत्रभित्र बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरी पुर्ण पोषित नगरपालिका बनाउन सुनौला १००० दिनका मातृ तथा नवशिशु पोषण प्याकेज  कार्यक्रम संचालन गरिनेछ ।

१३.नगर स्वास्थ्य नीति अनुसार हेल्य प्रोफायल तयार गरिनेछ ।

१४.स्वास्थ्य सेवाका कर्मचारीलाई प्रविधि मैत्री बनाउन चरणबद्द रुपमा कम्युटर तालिमको व्यबस्था गरिनेछ ।

१५.अत्यावश्यकीय औषधि तथा सामाग्रीको बर्षभरी नै नियमित आपुर्ति गरिनेछ ।

१६.खोप सेवाको गुणस्तरियता कायम राख्दै पूर्णखोपका दिगोपनालाई सुनिश्चित गरिनेछ ।साथै कोभिड १९ बिरुद्धको खोप चरणबद्ध रुपमा माग गरी खोप दिने कार्य संचालन गरिनेछ ।

१७.स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम बस्ति तथा जोखिमयुक्त स्थानमा क्षयरोगको खोज तलास कार्यक्रम संचालन निरन्तर रुपमा गरिनेछ।

१८. नगरपालिका भित्र रहेका विद्यालयका किशोरकिशोरी उमेर समुहका बिद्यार्थीहरुलाई स्थानिय स्वास्थ्य संस्था र बिद्यालयसँगको समन्वयमा पोषण यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक स्वास्थ्य शिक्षाका कक्षाहरु संचालन गरिनेछ ।

१९.समयमा नै गर्भ जटिलताको पहिचान गरी आवश्यकता अनुसार सेवा तथा प्रेषण गर्न प्राथमिक स्वास्थ्य केन्द्र मार्फत नियमित र अन्य वडामा घुम्ति सेवा मार्फत संचालनमा रहेको गर्भवतिका लागि ग्रामिण भिडियो एक्स रे कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिईनेछ ।

२०.सुरक्षित गर्भपतन सेवालाई अन्य संस्थाबाट पनि संचालनमा ल्याउने व्यबस्था मिलाइनेछ ।

२१.नगरका ठूला वडाहरुमा नगर स्वास्थ्य सेवा केन्द्र र दक्षिण तर्फ (दक्षिणी भेगमा) प्याथोलोजी सेवा स्थापना गर्न पहल गरिनेछ ।

२२. नगरपालिकाको रिफर अस्पतालका रुपमा रहेको धौलागिरी  अस्पतालको सेवा प्रवाहमा अभिवृद्दि गर्न सहकार्यलाई निरन्तरता दिइनेछ ।

२३. नगरभित्रका सवै महिला स्वयंसेविका प्रोत्साहको लागि स्वयंसेविका खाजाको व्यवस्था मिलाइने छ । साथै मेडिक मोवाइल कार्यक्रम थप प्रभावकारी वनाइने छ ।

२४. नगरको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र , सवै वडाहरुका स्वास्थ्य चौकीहरु, सहरी स्वास्थ्य इकाइ र आयुर्वेद अस्पतालहरुको भौतिक पुर्वाधार, औषधी व्यवस्थापन लगायत अन्य आवश्यकिय स्वास्थ्य सामाग्रीहरुको  व्यवस्थापन गर्न विषेश जोड दिइने छ ।

ख. (२) आयुर्वेद

नेपालको संविधानले जनताको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा लिएको छ । त्यसको लागी आधुनिक चिकित्साको साथै आयुर्वेद तथा वैकल्पिक चिकित्साका विधाहरुलाई पनि प्रयोग गर्न मार्गदर्शन गरेको छ। आयुर्वेद चिकित्सा प्रणाली नेपालको मौलिक चिकित्सा पनि भएकोले यस नगरमा आयुर्वेद पद्वतिको उचित प्रवर्धन र प्रयोग गरिने छ ।

 

१) आयुर्वेद औषधालयहरुबाट प्रदान गरिने सेवालाई चुस्त र प्रभावकारी बनाईनेछ। आयुर्वेद पद्वती मार्फत उपचारात्मक,प्रबर्धनात्मक तथा प्रतिकारात्मक सेवा प्रदान गरिनेछ । आयुर्वेद चिकित्सा पद्वतिवाट प्रभावकारी उपचार हुने रोगहरु तथा नसर्ने रोगहरुको व्यवस्थापनको लागि आहार विहार, दिनचर्या, ऋतुचर्या, जडिवुटी, योग तथा जिवनशैलि व्यवस्थापन आदिको उचित प्रयोग गर्न प्रोत्साहन गरिनेछ, साथै उपकरण र औषधीको व्यवस्था गरिनेछ ।

२) चिकित्सा पद्वती र स्वस्थ जीवनशैली सम्बन्धी प्रचारप्रसार साथै कार्यालय नभएका वडाका वासिन्दाहरुलाई सेवाको पहुँचका लागि नागरिक आरोग्य सेवा क्लिनिकको माध्यमबाट मासिक वा पाक्षिक रुपमा सेवा सञ्चालन  गरिनेछ।

३) विद्यालय स्तरबाट नै देशका भावी कर्णधारहरुलाई आयुर्वेदको सही ज्ञान दिन तथा  स्वस्थ जीवनशैलीको विकासमा जोड दिई सकारात्मक सोचको विकास गर्न विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

४) जेष्ठ नागरिकको नसर्ने रोग व्यवस्थापन र स्वास्थ्य प्रबर्धनको लागी रसायन औषधी वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।

५) स्तनपायी आमा तथा ६ महिना मुनिका बच्चाको स्वास्थ्य प्रबर्धनका लागी स्तन्यबर्धक औषधी वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउदै सबै वडामा विस्तार गरिनेछ ।

६) चूर्ण औषधी उत्पादन र वितरणलाई थप गुणस्तरिय र प्रभावकारी बनाउन आवस्यक कार्य गरिनेछ ।

७) नियमित योग सञ्चालनको लागी दमेक आयुर्वेद औषधालय भवनमा योग हल निर्माण गरिनेछ ।

८) स्थानिय जनतालाई जडिवुटीको महत्व दर्शाइ उपयोग र खेतीतर्फ आकर्षित गर्न जडिवुटी परिचयात्मक कार्यक्रम सहित एक घर पॉच योग ,पॉच जडिवुटीको अवधारणा अगाडी बढाईनेछ ।

९) अत्यावस्यक आयुर्वेद औषधीको उपलब्धता सुनिश्चित गरिने छ ।

१०) कार्यालयको भौतिक पूर्वाधार तथा व्यबस्थापकिय पक्ष सुधार गर्दै पूर्वकर्म,वस्तिकर्म(जानु, ग्रीवा, मात्रा,कटि) , नस्य तथा शिरोधारा सेवा थप गरी सेवा प्रवाह गरिनेछ ।

११) कोभिड‐१९रोगलगायतअन्यमहामारीरोकथामकोलागीआयुर्वेदकोउचितप्रयोगकोव्यवस्थागरिनेछ।

 

ग.खानेपानी तथा सरसफाई

जैमिनिबासीलाई सुरक्षित र शुद्ध पिउने पानी उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध छ । जैमिनी नगरबासीलाई आधारभूत खानेपानी तथा स्वास्थ्यको पहुंच पुर्‍याइनेछ । सरसफाईको क्षेत्रमा प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिदै खानेपानी तथा सरसफाइको क्षेत्रलाई व्यबस्थित गर्न निम्नानुसारका नीति लिइएको छ ।

१. स्वच्छ खानेपानीका लागि खानेपानीका मुहान तथा टंकीमा रहेको पानीको परीक्षण गर्ने गरी प्रकृया अगाडी वढाईनेछ ।

२. विश्व महामारीमा रहीरहेको वेला यसबाट फाईदा लिई सम्पूर्ण नगरबासीको व्यवहार तथा आनिबानीमा परिवर्तन ल्याउन नगरलाई पूर्ण सरसफाई उन्मुख नगर बनाउँदै लगिनेछ ।

३. सम्पूर्ण सार्वजनिक स्थानमा खानेपानी तथा शौचालयको पहुंच पुर्‍याइनेछ ।

४. एक घर एक धारा कार्यक्रमको नीति अवलम्बन गरिनेछ ।

५. नगर केन्द्र र अन्य वडाका बजार क्षेत्रको फोहरमैला व्यवस्थापन कार्यलाई व्यवस्थित रुपमा अगाडी वढाईनेछ ।

६. स्वच्छ खानेपानी तथा सरसफाईमा पहुंचको मौलिकहकलाई सुनिश्चित गर्न खानेपानीआयोजनामा उपभोक्ताहरुको लागत सहभागिता रहने सुनिश्चित गर्नुका साथै पिउने पानीको गुणस्तरियता जाँच अनिबार्य गरिनेछ ।

७. जीर्ण तथा आंशिक रुपमा संचालनमा रहेका खानेपानी आयोजनालाई पुननिर्माण वा मर्मत सुधार गरी पूर्णरुपमा संचालनमा ल्याईनेछ ।

८. प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल स्वास्थ्यका लागि पानी(नेवा, वेलफेयर) लगायतकागैरसरकारी संघसंस्थाबाट यस नगरपालिकामा संचालनमा रहेका योजनाहरुमा नगरपालिकाको आवश्यक सहयोग र समन्वय गरिनेछ ।

९. जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई ध्यानमा राखि स्थायी श्रोतहरुको खोजी गरी खानेपानीको आपूर्तिलाई भरपर्दो र दीगो बनाईनेछ ।

१०. स्थानीयस्तरका मुल, कुवा, धारा संरक्षणमा जोड दिइनेछ ।

११. श्रोत अभाव भएका वस्तीहरुमा प्रविधिको प्रयोग गरी लिफ्टीङ खानेपानी योजना संचालन गर्नेव्यवस्था मिलाइनेछ ।

१२. सवै वडाका टोल, वस्ती, घर, आँगन, धारा, टंकी, मुहानको सरसफाईलाई अभियानको रुपमा संचालन गरिनेछ ।

१३. व्यक्तिगत तथा सामुदायिक सरसफाईलाई व्यवस्थित गर्दै सरसफाईयुक्त टोल वस्ती, वडा घोषणाको नीति अवलम्बन गरिनेछ।

घ.लैगिक समानता तथा सामाजिक समावेशीकरण

महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तिकरण गर्न लैंगिक मुलप्रवाहिकरण तथा सारभूत लैंगिक समानता कायम गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ । लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्दै लैंगिक हिंसा तथा सामाजिक कुरिती विरुद्ध अभियान संचालन गरिनेछ ।

आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिला बालबालिका दलित, जनजाती, अल्पसंख्यक, फरक क्षमता, जेष्ठ नागरिक, वालवालिकाको क्षेत्रमा उनीहरुको आवश्यकता र मागको कदर हुने गरी विभिन्न आय आर्जन, क्षमता विकास, सिपमुलक जस्ता लक्षित वर्ग कार्यक्रमहरुलाई वडा तथा नगरस्तरबाट संचालन गरिनेछ । वालवालिकाको क्षमता विकासका लागि वालक्लब गठन, वाल संसद, वाल सन्जाल, वालमैंत्री स्थानीय क्रियाकलापहरु संचालन गर्न जोड दिईनेछ । लैंगिक उत्तरदायी बजेटको तर्जुमा गरी कार्यान्वयन गर्ने र एकल महिलाको आर्थिक, सामाजिक सशक्तिकरणको लागि आवश्यक पहल गरिनेछ ।

संरक्षणमा राख्नुपर्ने वालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, मानसिक विरामीका लागि संरक्षणगृह, बृद्धाश्रम, सहारा आश्रम,  जेष्ठ नागरिक दिवासेवा तथा मिलन केन्द्र लगायतका परोपकारी संस्थाहरुसँग सहयोग र समन्वय गर्दै स्थापना तथा संचालन गर्न सहयोग गर्ने नीति लिईनेछ ।

लक्षित वर्गको कार्यक्रमहरुलाई आय आर्जन र सीप विकाससँग आवद्ध गर्ने नीति लिईने छ । सामाजिक समावेशीकरणको माध्यमबाट सवै क्षेत्रका लक्षित वर्गहरुलाई विकासको मुल प्रवाहमा आवद्ध गर्न उत्प्रेरित गर्दै यस क्षेत्रको समुन्नत बिकासका लागि निम्न नीति अबलम्बन गरिनेछ ।

१. महिला वालवालिका शाखामा महिला तथा वालवालिका अपाङ्गहरुको क्षमता विकास तथा सिपमुलक सचेतनामुलक कार्यक्रमको लागि आवश्यक श्रोत साधनको व्यवस्था गरिनेछ ।

२. महिला, वालवालिका, अपाङ्ग, एकल महिलाहरुको सीप तथा क्षमता विकासका माध्यमवाट सशक्तिकरण गरिनेछ ।

३. विभिन्न दिवसहरु (नारी दिवस, महिला हिंसा विरुद्धको १६ दिने अभियान, वाल दिवस, अपाङ्ग दिवस, जेष्ठ नागरिक दिवस र छुवाछुत उन्मूलन दिवश) मनाउने कार्यलाइ निरन्तरता दिइनेछ ।

४. घरेलु हिंसा पिडित महिलाहरुको लागि लैंगिक हिंसा निवारण कोष खडा गरिनेछ ।

५. नगर क्षेत्रमा रहेका शोषण र घरेलु हिंसामा परेका महिला तथा वालवालिकाको पुनरस्थापना तथा उद्धार गर्ने नीति अबलम्बन गरिनेछ ।

६. नगर भित्रका सवै वडाहरुमा अपाङ्ग परिचय पत्र वितरणका लागि घुम्ती शिविर संचालन गरिनेछ ।

७. वालवालिकाको क्षमता विकासका लागि वाल क्लब गठन, वाल संजाल गठन र बालमैंत्री स्थानीय क्रियाकलापहरु संचालनमा जोड दिईनेछ ।

८. पूर्ण अशक्तलाई २० वर्ष बढी राम्रो सेवा पुर्याउने ५ जना व्यक्तिको पहिचान गरी पुरस्कृत गरिनेछ ।

९. जैमिनिमा जन्मिएर राष्ट्रसेवा र विशेष कार्यक्रमवाट जैमिनिलाई उचो वनाउने व्यक्तित्वहरुलाई आमन्त्रण र सम्मानको कार्यक्रम कोभिड १९ को कारण रोकिए पनि पुन: थालनी गरिने छ । साथै उहाँहरुको सल्लाह र सुझावलाई पनि मार्ग दर्शनका लागि सुझाव संकलन गरिनेछ ।

१०. नगरक्षेत्रका जेष्ठ नागरिक अगुवाहरुको सम्मान गरिनेछ ।

११. छुवाछुत सामाजिक कुरिति अन्धविश्वास लैङ्गिक विभेद र हिंसाका घटना न्यूनिकरणका लागि वडा स्तरिय एवं नगरस्तरिय सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

१२. बालबालिका पुनर्स्थापना केन्द्र ज्येष्ठ नागरिक आश्रय केन्द्र अशक्त स्याहार केन्द्र र वेसहारा रक्षा केन्द्र स्थापनाको लागि आवश्यक कार्य अगाडी बढाइनेछ ।

१३. बाल श्रम, बालबिवाह, बहुविवाह, दाइजो बोक्सी, जस्ता प्रथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ।

१४.यस आ. व. मा लैङ्गिक उत्तरदायी बजेट परिक्षण (GRB Audit) गरिनेछ  साथै सोही अनुरुप आगामी  योजना तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

ङ.सामाजिक सुरक्षा व्यवस्थापन

जैमिनी नगर भित्र  रहेका सबै जेष्ठ नागरिक, एकल महिला, दलित, अल्पसंख्यक, अपागं, महिला, जनजाती, पिछडिएका वर्ग र बालबालिकाको सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नगरपालिकाले निम्न नीति अबलम्बन गर्नेछ ।

१.विद्युतिय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नेपाल सरकारको रणनीति अनुसार पूर्णरुपमा बैंकिङ प्रणाली वाट भत्ता वितरण सञ्चालन गरिने छ  ।

२.सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको परिचय पत्र लागु गरिनेछ ।

३.व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सुदृढिकरण गर्दै अनलाईन घटना दर्ता प्रणाली प्रयोगमा ल्याईनेछ । उक्त प्रणालीलाई सेवा इकाइको समन्वयमा वडास्तरबाट संचालन गरिनेछ ।

४.व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनको लागि संचार र पहुंच अभियान संचालन गरिनेछ ।

५.सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउनको लागि हरेक वडाका जनप्रतिनिधि, स्थानीय CSO स्थानीय तहका अन्य कर्मचारी तथा अन्य सरोकारवालालाई तालिम संचालन गरिनेछ ।

 

च.श्रम, रोजगार प्रबर्धन र बिकास

१.प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत संचालन गरिने क्रियाकलापहरुलाई यस आ.व.मा पनिनियमित रुपमा संचालन गरिनेछ ।

२.यस नगरपालिका भित्र रहेका तर गत आ.व.मा वेरोजगार सूचिमा सूचिकृत हुन नसकेका वेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन तथा विश्लेषण सहित अध्यावधिक गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।

३.रोजगारी सृजना गर्ने सामुदायिक विकासका कार्यक्रम संचालन गरेका स्थानीय स्तरमा    क्रियाशिल नीजि तथा गैरसरकारी संस्थाहरुसँग समन्वय, साझेदारी र सहकार्य गरी वेरोजगार व्यक्तिलाई रोजगारीका लागि खटाईनेछ ।

४. प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत वेरोजगारहरुलाई नगरस्तरका अन्य भौतिक पूवाधार निमार्णका योजनाहरुमा एकिकृत गरि दक्ष तथा अर्धदक्ष ज्यामिको रुपमा काममा लगाइने छ ।

५.बजारमा माग अनुसारको जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय र व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँगको समन्वयमा व्यवसायिक तथा सीपमुलक तालिम कार्यक्रम संचालनका लागि सहजीकरण एवं समन्वय गरिनेछ ।

६.कोभिड १९ को प्रभावले तत्काल वेरोजगार भै यस नगरपालिका भित्र आउने जनशक्तिलाई उनीहरुको ज्ञान, सीप र दक्षतालाई नगरको विकासमा सहयोग पुग्ने गरी अधिकतम परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

७.कृषि तथा पशुपालनको क्षेत्रलाई कृषकको आयआर्जनको मुख्य श्रोत कायम गर्न वेरोजगार जनशक्ति यो क्षेत्रमा रोजगारी सृजना हुने गरी विशेष कार्यक्रम संचालन गरिनेछ ।

८.नगरभित्र संचालन गरिने सवै विकास निर्माणका कार्यहरुमा सकेसम्म स्थानीय श्रोत साधन, सिप, कला र क्षमताको उपयोग गरी रोजगारी सृजना गर्ने तर्फ ध्यान दिईनेछ ।

९.वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्न गत वर्ष देखि यस नगरपालिकामा शुरु गरिएको सुरक्षित आप्रशन परियोजनालाई क्रमशः वाँकी वडाहरुमा विस्तार गर्दै लगिनेछ । परियोजनाको उद्धेस्य अनुरुप रोजगारीको क्षेत्र पहिचान, सिपमुलक तालिम प्रदान, विप्रेषणको समुचित परिचालन गर्न वित्तिय साक्षरता कक्षा संचालन, वैदेशिक रोजगारीले सृजना गरेका नकारात्मक पक्षहरुको न्यूनिकरण गर्न मनोपरापर्श कक्षा संचालन गर्ने कार्यलाई सुरक्षित आप्रवाशन परियोजना सामी र विवाईसि बागलुङसँग आवश्यक सहयोग र समन्वयमा अगाडी वढाईनेछ ।

१०. सुरक्षित आप्रवासन परियोजनालाई थप व्यवस्थित वनाइ लागु गर्न नगरपालिकाको आफ्नो स्रोत समेत परिचालन गरि आवश्यक क्रियाकलापहरु संचालन गरिने छ ।

 

पूर्वाधार विकास

क.सडक तथा पुल

भौतिक पूर्वाधार निर्माणको जग नै सडक हो । सडक पुर्वाधारको विकास सँग सगै आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुगेको हुन्छ । जैमिनी नगरपालिका भित्रका सवै वडाहरुमा हाल सम्म ३७५ कि.मी सडक रहेको छ ।  नगरपालिका शुरुवात भए देखी हाल सम्म करिव १३० कि.मी नयाँ सडक विस्तार भएको छ  भने ३१५ कि.मी भन्दा वढि सडक सुधार विस्तार गर्ने कार्य सम्पन्न गरिसकिएको छ । नगरपालिकाको सडक सञ्जाललाई व्यवस्थित, दिगो र वातावरणमैत्री बनाउदै सडक क्षेत्रको विकास गर्ने उदेश्यले आगामी आ.ब ०७८।०७९ मा निम्न नीतिहरु अबलम्वन गरिने छ ।

१) केन्द्रीय र प्रादेशिक सडकको रेखाङकन भित्र पर्ने वाहेकका सवै सडकहरुको उपयुक्त सडक अधिकार क्षेत्र (Right of Way) कायम गरि लागु गर्न विशेष पहल गरिने छ ।

२) बागलुङ नगरपालिकाको सरङ्गी देखी कुश्मिसेरा जोड्ने ७.२ कि.मी सडकलाई कालोपत्रे गरी व्यवस्थित गराउन वाँकी कार्य आगामी आ.ब मा पुरा गरिने छ । यसको लागी संघीय तथा प्रदेश सरकारका निकायहरुसँग समन्वय र सहकार्य गरिने छ ।

३) कालिगण्डकी कोरिडोरबाट नगरकेन्द्र जोड्ने जैमिनीधाम कुस्मीसेरा टिमुरखोला फेदी हुंदै कुशीगाँउ कल्लेरी बानपा जोड्ने सडकलाई संघीय सरकार समपुरक अनुदान, प्रदेश सरकार सशर्त अनुदान र नगरपालिकाको श्रोतबाट शुरु गरिएको सुधार विस्तारको कार्यलाई आगामी आ.व.मा पनि निरन्तरता दिईनेछ ।

४) कुश्मिसेरा वजार क्षेत्रमा कालोपत्रे तथा ढलान गर्ने कार्यको केही भाग यसै वर्ष सम्पन्न हुँदै छ । वाँकी कार्यको लागी संघीय सरकार सहरी विकास मन्त्रालयको सहकार्यमा ढल निकास तथा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिने छ ।

५) गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्माणाधिन रहेको कुस्मीसेरा बरेड खण्ड सडक स्तरोन्नती तथा  कालोपत्रे गर्ने कार्यलाई आगामी आ.ब भित्र पुरा गराउन सरोकारवाला निकाय सँग आवश्यक समन्वय गरिने छ ।

६) जैमिनी नगरपालिकाको निर्माणाधिन सडक यातायात गूरुयोजना चालु  वर्षमा नै सम्पन्न हुँदै छ । गुरु योजनालाई आगामी वर्ष कार्यान्वयमा ल्याइने छ ।

७) नगरक्षेत्रवाट बाहिर जाने मुल सडकहरुको सुधार विस्तार गर्न सडकको विस्तृत सर्भे डिजाइन गरि संघीय र प्रदेश सरकारसँग समपुरक कोषको रकम अनुदान माग गरिने छ । स्वीकृत भइसकेका र हुने सडकहरुलाई तोकिएको कार्यविधि अनुसार कार्यान्वयन गरिनेछ ।

८) संघ तथा प्रदेश सरकारबाट स्वीकृत भैसकेका जैमिनी नगरक्षेत्रका सवै सडक आयोजनालाई दोहोरो नपर्ने गरी बजेटमा प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ ।

९) जैमिनी नगरपालिकाबाट सवै वडाहरुमा दिगो सडक पूर्वाधार नामाकरण गरी कार्यान्वयनमा रहेका १३ वटा सडकहरुलाई आगामी बर्ष पनि निरन्तरता दिईनेछ ।

१०) विगत वर्षवाट शुरु गरिएको  वडा गत मर्मत संभार कोष कार्यलाई आगामी आ.ब मा पनि निरन्तरता दिइने छ । जसवाट सडक मर्मत लगायतका क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

११) सडक निर्माणबाट हुने सम्भावित क्षतिलाई न्यून गर्न सडक आसपासका क्षेत्रमा वृक्षारोपण गरिने कार्यलाई प्रोत्साहन गरिनेछ।

१२) निर्माण सम्पन्न सडकहरुलाई दिगो बनाइ राख्न स्थानीय उपभोक्ता र वडा समिति समेतको संलग्नतामा सडक मर्मत, सुधार गर्ने कार्य उत्साहजनक रुपमा संचालन गरिनेछ ।

१३) वडाको केन्द्र सम्म जाने मुख्य सडकलाई १२ महिना सञ्चालन हुनसक्ने गरी सुधार विस्तार गर्न आवश्यक पहल गरिने छ ।

१४) अति आवश्यक देखिएका वस्ती र स्थान वाहेक नयाँ ट्रयाक खोल्ने कार्यलाई पूर्णरुपमा निरुत्साहित गरिनेछ ।

१५) सडकलाई दिगो बनाई राख्न अवका दिनहरुमा नाली निर्माण, ग्याविन पर्खाल, पानी व्यवस्थापन, सोलिङ घुम्ती सुधार जस्ता संरचनागत कार्यलाई प्राथमिकता दिई बजेट विनियोजन र कार्यान्वयन गरिनेछ ।

१६) नगरपालिकाको केन्द्रदेखि विभिन्न वडा र सदरमुकाम सम्म चल्ने सवै सवारी साधनहरुको भाडादर व्यवस्थीत गरिने छ ।

१७) ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रम अन्तरगत प्रारम्भिक छनौट भैसकेको कुश्मीसेरा सर्कुवा विनामारे अर्जेवा जैदी छिस्ती सडक लाई उक्त कार्यक्रम मार्फत यसै वर्ष कार्य प्रारम्भ गर्न प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गरिनेछ ।

१८) नगरपालिका क्षेत्रमा रहेका सडक भित्र पर्ने नदी र खोलाहरुमा मोटरेवलपुल निर्माण गर्न भनि पहिचान भएका सवै स्थानहरुको सम्बन्धित निकायमा अनुरोध गरी पठाईएको छ । संघ र प्रदेश सरकारसँग अनुरोध गरी यी पुलहरु निर्माणका लागि आवश्यक पहल गरिनेछ ।

१९) नगरपालिकाका वडाहरुमा भौतिक पूर्वाधारका निर्माण कार्यहरु प्रभावकारी रुपमा अगाडी बढाउन क्रमश: थप प्राबिधिकको व्यबस्था गर्दै जाने नीति अवलम्वन गरिनेछ ।

२०) जैमिनी नगरपालिका भित्र आबश्यक स्थान पहिचान गरि हेलिप्याड निर्माणका लागि आबश्यक पहल गरिने छ ।

ख.झोलुङ्गेपुल

जैमिनी नगरपालिकाबाट गत वर्ष नै  निर्माण शुरु गरिएका दुई वटा झोलुङ्गे पुलहरुको निर्माण कार्य यस वर्ष सम्पन्न भइसकेको छ । नगरक्षेत्रका विभिन्न नदी र खोलाहरुमा आवश्यकता महशुस भई माग भएका झोलुङ्गे पुलहरुको सुची नगरपालिकाको वार्षिक पुस्तिकामा लिपबद्ध गरिएको छ । जस मध्ये छोटोदूरिका ८ वटा झोपुहरुको विस्तृत सर्वे, डिजाईन संम्पन्न भइ सरोकारवाला निकायमा पठाइ सकिएको छ । आगामी आ.व.मा सर्भे, डिजाईन गरी सम्भाव्य भई स्वीकृती प्राप्त भएपछि कम्तिमा ५ वटा झोलुङ्गेपुलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।

लामोदूरीका झोलुङ्गेपुलको हकमा स्थानीय पूर्वाधार विकास विभाग (डोलि), सस्पेन्सन बृज डिभिजन तथा अन्य दातृ निकायसंग माग गरी पठाइएकोमा चालु वर्षमा नै २ ओटा  झोलुङ्गे पुलको प्रारम्भिक सर्वे डिजाइन यसै वर्ष शुरु हुनेछ भने वाँकी पुलहरुको सर्वे डिजाइन तथा निर्माणका लागी सम्बन्धित निकायमा पहल गरिने छ । यस कार्यका लागिस्थानीय साझेदार गैसस विवाईसि बागलुड, साझेदार संस्था झोलुङ्गेपुल सहयोग ईकाइ गण्डकी प्रदेश, पोखरार स्थानीय पूर्वाधार विकास विभाग (डोलि)संग आवश्यक समन्वय गरिनेछ ।निर्माण सम्पन्न भै संचालनमा रहेका सवै झोलुङ्गेपुलहरुको नियमित मर्मत संभार गर्न तोकिएका पुल संरक्षकहरु (हेरालु) को पारिश्रमिकलाई आगामी वर्ष पनि निरन्तरता दिईनेछ ।

ग.सिचाई

नगरक्षेत्र भित्र रहेका ठुला तथा मझ्यौला प्रकारका सिंचाई आयोजनाहरुलाई सम्भाव्यता अध्ययनको आधारमा नगर र अन्य सरोकारवाला निकायसंग समन्वय गरि कार्यान्वयनको पहल गरिनेछ । निर्माण शुरु भैसकेका संघीय र प्रादेशिक क्षेत्रभित्रका सिंचाई आयोजनाहरुको समयमा नै निर्माण सम्पन्न गर्ने गरी अनुगमन गर्ने व्यवस्था मिलाईनेछ । ससाना प्रकारका सिचाई आयोजनाहरुको हकमा कृषि ज्ञानकेन्द्र बागलुङ र जैमिनी नगरपालिकालाई प्राप्त हुने शर्शत अनुदान तर्फको ब्लक/पकेट कार्यक्रम र निशर्त तर्फको बजेटबाट कार्यान्वयन गर्दै नगर स्तरको आधारभूत सिंचाइको आवश्यकतालाई आगामी वर्ष भित्र पुरा गरिसक्ने गरी कार्यक्रम अगाडि वढाईनेछ ।

घ.भवन तथा शहरी विकास

नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था गरेको छ । निजी क्षेत्र समेतको सक्रियतामा सवैका लागि क्षमता अनुसारको सुरक्षित आवासको व्यवस्था गर्न किफायति, वातावरणमैंत्री तथा भुकम्पको जोखिममुक्त सार्वजनिक तथा निजी भवनहरु निर्माण तथा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । स्थानीय निर्माण सामाग्री र प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माण गर्न आवश्यक तालिम र सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछन । नगरक्षेत्र भित्र नयाँ निर्माण हुने भवन तथा घरको निर्माण पूर्व नक्शा पास गर्ने कार्य अनिवार्यरुपमा लागु गरिनेछ । भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७४ लाई लागु गरिनेछ । जैमिनी नगरपालिका अन्तरगत बजार क्षेत्रमा मापदण्ड विपरित बनेका घरटहरा हटाउने नीति लिइनेछ ।नगरक्षेत्र भित्र भुकम्पबाट क्षतिग्रस्त भवनको पुननिर्माण, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रमबाट निर्माणाधिन सवै आवासहरुलाई मापदण्ड विपरित नहुने गरी सम्पन्न गराउन प्रभावकारी अनुगमन गरिनेछ ।

जैमिनी नगरपालिकाको आफ्नो प्रशासकिय भवन निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापन भइ  भवनको विस्तृत सर्वे डिजाइन सहितको नक्सा तयार गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।  उक्त स्थानमा सुविधा सम्पन्न भवन निर्माण गर्न आवश्यक पर्ने बजेट संघ, प्रदेश र दातृ निकायसँग श्रोतको खोजि गर्दै नगरपालिकाको आफ्नै स्रोत परिचालन गरि आगमी वर्ष निर्माण प्रारम्भ गरिने छ । नगरपालिकाले उच्च प्राथमिकता दिइ सुरु गरेका सुकुम्बासिहरुलाई घर जग्गा व्यवस्थापन, घर विहिनहरुको घर निर्माण तथा खरका छानालाई टिनको छानावाट घर छाउने कार्यक्रमको हाल सम्म करिव ७५ प्रतिशत प्रगति भइसकेको छ । यो कार्यका लागि जैमिनी नगरपालिकाको आफ्नै स्रोत संघीय सरकार विषेश अनुदान कार्यक्रम र सुरक्षीत नागरिक आवास कार्यक्रम समेतको सहयोगमा आगामी वर्ष सम्पन्न गर्ने नीति लिइएको छ ।

नगर क्षेत्रभित्रका वडा कार्यालय भवन, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, सामुदायिक भवनहरु निर्माण गर्न भवन तथा शहरी विकास डिभिजन कार्यालयसँग अनुरोध गरिनेछ । नगरको आफ्नो श्रोतबाट अति आवश्यक पर्ने सामुदायिक भवनहरु निर्माण तथा मर्मत सुधार गर्ने कार्य संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा क्रमशः अगाडी वढाईनेछ । जैमिनी नगरपालिकाको एकिकृत सहरी विकास गुरु योजना यसै वर्ष तयार हुने छ । जसको आधारमा भौतिक पुर्वाधार विकासका गतिविधिहरु अगाडि वढाउने नीति लिइने छ ।

 

ङ.लघु तथा साना जलविद्युत, वैकल्पिक उर्जा

नेपाल जस्तो विकासशिल मुलुकका लागि जलविद्युत नै उर्जाको महत्वपूर्ण र भरपर्दो श्रोत हो । नेपालको संविधानले जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको वहुउपयोगी विकास गर्ने नीतिगत व्यवस्था गरेको छ । उर्जा तथा जलश्रोत क्षेत्रको दीगो विकास संरक्षण र सम्बर्धन गर्न यस क्षेत्रको कार्यलाई विशिष्टिकृत गरी समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न जैमिनी नगरपालिकाबाट यस क्षेत्रको विकासको लागि आगामी आ.व.मा निम्नानुसारका नीति अवलम्बन गरिनेछ ।

१.संघीय सरकार र प्रदेश सरकारको समन्वयमा नगरपालिका क्षेत्र भित्र सरकारी तथा सामुदायिक विद्युतिकरण भैसकेका सवै वडाहरुमा काठेपोल विस्थापन गरी फलामे पोल राख्ने कार्य सम्पन्न गरिनेछ ।

२.जैमिनी नगरपालिका भित्र रहेका १० वटा विभिन्न लघु जलविद्युत आयोजनालाई प्रचलित ऐन,नियमको विपरित नहुने गरी व्यवस्थित ढंगबाट संचालन गर्ने गरी नियमन गरिनेछ ।

३.आगामी आ.व.मा पनि नगरका मुख्य मुख्य बजार क्षेत्र, सार्वजनिक भवन लगायतका मुख्यस्थानहरुमा सौर्य वत्ति जडानको कार्यलाई निरन्तरता दिईनेछ ।

४.निजी क्षेत्रबाट उत्पादित विद्युतको रोयल्टी यस नगरपालिकाले समेत पाउने गरी सरोकारवालानिकायसँग समन्वय गरिनेछ ।

५.वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र यससंग कार्य गर्ने गैरसरकारी निकायको समन्वयमा जैमिनीनगरक्षेत्र भित्र मागको आधारमा सुधारिएको चुलो प्रवर्धन गर्ने कार्य अगाडी वढाईनेछ ।

६.नगर क्षेत्र भित्र पहुंच नपुगेका क्षेत्र, वर्ग र समूहसम्म नविकरणीय उर्जा र यसको प्रविधिको पहुंच वढाई जीवनस्तरमा सुधार र रोजगारीमा बृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।

 

च.सूचना तथा संचार 

नगरका सवै वडाका वस्ती, टोल र संस्थाहरुमा सरल र सस्तो रुपमा सहज पहुंच भएको संचार सेवा पुर्याउन सरकारी तथा निजी क्षेत्रका सवै सेवा प्रदायक संस्थासँग समन्वय र सहकार्य गर्दै सूचना प्रविधि तथा संचारको क्षेत्रलाइ व्यबस्थित गर्न निम्नानुसारको नीति अबलम्बन गरिनेछ ।

१. सूचना प्रविधिको प्रयोगमा वृद्धि गरि तथा फाईलहरुलाई लामो समयसम्म सुरक्षित राख्ने डिजिल माध्यमको प्रयोग गरिनेछ ।

२. नगरपालिकाका हरेक सूचना तथा समाचार, बजेट तथा कार्यक्रहरु, नगरिक वडापत्र वडा कार्यालयहरुको विवरण कार्यक्रमहरु, मासिक तथा वार्षिका प्रतिवेदनहरु, लेखा परिक्षण प्रदिवेदन, अनुगमन प्रतिवेदन, आयव्यय विवरण, सार्वजनिक सुनुवाइ, ऐन कानुन निर्देशिका, कर तथा शुल्कहरु, जनप्रतिनिधिहरु तथा कर्मचारी विवरण वेव साइट, मोवाइल एप्स, डिजिटल नोटिश बोर्ड, अडियो नोटिस बोर्ड, फेसवुक आदि मार्फत नियमित अध्यावधिक गरि सूचना सम्प्रेशणमा सुदृढिकरण गर्दै पारदर्शिता कायम गरिनेछ ।

३. सेवाप्रवाहमासूचना प्रविधिको प्रयोगबाटसुदृढिकरण गरी छिटो छरितो तथा विश्वसनियता कायम गरीनेछ ।

४. सबै कर्मचारीहरुलाई क्षमता अभिबृद्धी गर्न कम्युटर तथा सूचना प्रबिधि सम्बन्धी तालिम दिने व्यवस्था गरिनेछ।

५.सेवाग्राहीहरुको सहजताको लागि अनलाइन पेमेन्ट गेटवे माध्यम प्रयोग गर्दै मोवाइबाट राजस्वदाखिला गर्न सकिने प्रविधिको व्यवस्था गरिनेछ ।

६.सूचना प्रविधिको उच्च प्रयोग गदै सेवा प्रवाहलाई छिटो छरितो, पारदर्शि र प्रभावकारी तथा प्रविधिमैत्रि बनाउन संचालनमा रहेका राजस्व शाखा, योजना, जिन्सी, दर्ता चलानी शाखा व्यवस्थापनमा सफ्टवेरप्रणालीहरुलाइ सुदृढिकरण गरिनेछ ।

७. गुनासोतथा उजुरीव्यवस्थापन गर्नमोवाइल एप्लिकेशन तथा वेवसाइट सञ्चालनमा ल्याएकोछ । उक्तप्रणालीहरुलाइ अझ शसक्त बनाइ गुनासो व्यवस्थापनलाइ  सहज बनाइने छ ।

७. नगरको एक मात्र शुभेच्छा एफएमको संस्थागत क्षमता अभिबृद्धिमा सहयोग पुर्‍याइनेछ ।

 

वातावरण तथा विपद व्यवस्थापन

क.वन वातावरण र भूसंरक्षण तथा विपद व्यवस्थापन

नगरक्षेत्र भित्र रहेका सवै सरकारी, निजी, सामुदायिक वनहरुमा वृक्षारोपण गर्ने, वनलाई व्यक्ति तथा समूहको आय आर्जनसंग आवद्ध गरी हावापानी र माटो सुहाउदो खेती गर्न प्रोत्साहित गरिनेछ । पाखोवारी, नाङ्गो र खाली जग्गाहरुमा नगदेवालीको रुपमा रहेका फलफूल तथा जडीवुटी खेती गर्न कृषकलाई आर्कषित गरिनेछ । वनक्षेत्रबाट हुने अवैध चोरी निकासीलाई निरुत्साहित गरिनेछ । वनक्षेत्रलाई उद्योगसँग आवद्ध गरी घरेलु तथा साना उद्योग संचालनमा जोड दिईनेछ । घना वनजंगल क्षेत्र भएका पुराना गाउँ लगायतका अन्य स्थानमा पशुपंक्षि संरक्षण क्षेत्रको रुपमा विकास गर्नका लागि आवश्यक पहल गरिनेछ । ठेउलेखोला, टिमुरेखोला, चौरीखोला, लौवाखोला, तथा कालिगण्डकी जलाधार क्षेत्रको जैविक विविधताको संरक्षण गर्न सरोकारवाला निकायसँगको सहकार्यमा संरक्षणका कार्यहरु गरिनेछ । जलवायु परिवर्तनले पारेका असर र प्रभावबारे जनचेतनामुलक कार्यक्रम र जलवायु अनुकुलनका क्रियाकलापहरु संचालन गरिनेछ ।

वातावरण संरक्षण र कृषिलाई प्रवर्धन गर्न डालेघाँस नर्सरी स्थापना गर्दै लगिनेछ । जल उत्पन्नप्रकोप नियन्त्रण र विपदको व्यवस्थापन गर्न नगरपालिकास्तरमा रहेको विपद व्यवस्थापन कोषलाई निरन्तरता दिइनेछ। विपद, जोखिम न्यूनिकरणमा सहयोग पुर्‍याउन आवश्यक तालिम, सेमिनार, गोष्ठी संचालन गरिनेछ । विभिन्न संचार माध्यमबाट सन्देशमुलक सूचनाहरु प्रवाह गरिनेछ । जैमिनी नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वरपिपल चौतारी संरक्षण, वरपिपल रोप्ने कार्यलाई प्रश्रय दिने, विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिनेछ । सवै वडा, टोल, वस्तिहरु सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीहरुलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिष्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ । यसका अतिरिक्त निम्न क्षेत्रमा प्राथमिकता दिने नीति लिइनेछ ।

१.गर्मी एवं वर्षा मौषममा आउन सक्ने विपदहरु आगलागि, बाढी पहिरो, चट्याङ, महामारी आदिको न्यूनिकरणको लागि जनचेतना अभिबृद्धि गर्ने र यस्ता प्राकृतिक प्रकोपबाट वच्नको लागि स्थानीय जनताहरुको संलग्नतामा विभिन्न प्राकृतिक प्रकोप न्यूनिकरण जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।

२.विपद व्यवस्थापन अन्तरगत आपतकालिन सेवा दिनको लागि एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरिनेछ ।

३.जलवायु परिवर्तनको असर सम्बन्धमा चेतनामुलक कार्यक्रम र जलवायु अनुकुलनका क्रियाकलापहरु

संचालन गरिनेछ ।

४ मनसुन जन्य विपद २०७७ बाट पहिरोले नष्ट भएका निजि आवासहरुको पुनर्निर्माण कार्य गरिने छ  । साथै विपतवाट क्षती ग्रस्त भएका ६५ घर परिवारलाई संघीय सरकार विपत व्यवस्थापन कोष र जैमिनी नगरपालिकाको साझेदारीमा पुन निर्माण गर्ने कार्य सम्पन्न गरिने छ ।

५ बातावरणीय प्रदुषण नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

६ विपद जोखिम क्षेत्रको पहिचान गरि आवश्यक पुर्व तयारीको कार्य अगाडी बढाइनेछ ।

७. जोखिम संवेदनशिल भु उपयोग योजना बनाई लागु गरिने छ ।

७. विपदले निम्ताउन सक्ने सम्भावित जोखिमको पहिचान गरि उत्थान सिल विकासका योजनाहरु संचालनमा जोड दिइने छ ।

ख.फोहरमैला व्यवस्थापन

सुन्दर नगरको पहिचान नै उचित फोहरमैला व्यवस्थापनमा भर पर्दछ । स्वच्छ, सफा र हरियाली जैमिनीको बिकास नै जैमिनीबासीको पहिचानको आधार बन्नेछ, त्यसैले फोहरमैला व्यबस्थापनका लागि निम्न नीति अबलम्बन गरिनेछ ।

१.नगरको सरसफाईको कार्य सार्वजनिक निजी साझेदारीमा गर्ने नीति अवलम्बन गरिनेछ ।

२.फोहरमैला व्यवस्थापन अन्तरगत कुहिने र नकुहिने फोहर छुट्टिने गरी फोहर संकलन विन राखिनेछ।

३.फोहरमैला संकलनको लागि बजार क्षेत्रमा मात्र केन्द्रीत नभई ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्दै लैजाने नीति अवलम्बन गरिनेछ ।

४.फोहर विर्षजन स्थानहरुको पहिचान गरी गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ ।

५.सरसफाईको अनुगमन तथा मुल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने साथै अनुगमन गर्दा निश्चित स्थान भन्दा वाहिर फोहर फाल्नेलाई जरिवाना तथा सजाय गर्ने नीति अवलम्बन गरिनेछ ।

६.आवश्यकताको आधारमा फोहरमैला व्यवस्थापनमा उत्कृष्ठ स्थानको भ्रमण समेत गरिनेछ ।

७.फोहोरलाई मोहरमा रुपान्तरण गर्न कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गर्ने तथा वैकल्पिक उर्जा समेत उत्पादन गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिनेछ ।

८.प्लाष्टिकजन्य वस्तु तथा पदार्थको नियन्त्रण तथा प्रयोगमा न्यूनिकरण गर्दै लैजाने नीति अवलम्बन गरिनेछ ।

९.वातावरणमैंत्री स्थानीय शासनलाई अवलम्बन गर्न १० वटै वडामा हरियाली प्रवर्धनका कार्यक्रम संचालन गरिनेछ।

 

सुशासन तथा संस्थागत विकास

हामी सवै जनप्रतिनिधिहरुको ध्यान जैमिनी नगरको निर्माणमा केन्द्रीत छ । अल्पकालिन र दीर्घकालिन योजनाको निर्माण तथा आवश्यक ऐन, नियम, कार्यविधि र निर्देशिकाहरु तर्जुमा गरी नगरपालिकाको कार्यलाई व्यवस्थित बनाईनेछ ।एकल तथा साझा अधिकारको सूचिमा रहेका नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कर तथा राजस्वका क्षेत्रहरुलाई व्यवस्थित र वैज्ञानिक ढंगले करको दायरामा आवद्ध गर्दै लगिनेछ । सम्पत्ति करलाई २०७८।०७९ देखि अनिवार्य कार्यान्वयनमा ल्याईनेछ र स्वेच्छिक रुपमा कर तिर्ने बानीको विकास गर्न करदाता शिक्षा र सम्मानका कार्यक्रमहरु लागु गरिनेछ । सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सेवाग्राहीको पहुंचलाई सरल र सहज बनाउन, सूचना प्रवाह, सूचना प्रविधिको प्रयोग, सेवाग्राही मैंत्री संरचना, गुनासो व्यवस्थापन, नागरिक वडापत्र, काम कर्तव्य प्रति जनउत्तरदायी जनप्रतिनिधि र कर्मचारीतन्त्रको विकास गर्दै सुशासन प्रत्याभूति दिन निम्नानुसार नीति अबलम्बन गरिनेछ ।

१) कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिबृद्धि गर्न तालिम तथा अध्ययन भ्रमणका कार्यक्रमहरु संचालन गरिनेछन् । नागरिकहरुलाई सहज र सरलरुपमा न्याय प्रदान गर्न गठित न्यायिक समितिलाई साधन, स्रोत सहित आवश्यक तालिमको व्यवस्था मिलाईनेछ । न्याय सम्पादन प्रकृयालाई सरलीकृत गरिनेछ ।

२) प्रत्येक वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाई सेवाप्रवाहलाई व्यवस्थित बनाईनेछ । वडास्तरसम्म ईमेल, इन्टरनेटको सुविधा सहज बनाईनेछ । सामाजिक न्याय, सामाजिक समानता, उपलब्ध स्रोतसाधनको प्रभावकारी वितरण, विकासको न्यायोचित वितरण, सामाजिक सुरक्षा जस्ता विषयमा विशेष ध्यान दिई कार्यक्रमहरु निर्धारण र सन्चालन गरिनेछ ।

३) योजना बन्ने तर समयमै अन्त्य नहुने प्रवृति निरुत्साहित गरिनेछ । योजना कार्यान्वयनका लागि बार्षिक कार्ययोजना बनाई नतिजा प्राप्तिलाई सुनिश्चित गरिनेछ । स्वीकृत योजना तथा कार्यक्रमहरु आर्थिक वर्षको जेष्ठ मसान्त भित्रै सम्पन्न गरिसक्ने नीतिलाई अझै प्रभावकारी वनाईनेछ ।

४) नीति तर्जुमादेखि कार्यान्वयन सम्मका सवै चरणलाई पारदर्शी, जवाफदेही र पुर्वानुमान योग्य बनाईनेछ । अनुगमन र मुल्याङ्कनलाई थप प्रभावकारी बनाईनेछ । नगर तथा वडास्तरीय अनुगमन समिति र विषयगत समितिहरुको भूमिकालाई अझै क्रियाशिल बनाईनेछ ।

५) सुचना प्रविधिको अधिकतम प्रयोग गरि सेवा प्रवाह लाई छिटो छरितो, चुस्त ,दुरुस्त र जनउत्तरदायी बनाइने छ ।

नगरपालिकावाट भएका निर्णयहरु महत्वपूर्ण कार्यक्रमहरु अनिवार्य रुपमा Website मा सार्वजनिकिकरण गरिने छ।

६) जैमिनी नगरपालिकाको काम कारवाहीलाई खुल्ला, पारदर्शी र जवाफदेही बनाउन पहरेदारी, खवरदारी र साझेदारीको नीति अवलम्बन गरिने छ ।

७) कर्मचारी तथा जनप्रतिनिधिहरुको आचार संहिता बनाई कार्यान्वयनमा ल्याईनेछ । भ्रष्ट्रचार गर्ने र गराउने दुवैलाई कानूनको दायरामा ल्याई शून्य सहशीलताको नीति अबलम्बन गरिनेछ ।गलत कार्य रोक्न सूचना दिनेलाई साक्षी संरक्षणको नीति अवलम्बन गरिनेछ ।

८) नागरिक र सेवाग्राही विचमा सेवा प्रवाह स्रोत र साधनविच सामन्जस्यता कायम गर्न र नगरपालिकाले गरेका कामको जानकारी तथा सुझाव संकलन गर्नको लागी संवाद छलफल र सुनुवाइका माध्यम बनाइने छ ।

९) यस नगरपालिकाले पारदर्शिता, सदाचार र जवाफदेहिताका लागी सार्वजनिक सुनुवाई सामाजिक परिक्षण, सार्वजनिक परिक्षण लगायतका जवाफदेहिताका औजारलाई कार्यान्वयनमा ल्याइने छ ।

१०) नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीहरुको उपयुक्त संख्या र जिम्मेवारी प्रदान गरिनेछ । नगरपालिको क्षमता विकास योजना वनाई लागु गरिने छ ।

११) नगरपालिकाको अन्तरिक नियन्त्रण प्रणाली निर्देशिका तयार गरि लागु गरिने छ ।

१२) सार्वजनिक प्रशासन संयन्त्रलाई चुस्त, दुरुस्त, सेवाग्राहीमैत्री, सुशासनयुक्त, सक्षम, प्रविधिमैंत्री बनाउदै कार्यसम्पादन करारको अवधारणालाई लागु गरिनेछ ।

१३) सामाजिक सुरक्षा भत्तालाई वैंकिङ प्रणालीबाट वितरण गर्ने कार्यलाई निरन्तरता दिदै असक्षमहरुको घरदैलोमा रकम वितरण गर्न वैकहरुलाई शाखा रहित बैंकिङ प्रणाली अपनाउन अनुरोध गरिनेछ ।

१४) सेवाप्रवाहलाई सहज रुपमा नागरिक मैत्री बनाउन र सुशासनलाई प्रवर्धन गर्न नागरिक वडापत्र, सार्वजनिक सुनुवाई, मिडिया  परिचालन, गुनासो व्यवस्थापन जस्ता कार्यलाई व्यवस्थित रुपमा सन्चालन गरिने छ र सवै योजना तथा कार्यक्रमलाइ व्यवस्थित र पारदर्शी ढंगबाट दीगोरुपमा सन्चालन गर्न उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्दै लगिने छ ।

१५) चालु खर्चको न्यूनीकरण गर्दै पुजिगत खर्चको बढोत्तरी गर्ने, खर्चको प्रभावकारीता र प्रतिफल बढाउने, राजस्वका स्रोतहरु बढाउने, राजस्वको प्रभावकारी परिचालन गर्ने दिशामा अघि वढिनेछ । “समृद्ध जैमिनी शुखी जैमिनी नगरवासीको” दीर्घकालिन उद्देस्य प्राप्त गर्ने अठोटलाई आत्मसाथ गर्दै  अगाडि बढिनेछ ।

 

अन्तर सम्बन्धित क्षेत्र

१.निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारहरुको मर्मत संभार गर्न, अधुरा योजनाहरु पुरा गर्न र उपभोक्ताहरुको सहभागितामा ससाना फुटकर तथा बार्षिक योजनामा नसमेटिएका अति आवश्यक योजना संचालन गर्ने उद्धेस्यले यस वर्ष “समग्र समानुपातिक निरन्तर विकास कार्यक्रम”लाई निरन्तरता दिईएको छ।

२.दिगो विकासका लक्ष्यहरुको स्थानियरकण गरि वार्षिक योजना तर्जुमा गर्ने प्रयास गरिएको छ ।

३.बसाई सराई र आप्रवासन जैमिनी नगरपालिकाको लागि चुनौतिको विषय बनेको छ । नगरबासीलाई आफ्नो थाकथलोमा बसाई राख्न आवश्यक पर्ने भौतिक पूर्वाधार,  शिक्षा,  स्वास्थ्य,  सुरक्षाको प्रत्याभूति गर्न सरोकारवाला निकायहरुको पहलमा आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ।“हाम्रो गाउँ, हाम्रो नगर” भन्ने वाक्यांशलाई अनुभूत हुने गरी विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिनेछ । नगरक्षेत्रबाट देश भित्र र वाहिर रहनु भएका सवै नागरिकहरुलाई यस क्षेत्रको विकासमा लगानी गर्ने र रमाउने वातावरण सृजना गर्न पहल गरिनेछ ।

४.नगरपालिकाको श्रोत साधनलाई मध्यनजर गरी आवश्यकता अनुसार संघीय सरकार, प्रदेश सरकार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सहकार्य गर्दै अगाडि जाने नीतिलाई निरन्तरता दिइनेछ ।

५. टोल प्रवर्धन समितिहरु गठन नभएका स्थानहरुमा टोल प्रवर्धन समिति गठन गरी उद्देश्यको वारेमा बोध गराइनेछ। साथै टोल विकास संस्था गठन सम्बन्धि कानुनको तर्जुमा गरि लागु गरिने छ ।

६. लागत अनुमान नगरी संचालन गर्न सकिने बढीमा २५ हजार सम्मको लागतका सामाजिक विकास तथा साना तिना फुटकर आयोजनाको भुक्तानिको लागि सेवाग्राहीले नगरपालिका कार्यालयमा धाउनु पर्ने ब्यवस्थाको अन्त्यका लागि वडा कार्यालयलाइ पेश्की उपलब्ध गराइवडा स्तरीय ससाना फुटकर आयोजना तथासामाजिक समावेशिकरणकार्यक्रमहरु संचालन गर्ने ब्यवस्था मिलाइनेछ । सो को लागि वडा समितिले वजेट प्रस्ताव गर्दा उल्लेखित शिर्षकमा तोकिएको सिमा भित्र बजेट प्रस्ताव गर्ने नीति लिइनेछ ।

७.प्रत्येक वडाहरुलाई न्यूनतम रु ५ लाख वरावरको वडा स्तरिय दिगो आयोजनाको छनोट गरि कार्यन्वयन गर्ने नीति लिइने छ । साथै न्यून वजेटको सिमा भित्र रही नगरपालिकाका विभिन्न वडाहरुमा “सुन्दर घर, सुन्दर बस्ती, सुन्दर क्षेत्र” कायम हुने गरि कम्तिमा ५० वटा दिगो तथा साना आयोजनाहरु ५० प्रतिशत अनुदानमा  सञ्चालन गर्ने नीति लिइएको छ ।

अन्तमा जैमिनी नगरपालिकालाई विकास र समृद्धिको यात्रातर्फ अग्रसर गराउन योगदान पुर्‍याउनु हुने राजनैतिक दलहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । जैमिनीको समस्त आर्थिक, सामाजिक विकासमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निजी तथा सहकारी क्षेत्र, नागरिक समाज बुद्धिजीवि आम सञ्चार जगत तथा सम्पूर्ण जैमिनीवासीलाई आभार व्यक्त गर्दै जैमिनीको विकास प्रयासमा सहयोग पुर्‍याउने राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा जैमिनी विकासका साझेदारहरुलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->