बागलुङ, १० जेठ– बागलुङको बडिगाड गाउँपालिकाले खरका छाना बिस्थापन गर्ने कार्यक्रमको लागि २ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
आर्थिक, सामाजिक र पूर्वाधार बिकास कार्यक्रमहरुलाई प्राथमिकतको आधारमा बजेट बिनियोजन गरेको गाउँपालिकाले आउँदो आर्थिक बर्षमा खरका छाना बिस्थापन गरेर जस्ताको छाना लगाउने कामलाई उच्च प्राथमिकतामा राखेको हो ।
गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड १० लाख तथा गाउँपालिका भित्रका सवै वडामा वडा कार्यालय निर्माण सम्पन्न गर्न दुइ करोड ५० लाख वजेट विनियोजन गरेको छ । खानेपानी योजनाका लागि २ करोड ८१ लाख ९८ हजार विनियोजन भएको छ ।
वजेटले बालविकासका सहजकर्ता तथा विद्यालय कर्मचारीको लागि आवश्यक तलवभत्ताको व्यवस्था गरेको छभने विद्यालय कर्मचारी तथा लेखापालहरुको तलवमान बृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र आर्थिक बजेट सार्वजनिक गर्दै गाउँपालिकाले आफ्नो प्राथमिकताका आधार समेत प्रस्तुत गरेको हो । गाउँपालिकाले ६२ करोड १ लाख २५ हजारको बजेट नवौं गाउँसभाबाट पारित गरेको छ । अध्यक्ष मेहरसिंह पाइजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेट सभाले सर्वसम्मत पारित भएको हो ।
(नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)
बडिगाड गाउँपालिका
ग्वालिचौर बागलुङ
२०७८
आर्थिक वर्ष ०७८/०७९को
नीति, तथा कार्यक्रम
सम्पुर्ण गाउँसभा सदस्य ज्यूहरु,
सम्मानित नवौं गाउँ सभा समक्ष बडिगाड गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफुलाई अत्यन्तै भग्यामानी महसुस गरेको छु।
केन्द्रिकृत, एकात्मक, निरंकुश, सामन्ति, तानाशाही शासन ब्यबस्थाको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रात्मक, समाजबाद उन्मुख, समावेसी शासन व्यवस्था स्थापना गर्न तथा राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागी भएका आन्दोलनमा जीवन आहुति गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदरहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु साथै शहिद, बेपत्ता तथा घाईते परिवार प्रति उच्च सम्मान ब्याक्त गर्दछु।
विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड-१९) रोगको प्रकोपको दोस्रो लहरबाट हाम्रो देश नेपाल र हाम्रो गाउँपालिका समेत अछुतो रहेन। कोरोना भाईरस (कोभिड-19) रोगको कारणबाट ज्यान गुमाएका बडिगाड बासी सम्पूर्ण मृतात्मा प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै सोकाकूल परिवारजन प्रति हार्दिक समबेदना ब्याक्त गर्दछु।कोरोना भाईरस (कोभिड-19) रोगबाट प्रभावित सम्पुर्ण जनताहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।कोभिड- १९ रोग नियन्त्रण तथा रोकथामको कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिनु हुने तथा आर्थिक भौतिक सहयोग गर्नुहुने जनप्रतिनीधिहरु, स्वास्थ्य कर्मीहरु, कर्मचारी, राजनीति कर्मीहरु, शिक्षकहरु, बुद्धिजिबी, समाजसेबी, संघ संस्थाहरु, देश बिदेशबाट आर्थिक भौतिक सहयोग गर्ने सहयोगदाता प्रति हार्दिक धन्यबाद दिन चहान्छु। देशको विभिन्न ठाउँ, भारत लगायत बिभिन्न मुलुकबाट आफ्नो घरमा आउने क्रममा विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले निर्माण गरेको मापदण्ड अनुसार क्वारेन्टाईनमा बसी रोग नियन्त्रणमा सहयोग पुर्याउनु हुने मानिसहरुलाई समेत धन्यबाद दिन चहान्छु। कोभिड- १९ रोगको प्रकोप केहि घटेको जस्तो देखिए पनि वास्तविकतामा अवस्था अझै पनि बिकराल भएकोले नेपाल सरकारले तोकेको मापदण्डलाई पालना गरी आ-आफ्नो क्रियाकलाप संचालन गर्न सभाका सम्पुर्ण सदस्य ज्यूहरु मार्फत बडिगाड बासी सम्पुर्णमा हार्दिक अपिल गर्दछु।
मध्य पहाडी राजमार्गको पहुच भएको भएतापनि भौगोलिकरुपमा अति दुर्गम क्षेत्र समेत रहेको यो गाउँपालिका प्राकृतिक विवधताले भरिपूर्ण रहेको यस गाउँपालिकाको प्राकृतिक श्रोतको अधिकतम प्रयोग गर्दै, दुर्गम क्षेत्रमा रहेको जनताहरुलाई समेत शिक्षा, स्वास्थ्य लगायत जनजीबिकाको हरेक क्षेत्रमा समान अवसर श्रृजना गर्दै दुर्गम क्षेत्रको विकास निर्माणलाई प्रथमिकता दिने, सबै प्रकारको विभेद, बन्चितीकरण र असमानताको अन्त्य गर्दै सामाजिक विकृति र विसंगतिको अन्त्य गर्दै समुन्नत, सभ्य र बिकास उन्मुख गाउँपालिका निर्माण गर्ने नीति अंगिकार गरीनेछ।
विकास निर्माण हामी आफ्नै हो र हाम्रो लागि हो भन्ने भावना जागृत गरी बिकास निर्माणमा दिगोपना ल्याउन जनसहभागितात्मक योजना छनौट पद्दति अवलम्वन गरीनेछ। निर्माण कार्यमा लागत सहभागिता सून्यःप्राय भएकोले लागत सहभागितालाई जोड दिईनेछ। स्थानीय जनताहरुको रोजगरी श्रृजना हुने, प्रत्यक्ष आय आर्जन बृद्धि हुने, स्थानीय श्रोत, सीप र साधनको उपयोग हुने आयोजनाहरुलाई प्राथमिकता दिइनेछ।
अव म चालु आ.व. ०७७/०७८ को समिक्षा गर्न चहान्छु।
बाडिगाड गाउँपालिकामा चालु आ.व. ०७७/०७८ मा संचालन हुने योजनाहरुको निर्माण कार्य संचालन भईरहेको अवस्थामा नेपालमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड-१९) रोगको नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको निषेधाज्ञा, अघिल्ला वर्षहरुको तुलनामा निक्कै चाडै सक्रिय भएको मनसुनको कारण केहि असहज परिस्थिति श्रृजना भएको भए पनि आर्थिक वर्ष सुरु भएको लगत्तै योजना सम्झौता गरी निर्माण कार्यलाई अगाडि बढाईएको साथै निषेधाज्ञा र झरी बादलको अवस्थामा पनि सामाजिक दुरी कायम गरी निर्माण कार्यलाई निरन्तरता दिईएकोछ।बाडिगाड गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य जारीछ।यसै आ.व. भित्र सम्पन्न गरी प्रशासनिक भवनबाट कार्यालय संचालन गर्ने लक्ष्यका साथ काम अगाडि बढाईएको छ।ग्वालिचौर जलजला मोटर बाटो र केसपोखरी भ्यू टावर निर्माण गर्न ठेक्का बन्दोबस्त गरीएकोमा कोभिड-१९ रोग मनसुनको कारणले निर्माण कार्यमा यथोचित प्रगति हुन सकेको छैन।वडा कार्यालयकको भवन उपभोक्ता समिति मार्फत निर्माण कार्य अगाडि बाढाइएको छ।
पूर्वाधार साझेदारी बिकास कार्यक्रमहरु, प्रदेस सरकारबाट संचालित कार्यक्रमहरु, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम, सडक बोर्ड नेपालबाट हाल निर्माणको क्रममा रहेकोछ।उक्त योजनाहरु निर्धारित समयमै सम्पन्न हुने आसा लिएको छु।
गाउँपालिकाले संचालन गरेको पशु तथा कृषि लक्षित कार्यक्रमहरुबाट आय आर्जनमा केहि बृद्धि भएकोछ। स्वास्थ्य तथा सरसफाईको कार्यक्रमबाट जनताहरुको स्वास्थ्य स्थितिमा सुधार आएबाट औषधी उपचारमा हुने खर्च बचत भई आर्थिक अवस्थामा सुधार भएको छ।सबै वडाहरुमा भौतिक पूर्वाधारको कार्यहरु तथा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको भएतापनि स्थानीय स्तरमा यथोचित रोजगारी श्रृजना गर्न सकिएको छैन।
सभाको सदस्य ज्यू ,
अव म विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरीएका महत्वपूर्ण प्रयास, अवसर तथा चुनौती पेश गर्न चहान्छु।
चालिएका कदमः
- सबै वडाहरुमा सडक संजाल बिस्तार गर्ने।
- सबै वडाको बस्तीहरुमा खानेपानी सुविधा विस्तार गर्ने।
- शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने कार्यक्रम।
- बिकास निर्माणमा जनसहभागिता, स्थानीय स्रोत साघनको उपयोगमा जोड दिने।
- एक महिना एक दिन अनिवार्य जनश्रमदान।
- एक घर दस फलफूलको बोट।
- विसंगती बिकृति विरुद्धको अभियान।
विद्यमान अवसरहरुः
- एक दर्जन बढी रमणीय, भौगोलिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय महत्त्व बोकेका स्थानहरू भएकाले यसको विशेष महत्त्व र पर्यटन विकासको सम्भावना रहन गएको छ।
- बडिगाड गाउँपालिकाको हावापानी तथा स्थान विशेष कृषि योग्य भूमिको उपलब्धताका कारण यस गाउँपालिकालाई पहिचान दिने गरी कृषि उत्पादन गर्न सक्ने गाउँपालिकाको रूपमा विकास गर्न सकिन्छ।
- कृषिजन्य उत्पादित वस्तुकोलागि आवश्यक बजारको समस्या नरहेको, यस गाउँपालिकामा उत्पादन हुने तरकारी र कृषि तथा पशुजन्य उत्पादनले राम्रो बजार पाउने प्रशस्त सम्भावना रहेकोछ।
- अदुवा, टिमुर, भटमास, लसुन, अलैंची, केरा, एभोकांडो, सिलाम, किवी, भाँगोको खेती, मौरीपालन, भिरमौरि जस्ता कृषि तथा पशुजन्य उत्पादनका लागि यस गाउँपालिकाले आफ्नो पहिचान स्थापित गर्न सक्ने र यस क्षेत्रको आधुनिकीकरण गर्न सकेको अवस्थामा यसको उत्पादकत्वमा बृद्धि आई थप आर्थिक उपलब्धि हासिल गर्न सकिने देखिन्छ।
- गाउँपालिकामा रहेको वन जङ्गललाई संरक्षण गरी त्यसबाट प्राप्त गर्न सकिने लाभ जस्तैः प्राङ्गारिकमल, जडिबुटी र मसला उत्पादन जस्ता क्रियाकलापका माध्यमबाट आर्थिक उपार्जन गर्न सकिने देखिन्छ।
- गाउँपालिकाको सबै क्षेत्रमा फलफूलखेतीको ब्यापक सम्भावना रहन गएकोछ।
- बडिगाडमा विद्युत उत्पादनको विशेष सम्भावना रहन गएकोछ।
विद्यमान चुनौतिहरुः
- जनसहभागितामा आधारित योजना कार्यान्वयन विधिको पालना हुनु पर्नेमा स्थानीय उपभोक्ता समितिले पनि योजना कार्यान्वयनमा जनसभागिता नजुटाउँदा समस्या देखिएको छ।
- दीर्घकालीन सोचका आधारमा योजनावद्ध विकास क्रिया अघि बढाउन आवधिक योजना निर्माण भएता पनि सोही अनुरुप अनुरूप कार्यान्वयन हुन सकेको छैन ।
- वस्ती स्तरका योजना तथा कार्यक्रमको माग संकलन गरी वडा समितिबाट योजना तथा कार्यक्रमको प्राथमिकीकरण गरी सोही अनुसार स्रोत परिचालनका आधारमा योजना र कार्यक्रम सञ्चालन सकिरहेको छैन।
- गाउँपालिका भित्र रहेका विषयगत शाखाहरूमा जनशक्तिको अभाव तथा तालिमको अभावले कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ।
- विपद् वस्थापन, जलवायु परिवर्तन, वातावरणको संरक्षण जस्ता विषयमा आवश्यकता अनुसार नयाँ प्रविधिको प्रयोग गर्न सकिएको छैन जसले गर्दा यसको प्रभाव न्यूनीकरण गर्न सकिएको छैन।
- भौतिकपूर्वाधार सम्बन्धी योजनाहरू एउटा पूरा नहुँदै अर्को नयाँ योजना छनौट गर्ने प्रक्रियाले एकातिर लक्षित लाभ लिन नसकेको अवस्था छ भने अर्को तर्फ स-साना योजना छनौट गर्दा त्यसबाट सिर्जना हुने लाभ सानो जनसङ्ख्याले मात्र प्राप्त गर्ने अवस्था हुनु विकासको सिद्धान्त विपरीत भएको देखिन्छ।
प्रमुख नीति तथा कार्यक्रमहरु
समग्र नीति तथा कार्यक्रमहरुः
- सुरक्षित नागरीक आवास कार्यक्रमबाट नसमेटिएको परिवारलाई समेत समेत्ने गरी गाउँपालिकाबाट “बडिगाड गाउँपालिका सुरक्षित नागरीक आवास कार्यक्रम“ संचालन गरीनेछ।
- पूर्वाधार बिकासको पहुँच न्यून भएको वडाहरुमा बिशेष कार्यक्रम संचालन गरी सबै वडाहरुलाई समान स्तरमा पुर्याईनेछ।
- सुशासनको प्रत्याभूति दिई जनप्रतिनिधि र कर्मचारी प्रशासनलाई जनता प्रति जिम्मेवार बनाउन भ्रष्टाचार बिरुद्ध शुन्य सहनसिलताको नीति अवलम्बन गरीनेछ।
- सबै प्रकारको समाजिक बिकृति बिसंगति तथा कुरीतिहरुलाई दुरुत्साहन गर्ने नीतिलाई निरन्तरता दिईनेछ।
- गत विगत आर्थिक वर्षहरुमा अंगिकार गरिएको समयानुकूल नीति तथा कार्यक्रमहरुलाई आगामी वर्षमा समेत निरन्तरता दिईनेछ।
- एकिकृत र दिगो बिकासको लागि यसै सभामा पेश गरेको आवधिक योजना अनुसार योजना तर्जुमा गरी कार्यान्वयन गरीनेछ।
- ब्यबसायिक खेती तथा पशुपालन कार्यक्रम संचालन गरी स्वरोजगारीको अवसर श्रृजना गरिनेछ।
- धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको बिकास तथा प्रबर्द्धन गरी आय आर्जन सँग जोड्ने नीति अवलम्वन गरिनेछ।
- खानेपानी, स्वास्थ्य, सरसफाई र वातावरण संरक्षणमा बिशेष जोड दिइनेछ।
- भौतिक पुर्वाधार, सामाजिक तथा आर्थिक बिकासमा विशेष जोड दिइनेछ।
- सबै वडाहरुमा बाह्रै महिना गाडी चल्न सक्ने सडक निर्माणमा जोड दिइनेछ।
- दैविक प्रकोप तथा विपदमा परेकाहरु र भुमीहिन सुकुम्बासीहरुलाई उचित ब्यबस्थापन गर्दै लगिनेछ।
क्षेत्रगत नीति तथा आधारहरुः
सभाका सदस्य ज्यू,
अब म क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चहान्छु।
आर्थिक बिकास सम्बन्धि नीति तथा कार्यक्रमहरु
कृषि तथा पशु बिकासः
- भौगोलिक अवस्थिति र वातावरण अनुसार ब्यबसायिक खेतीलाई प्राथमिकता दिइनेछ।
- खाद्यन्न बालीको उत्पादनमा बृद्धि तथा उचित भण्डारणको प्रविधि बिस्तार गरी खाद्यान्नमा आत्मनिर्भर गाउँपालिका बनाउने कार्यक्रम अगाडि बढाईनेछ।
- आलु बालीको साना ब्यबसायीक कृषि उत्पादन केन्द्र बिकास कार्यक्रम संचालन गरीनेछ।
- मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गरीनेछ।
- स्थानीय रैथाने जातको बाली प्रबर्द्धन कार्यक्रमलाई निरन्तरता दिईनेछ।
- यसै आर्थिक वर्ष देखि कृषक सूचीकरण कार्यक्रम संचालन गरीनेछ साथै कृषि तथा पशुपंक्षी सम्बन्धि तथ्याङ्क अद्यबधिक गरीनेछ।
- हावापानी अनुसारको ब्यबसायिक फलफूल खेती गर्न प्रोत्साहन गरीनेछ।
- एक घर दस फलफूल विरुवा कार्यक्रमलाई निरन्तरता दिईनेछ।
- किवी खेतीको बिस्तरको लागी नर्सरी स्थापना गरीनेछ।
- ब्यबसायीक पशुपालन गर्ने कृषकलाई केहि अनुदानको ब्यबस्था मिलाईनेछ।
- बंगुर साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ।
- कृत्रिम गर्भाधान संबन्धि कार्यक्रम संचालन गरीनेछ।
- पशु पंक्षिमा लाग्ने सरुवा रोग सम्बन्धि प्रतिबेदन गर्ने, पशु आहारा मिसन र मासु मिसन कार्यक्रम संचालनमा ल्याईनेछ।
वित्तीय संस्था तथा सहकारीः
- बडिगाड गाउँपालिकामा संचालित सहकारी संस्थाहरुको ब्यबसायिक क्षमता विकासको लागि सहकारी प्रबर्द्धन तथा शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरीनेछ।
- सबै प्रकारको भुक्तानी प्रकृयालाई सरलीकृत र पारदर्शी बनाउन “एक नागरीक एक बैंक खाता” अभियान कार्यक्रम संचालन गरीनेछ उक्त कार्यक्रमको प्रभावकारीताको लागि बैंक सँग समन्वय गरीनेछ।
- बडिगाड गाउँपालिका भित्र रहेका विभिन्न लघुवित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता गर्ने र गरिवी निवारणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनुमती दिई कार्यसञ्चालनमा सहयोग गरीनेछ ।
पर्यटनः
- बडिगाड गाउँपालिकाको पर्यटनको सम्भावना बोकेको रमणीय स्थल करुणा, चमेरे गुफा, देवी ढोका, लोङ्गा धुरी, शिवधुरी, ठुलाचौर, सिद्ध बराह ताल, नेपाने चौर, केस पोखरी, अन्धाअन्धी ताल, थानपति मन्दिर, बाँझढले लेक, गराङ चौर, थामचौर,बल्दे लेक जस्ता पर्यटकीय क्षेत्रको बिकास, संरक्षण तथा प्रबर्द्धनको लागि आधारभूत पूर्वाधार निर्माणमा लगानी गर्न प्रदेस तथा सँघीय सरकार सँग सहकार्य गरीनेछ। नयाँ पर्यटकीय स्थलहरुको पहिचान गरीनेछ।
- गाउँपालिका भित्रको सबै सम्भावित स्थानमा होम स्टे संचालन गर्न प्रोत्साहन गरीनेछ।
- ऐतिहासिक, पुरातात्विक स्थलहरुको संरक्षण तथा सम्बर्द्धन, प्रचार प्रसार गर्ने र आर्थिक गतिविधि संचालन गर्न प्रोत्साहन गरीनेछ।
उद्योग तथा वाणिज्यः
- घरेलु उद्योग स्थापना तथा संचालनको लागि आवश्यक पहल गरीनेछ। परम्परागत घरेलु उद्योगलाई निरन्तरता दिईनेछ।
- प्रतिस्पर्धामा छनौट भएका ब्यबासाय बिकास सेवा प्रदायक संस्थाहरु मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी श्रृजना गरीनेछ।
- प्रतिस्पर्धामा छनौट भएका ब्यबासाय बिकास सेवा प्रदायक संस्थाहरु मार्फत उद्यमीहरुको स्तर उन्नति गरीनेछ।
- अति गरीव परिवारको लागि कम्तिमा १० जनाको लागि हुने गरी साझा सुबिधा केन्द्र स्थापना गर्ने कार्क्रमला निरन्तरता दिईने छ।
- सम्भाब्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा बृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।
समाजिक बिकास सम्बन्धि नीति तथा कार्यक्रम
आधारभूवत तथा माध्यमिक शिक्षाः
- सामुदायिक विद्यालयको शिक्षक कर्मचारीहरुको दरबन्दी मिलान, विद्यालय समयोजन तथा एकिकरण गर्ने कार्य अगाडि बढाईनेछ।
- बडिगाड गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिनेछ।
- सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक पूर्बाधार निर्माण, मर्मत सम्भार र ब्यबस्थापनमा जोड दिईनेछ।
- तोकिएको लक्षित वर्गका छात्र छात्राहरुको लागि दिवा खाजाको ब्यबस्था गरीनेछ।
- विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारीत प्रोत्साहन अनुदानको ब्यबस्था मिलाईनेछ।
- शैक्षिक पहुँच सुनिस्चिस्तता, अनौपचारिक तथा बैकल्पिक शिक्षा कार्यक्रम संचालन गरिनेछ।
- स्थानीय शिक्षा पार्स्वचित्र र शिक्षा योजना निर्माण गरिनेछ।
- कक्षा ६-१२ मा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याडको ब्यबस्था तथा आवाशीय एवं गैरआवाशीय विद्यार्थिहरुको लागि छात्राबृत्तिको ब्यबस्था मिलाईनेछ।
- आधारभूत तहको परीक्षा लाई मर्यादित बनाउन परीक्षा संचालन, अनुगमन कार्यलाई ब्यबस्थित बनाईनेछ।
- शिक्षकहरुको पेशागत क्षमता बिकासको लागि तालिमको ब्यबस्था मिलाईनेछ।
- बडिगाड गाउँपालिका भित्र बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरीनेछ।
- गाउँपालिका र विद्यालय ब्यबस्थापन समिति तथा प्र.अ. हरू विच अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ।
- उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने लगायत निश्चित मापदणडको आधारमा उत्कृत विद्यालयलाई पुरस्कृत गरीनेछ।
- गरीव, जेहेन्दार, असहाय विपन्न विद्यार्थीहरुलाई छात्राबृत्तिको ब्यबस्था गरीनेछ।
- गाउँ कार्यपालिकाको कार्यालयबाट अनुमति लिएर मात्र कोचिङ्ग सेन्टर तथा ट्युसन सेन्टर संचालन गर्न पाउने ब्यबस्था मिलाईनेछ।
- सामुदायीक विद्यालयका शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई थप पदिय दायित्व परिवर्तन तथा थप जिम्मेवार बनाईनेछ ।
- बडिगाड गाउँपालिका वडा नं.५ न्वारमा कृषि तथा पशु विज्ञान विषयमा स्नातक तह अध्ययनको लागि क्याम्पस संचालन गर्न सम्बन्धनको लागि आवश्यक पहल गरीनेछ।
गैर सरकारी संघ संस्था परिचालन तथा समन्वयः
- बडिगाड गाउँपालिका भित्र काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरु सँग सहकार्यमा कार्यक्रम संचालन गर्ने, कार्यक्रम संचालन गर्ने सँघ सँस्थाहरुले अनिवार्यरुपमा गाउँपालिकामा कार्यक्रम पेश गरी स्वीकृति लिने र कार्य सम्पन्न भए पछि कार्य सम्पादन प्रतिबेदन पेश गर्नु पर्ने ब्यबस्था गरीनेछ।
- गाउँपालिकाको अनुमति नलिई कार्यक्रम संचालन गर्ने सँघ सँस्थाहरुलाई प्रतिबन्ध लगाउने ब्यबस्था गरीनेछ।
आधारभूत स्वास्थ्य र सरसफाईः
- “स्वास्थ्य नै धन हो“ नागरीकहरुलाई स्वस्थ राख्नको लागि “नमुना स्वस्थ गाउँपालिका” निर्माण गर्ने कार्यक्रम संचालन गरीनेछ।
- कोभिड-१९ लागायत महामारी रोग नियन्त्रणको कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी रुपमा संचालन गरीनेछ।
- गाउँपालिकाको अधिकांस मानिसहरु गरीविको रेखामुनी भएको, प्रत्यक वर्ष औषधी खरीदमा लाखौ रुपैयाँ खर्च गर्नु पर्ने अवस्थाबाट गरिबी स्तर बढ्दै गएकाले निशुल्क औषधीको प्रबन्ध मिलाउनु स्वास्थ्य बिमा फार्मेसी स्थापना गर्ने र स्वास्थ्य बिमामा सबैको पहुच पुग्ने गरी कार्यक्रम संचालन गरीने छ।
- दस वटै वडामा भएको स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गरी संचालन गरीनेछ।
- मातृमृत्युदर,नवजात शिशु मृत्युदर, बालमृत्यु दर घटाई औषत आयु बढाउन स्वास्थ्य सेवाका आयामहरु प्रतिकारात्मक सेवा, प्रवर्धनात्मक सेवा, उपचारात्मक सेवा, पुनर्स्थापनात्मक सेवाहरुलाई समेटेर स्वास्थ्य कार्यक्रम संचालन गरीनेछ।
- बाह्य खोप केन्द्रबाट संचालन गरिने खोप सेवालाई गुणस्तरीय बनाउन बाह्य खोप केन्द्रलाई ब्यबस्थित गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।
- बडिगाड गाउँपालिकामा ब्यापकरुपमा फैलिएको क्षयरोग नियन्त्रणको लागि संचालित बिशेष कार्यक्रमलाई निरन्तरता दिईनेछ।
- एकिकृत महिला तथा प्रजनन् स्वास्थ्य कार्यक्रम, एकिकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, महिला स्वास्थ्य स्वंसेविकाहरुको लागि प्रोत्साहन, बर्थिङ्ग सेन्टरको लागि आवश्यक भौतिक सामग्री ब्यबस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिई संचालन गरीनेछ।
भाषा, संस्कृति प्रबर्द्धनः
- बडिगाड गाउँपालिका भित्र रहेको कला, सँस्कृति, नाच, जात्राहरुलाई संरक्षण गरीनेछ।
- धर्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक महत्वका क्षेत्रहरुको संरक्षण सम्बर्द्धन मा स्थानीय समुदायको अपनत्व कायम गर्दै स्थानीय समुदायको आयआर्जन सँग जोड्ने नीति बनाईनेछ।
लैङ्गिक समानता तथा समाजिक समाबेसीकरणः
- महिला, बालबालिका, अपाङ्गता भएको ब्याक्ति, जेष्ठ नागरीक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षमता बृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ।
- समाजमा रहेको कुरीति, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखान तथा ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम संचालन गरीनेछ।
- महिला, बालबालिका, अपाङ्गता भएको ब्याक्ति, जेष्ठ नागरीक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तथ्यङ्क संकलन र अद्याबधिक गरीनेछ।
खेलकूदः
- खेलकुद बिकासको लागि पुर्वाधार निर्माण कार्यलाई अगाडि बढाईनेछ।
- राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता संचालन गरीनेछ।
समाजिक सुरक्षाः
- सामाजिक सुरक्षा सूचना ब्यबस्थापन प्रणालीलाई ब्यबस्थित गर्न सबै वडा कार्यालयहरुलाई प्रविधि मैत्री बनाईनेछ।
- सामाजिक सुरक्षा भत्ता बैंककिङ्ग प्रणालीबाट बितरण गर्दा दुर्गम क्षेत्रमा बसोबास गर्ने लाभग्राही, असक्त जेष्ठ नागरी र असक्त लाभग्राहीहरुलाई समस्या भएकोले भत्ता वितरण कार्यलाई सरलिकृत गर्न बैंक संग सहकार्य गरीनेछ।
- गाउँपालिकाको कार्यालयबाट प्रदान गरीने सेवामा जेष्ठनागरीक, अपाङ्गता भएका ब्याक्तिहरु, गर्भवती सुत्केरी महिलाहरुलाई अग्राधिकार दिईनेछ।
युवा , रोजगार तथा गरीवि निवारणः
- गाउँ कार्यपालिकाको कार्यालयमा रहेको रोजगार सेवा केन्द्रको सुदृढीकरण गरीनेछ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विपन्न श्रमिकहरुको लागि रोजगारीको ब्यबस्था मिलाईनेछ।
भौतिक बिकास सम्बन्धि नीति तथा कार्यक्रमहरु
ऊर्जा, साना जलविद्युत तथा बैकल्पिक उर्जाः
- बडिगाड गाउँपालिकाको सबै वडाहरुमा केन्द्रीय प्रसारण लाईनको विद्युत जडानको लागी सम्बन्धित निकाय सँग समन्वय र सहकार्य गरीनेछ।
- हाल संचालनमा रहेको लघु जलविद्युत आयोजनाहरुको ब्यबस्थापनलाई नियमन गरीनेछ। मर्मत तथा सम्भारको लागि प्रदेश सरकार सँग समन्वय गरीनेछ।
- सौर्य ऊर्जा, बायोग्याँस र बायोमास जडान सम्बन्धि कार्यक्रम संचालनलाई निरन्तरता दिईनेछ।
सडक, भवन, खानेपानी तथा शहरी बिकाशः
- बाडिगाड गाउँपालकामा ट्रेक खोल्ने कार्य सुरु गरी हाल सम्म सम्पन्न नभएको मोटर बाटोहरुको ट्रेक खोल्ने कार्य सम्पन्न गरीनेछ।
- बडिगाड गाउँपालिका भित्र बसोबास गर्ने नागरीकहरुको खरको छाना भएको घरलाई स्तरउन्नति गरी खरको छाना मुक्त गर्ने कार्य यसै वर्ष सम्पन्न गरीने छ।
- बडिगाड बृहत खानेपानी योजना संचालनको लागि सँघीय सरकार र प्रदेश सरकार सँग समन्वय र सहकार्य गरीनेछ।
- साना खानेपानी योजना संचालनको लागि गैर सरकारी संस्थाहरु सँग साझेदारी, समन्वय र सहकार्य गरीनेछ।
- गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई आ.व.2078/079 भित्र निर्माण गरी सकिनेछ।
- गाउँपालिका भित्र निर्माण कार्य संचालनमा रहेको झोलुङ्गे पुलको निर्माण कार्य आ.व.078/079मा सम्पन्न गरिनेछ साथै थप झो.पु.को सर्भे गर्ने कार्य अगाडि बढाईनेछ
- सुरक्षित नागरीक आवास कार्यक्रमलाई निरन्ता दिईने छ।
- बडिगाड गाउँपालिकाको खर्बाङ्ग, ग्वालिचौर र भिमगिठेमा साना शहरी बिकास कार्यक्रम संचालनको लागि संघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरीनेछ।
वन, वातावरण तथा विपद ब्यबस्थापन सम्बन्धि नीति तथा कार्यक्रमः
प्राकृतिक श्रोत, खानी तथा खनिज पदार्थको संरक्षणः
- बडिगाड गाउँपालिकाको खर्बाङ्ग, ग्वालिचौर, भिमगिठे लगाएत बजारबाट उत्पादित फोहोर ब्यबस्थापनको लागि डम्पिङ साईडको ब्यबस्था मिलाईनेछ।
- बाडिपहिरो,चट्याङ, भूकम्प लगायत प्राकृतिक तथा दैबिक बिपत्तिमा परेकाहरुलाई उद्दार, राहत र पुनस्थापनाको कार्यक्रम संचालन गरीनेछ साथै चट्याङ प्रभावित क्षेत्रमा लाईटिङ्ग एरेस्टर जडान कार्य अगाडि बढाईनेछ।
- जलवायु अनुकूलताको लागि थप कार्यक्रमहरु तय गरी संघीय सरकार र प्रदेश सरकार सँगको सहकार्यमा वातावरण संरक्षण र दिगोविकासका कार्यक्रमहरु माग गरीने छ ।
- बडिगाड गाउँपालिकाको रणसिंह, सिसाखानी, दर्लिङ्ग क्षेत्रमा रहेको तामा, फलाम, ढुङ्गा लागयतको खानी उत्खनन्को लागि संघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरी काम अगाडि बढाईनेछ।
- संघिय सरकार र प्रदेश सरकारको समन्वयमा जलवायु अनुकुलन कार्यक्रम संचालन गरीनेछ।
जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद ब्यबस्थापनः
- बाडिगाड गाउँपालिकाको बडिगाड खोला, दरमखोला लागाएत विभिन्न स्थानमा नदी नियन्त्रणको लागि सँघीय सरकार र प्रदेश सरकार सँगको समन्वय र सहकार्यमा काम गरीनेछ।
संस्थागत बिकास , सेवा प्रवाह र सुशासन सम्बन्धि नीति तथा कार्यक्रमहरुः
संस्थगत क्षमता बिकासः
- जनप्रतिनीधि र कर्मचारीहरुको क्षमता बिकास सम्बन्धि कार्यक्रम संचालन गरीनेछ।
- कार्यरत कर्मचारीहरुलाई तलब सुविधा सहित१० दिनको पर्यटन काजको ब्यबस्था मिलाईएको छ।
राजस्व परिचालन, श्रोत अभिबृद्धि र ब्यबस्थापनः
- राजस्व संकलन कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयनको गर्न सरोकारवालाहरु सँग अन्तरक्रिया गरीनेछ।
- वडा कार्यालयहरुबाट संकलन हुने राजस्वलाई ब्यबस्थित बनाउदै लगिनेछ।
वित्तीय व्यबस्थापन/वित्तीय जोखिम न्युनीकरण तथा पार्दशिता र सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण तथा लेखापरीक्षणः
- भ्रष्टाचार शून्य सहनसिलताको नीति अवलम्बन गरीएकोछ।
- वित्तीय ब्यबस्थापनलाई पारदर्शि बनाईनेछ।
- उपभोक्ता समिति / सँघ संस्था/ ठेकेदारबाट हुने कामको साथै गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट संचालन हुने काम वित्तिय जोखिम न्यूनीकरण गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण तथा लेखा परीक्षणको ब्यबस्था मिलाईएको छ।
नागरिक सन्तुष्टी सर्वेक्षणः
- बडिगाड गाउँ कार्यपालिकाको कार्यालयको आधिकारी वेप पेजबाट कार्यालयले प्रदान गरेको सेवा प्रति नगरीक सन्तुष्टी सर्वेक्षणलाई निरन्तरता दिईएको छ।
- गाउँ कार्यपालिकाको कार्यालय र बडा कार्यालयहरुमा गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको मिलाईनेछ।
अन्यक्षेत्रगत नीति तथा कार्यक्रमहरुः
न्यायिक समितिको क्षमता बिकास र मध्यस्थता ब्यबस्थापनः
- न्याय समितिले सम्पादन गर्ने कार्यलाई ब्यबस्थित बनाउँदै लगिनेछ।
स्थानीय बजार ब्यबस्थापनः
- बजारमा गुणस्तरीय सामान आपूर्तिको नियमन गर्न बजार अनुगमन गर्ने कार्यलाई नियमित गर्ने ब्यबस्था मिलाईनेछ।
पोषण तथा खाद्य सुरक्षाः
- बडिगाड गाउँपालिकाको पोषणको स्थिति राम्रो नभएकोले खाद्य तथा पोषण कार्यक्रम संचालन गरीनेछ।
उपभोक्ता समितिको परिचालन तथा अनुगमनः
- उपभोक्ता समितिबाट हुने निर्माण तथा खरीद कार्यमा वित्तीय जोखिम न्युनीकरण गर्न, कामको गुणस्तर कायम गर्न अनुगमन कार्यलाई ब्यबस्थित बनाईनेछ।
- उपभोक्ता समिति गठन गर्दा समाबेसी सहभागितालाई समेत ध्यान दिईनेछ।
मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट बडिगाड वासी जनताहरुको आधारभूत आवश्यकताहरु सुनिश्चित हुँदै जाने विश्वास लिएको छु। बडिगाड वासी जनताहरुको जिवनस्तरमा सकरात्मक सुधारको सुरुवात हुने आसा लिएको छु। सार्वजनिक सेवाको गुणस्तर अभिबृद्धि हुने, सामाजिक क्षेत्रमा सकरात्मक सुधार हुने अपेक्षा राखेको छु।
अन्तमा यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै पक्षको सहयोग रहने आसा समेत गरेको छु। नीति तथा कार्यक्रमको तयारीको क्रममा रचनात्मक सल्लाह र सुझाव उपलब्ध गराउनु हुने सम्पुर्ण महानुभाव प्रति कृतज्ञता प्रकट गर्दछु। सहयोग गर्ने जनप्रतिनीधि तथा कर्मचारीहरुमा धन्यबाद ज्ञापन गर्दछु।
धन्यबाद
जय बडिगाड
बडिगाड गाउँपालिकाको नवौं गाउँ सभामा २०७८ आषाढ १० गतेका दिन गाउँपालिका उपाध्यक्ष श्री अम्मर बहादुर श्रीस द्वारा प्रस्तुत
आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम
आदरणिय गाउँसभा अध्यक्षज्यू
सम्पुर्ण गाउँसभा सदस्य ज्यूहरु,
सम्मानित नवौं गाउँ सभा समक्ष बडिगाड गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को लगि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफुलाई अत्यन्तै गौरवान्वित महसुस गरेको छु।
केन्द्रिकृत, एकात्मक, निरंकुश, सामन्ति, तानाशाही शासन ब्यबस्थाको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रात्मक समाजबाद उन्मुख शासन ब्यबस्था स्थापना गर्न तथा राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागी भएका आन्दोलनमा जीवन आहुति गर्नु हुने सम्पुर्ण ज्ञात अज्ञात सहिदरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु। साथै शहिद, बेपत्ता तथा घाईते परिवार प्रति उच्च सम्मान ब्याक्त गर्दछु।
महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) रोगको दोस्रो लहरले हामी बाडिगाड वासीहरुलाई समेत अछुतो रहन दिएन।कोभिड-19 ( कोरोना) रोगको कारणबाट मृत्यू हुने सम्मपूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जलि तथा शोकसन्तप्त परिवार प्रति गहिरो समबेदना अर्पण गर्दछु।कोभिड-19 (कोरोना ) रोगबाट प्रभावित सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बडिगाड वासी जनताहरुलाई कोभिड-१९ रोगबाट जोगाई राख्न तथा संक्रमितको उपचार र बसाई ब्यबस्थापनमा सहयोग गर्नु हुने सम्पुर्ण जनप्रतिनीधिहरु, स्वास्थ्य कर्मीहरु, कर्मचारी, राजनीति कर्मीहरु, शिक्षकहरु, सुरक्षा कर्मी, बुद्धिजिबी, समाजसेबीहरु, देश विदेशबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव प्रति हार्दिक धन्यबाद दिन चहान्छु।
आगामी आ.व. को बजेट तर्जुमा गर्दा नेपालको संविधान, स्थानिय सरकार संचालन ऐन, पन्धौं पञ्चवर्षिय योजना, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, बडिगाड गाउँपालिकाको आवधिक योजना, सरोकारवालाहरुको सुझावहरुलाई केन्द्रति गरेको छु । हाल सम्मको प्रयासले प्राप्त भएको उपलब्धिहरुलाई संस्थात हुने गरी बजेट ब्यबस्था गरेको छु।
अव म चालु आ.व. ०७७/०७८ को समिक्षा गर्न चहान्छु ।
यस आ.व.मा उपभोक्ता समितिबाट संचालनमा रेहेको कतिपय ठुला योजनाहरु सम्पन्न भईसकेका छन भने निर्माणिधन योजनाहरु चालु आ.व.को अन्त्य सम्म सम्पन्न हुने आसा लिएको छु । ठेक्का बन्दोबस्तिबाट संचालन भएका गाउँपालिकाको प्रशासनिक भवन, ग्वालिचौर जलजला मोटर बाटो र केश पोखरी भ्यू टावरको निर्मण कार्यमा बिलम्व भएको भएता पनि कोभिड-19 रोगको कारण नेपाल सरकारले थपेको म्याद भित्र योजना सम्पन्न हुने आसा लिएको छु।
सभाको अध्यक्ष ज्यू तथा सदस्य ज्यूहरु,
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको कार्यान्वयनबाट निम्न उद्देश्य प्राप्ति हुनेछन्।
- यस आर्थिक वर्ष देखि गाउँपालिकाको कार्यालय र वडा कार्यालयको आफ्नै प्रशासनिक भवन हुनेछ जसबाट दैनिक प्रशासनिक कार्य संचालनमा सहजता आई सार्वजनिक सेवा प्रवाहमा सयोग पुग्ने छ।
- बिकासको पुर्वाधारहरुको बिस्तार र पहुँच बस्तीस्तर सम्म बृद्धि गरी बिकासको अवसरलाई सबै बडिगाड बासीहरुले उपयोग गर्ने अवस्था श्रृजना गर्ने।
- समाबेसी र समन्यायीक बिकासको अवधारणा मार्फत गाउँपालिका भित्रका सबै वर्ग, लिङ्ग, जातजाति, सम्प्रादायको सार्वजनिक श्रोत साधनमा पहँच अभिबृध्दि गर्ने।
- समाजमा विद्यमान समाजिक कुरीति,बिसङ्गती तथा बिकृतिहरुको न्युनिकरण गर्ने।
- उत्पादनमुलक क्षेत्रमा ब्यबसायीकता र उद्मसिलता बिकास गरी आय आर्जन गर्ने र गरीवि न्युनिकरण गर्ने।
- रैथाने स्थानिय जातको कृषि उत्पादन र कृषि पाकेट क्षेत्रको संचालनबाट आय आर्जनमा बृद्धि भई गरीवि निवारणमा टेवा पुग्नेछ।
- स्वास्थ्य र सरसफाई तथा शुद्ध पिउने पानी सम्बन्धि चेतनाको स्तरोन्नति गरी स्वस्थ समाज निर्माण गर्ने।
- गाउँपालिका भित्र संचालन हुने बिभिन्न कार्यक्रम तथा आयोजनाहरुमा जनसहभागिता, पारदर्शिता , जवाफदेहिता र उत्तरदायीत्व बढाई सुशासनको प्रत्याभुति गराउने।
आदरणीय सभाध्यक्ष ज्यू,
अब म क्षेत्रगतरुपमा आगामी वर्षको बजेट तथा कार्यक्रम पेश गर्ने अनुमति चहान्छु।
आर्थिक बिकास
कृषि तथा पशु बिकासः
- खाद्यान्न उत्पादन बृद्धि तथा कृषि उपज भण्डारण सम्बन्धि कार्यक्रम संचालन गर्न रु. एकहत्तर लाख ब्यबस्था मिलएको छु।
- भौगोलिक अबस्थिति र वातावरण अनुसार ब्यबसायीक खेति तथा पशु पालनको लागि बजेट ब्यबस्था गरेको छु ।
- पशु आहारा मिसन, मासु मिसन कार्यक्रममा बजेट ब्यस्था मिलाएको छु।
- साना तथा गरीब किसानहरुलाई लक्षित गरी बाख्राको पाठी वितरण, करेसा बारी स्थापना, मिनि किट वितरणमा बजेटको ब्यबस्था मिलाएको छु।
- मध्यम स्तरीय प्रविधि युक्त फलफुल नर्सरी स्थापनाका लागि बजेट ब्यबस्था मिलाएको छु।
- राष्ट्रिय तथा स्थानिय महत्वको खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली बस्तुको साना ब्यबसायीक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम संचालन गर्न बजेटको ब्यबस्था मिलाएको छु।
- उपयुक्त भौगोलिक तथा वातावरणीय सम्भाब्यता भएको स्थानमा आलु पकेट कार्यक्रम, स्थानिय रैथाने जातको बाली प्रबर्द्धन कार्यक्रम, ब्यबसायीक पशुपालन गर्ने कृषकलाई केहि अनुदान दिने, बंगुर साना ब्यबसायीक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रमको लागि बजेटको ब्यबस्था मिलाएकोछु।
- एक वडा एक कृषि/ पशु प्राविधिक ब्यस्था गर्न बजेटको ब्यबस्था मिलाएको छु। यस वर्ष कृषि/ पशु प्रविधिक नपुगेको वडामा क्रमस ब्यबस्था मिलाईनेछ।
- सहकारीः
- बडिगाड गाउँपालिकामा संचालित सहकारी संस्थाहरुको ब्यबसायीक क्षमता बिकासको लागि सहकारी प्रबर्द्धन कार्यक्रम संचालन, सहकारी शिक्षा सम्बन्धि तालिमको ब्यबस्था गरीनेछ।
- उद्योग तथा वाणिज्यः
- घरेलु उद्योग स्थापना तथा संचालनको लागि आवश्यक पहल गरीनेछ। परम्परागत घरेलु उद्योगलाई निरन्तरता दिन बजेटको ब्यबस्था मिलाएको छु।
- प्रतिस्पर्धामा छनौट भएका ब्यबासाय बिकास सेवा प्रदायक संस्थाहरु मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी श्रृजना गर्ने, उद्यमीहरुको स्तर उन्नति गर्ने, अति गरीव परिवारको लागि कम्तिमा १० जनाको लागि हुने गरी साझा सुबिधा केन्द्र स्थापना र सम्भाब्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा बृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गर्ने कार्यको लागि बजेटको ब्यबस्था मिलाई कार्यक्रमलाई निरन्तरा दिएको छु।
समाजिक बिकास
आधारभुत तथा माध्यमिक शिक्षाः
- बालबिकास केन्द्र र विद्यालय कर्मचारीहरुको लागि नेपाल सरकारको नीति अनुसार थप तलबको ब्यस्था मिलाईएको छ।
- सामुदायीक विद्यालयहरुको शैक्षिक, भौतिक पुर्बाधार निर्माण, मर्मत सम्भार र ब्यबस्थापनमा जोड दिईनेछ।
- बडिगाड गाउँपालिकाको आफ्नै स्थानिय पाठ्यक्र तयार गर्ने ब्यबस्था मिलाएको छु।
- तोकिएको लक्षित वर्गका छात्र छात्राहरुको लागि गुणस्तरीय दिवा खाजाको ब्यबस्था गरीनेछ ।
- विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारीत प्रोत्साहन अनुदानको ब्यबस्था मिलाईनेछ।
- शैक्षिक पहुँच सुनिस्चिस्तता, अनौपचारिक तथा बैकल्पिक शिक्षा कार्यक्रम संचालन गरीनेछ।
- कक्षा ६-१२मा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याडको ब्यबस्था तथा आवाशिय एवं गैरआवाशिय विद्यार्थिहरुको लागि छात्राबृत्तिको ब्यबस्था मिलाईनेछ।
- आधारभुत तहको परीक्षा लाई मर्यादित बनाउन परीक्षा संचालन, अनुगमन कार्यलाई ब्यबस्थित बनाईनेछ।
गैर सरकारी संघ संस्था परिचालन तथा समन्वयः
- बडिगाड गाउँपालिका भित्र काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरु सँग सहकार्यमा कार्यक्रम संचालन गर्ने, कार्यक्रम संचालन गर्ने सँघ सँस्थाहरुले अनिवार्यरुपमा गाउँपालिकामा कार्यक्रम पेश गरी स्वीकृति लिने र कार्य सम्पन्न भए पछि कार्य सम्पादन प्रतिबेदन पेश गर्नु पर्ने ब्यबस्था गरीनेछ। गाउँपालिका सँग लागत साझेदारीमा काम गर्न चहाने गैर सरकारी संस्थाहरु सँग लागत साझेदारीको लागी रकमको ब्यास्था मिलाएको छु।
आधारभुत स्वास्थ्य र सरसफाईः
- “नमुना स्वास्थ गाउँपालिका“ निर्माणको लागि रु. एक करोड छैसठ्ठी लाख बजेटको ब्यबस्था मिलाएको छु।
- दस वटै वडामा संचालित स्वास्थ्य संस्थाहरुलाई ब्यबस्थितरुपमा संचालन , मातृमृत्युदर,नवजात शिशु मृत्युदर, बालमृत्यु दर घटाई औषत आयु बढाउन स्वास्थ्य सेवाका आयामहरु प्रतिकारात्मक सेवा, प्रबर्दधनात्मक सेवा, उपचारात्मक सेवा, पुनर्स्थापनात्मक सेवाहरुलाई समेटेर स्वास्थ्य कार्यक्रम संचालनको लागि बजेट ब्यबस्था मिलाईएको छ।
- बाह्य खोप केन्द्रबाट संचालन गरीने खोप सेवालाई गुणस्तरीय बनाउन बाह्य खोप केन्द्रलाई ब्यबस्थित गर्न र बडिगाड गाउँपालिकामा ब्यापकरुपमा फैलिएको क्षयरोग नियन्त्रणको लागि बिशेष कार्यक्रम संचालन गर्न बजेटको ब्यबस्था मिलाईएको छ।
- बडिगाड गाउँपालिकाको पोषणको अवस्था कमजोर रहेकोले पोषण तथा खाद्य सुरक्षा कार्यक्रम संचालन गर्न रकमको ब्यबस्था मिलाएको छु।
लैङ्गिक समानता तथा समाजिक समाबेसीकरणः
- महिला, बालबालिका, अपाङ्गता भएको ब्याक्ति, जेष्ठ नागरीक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको आय आर्जनको क्रियाकलाप संचालन गर्न, तथ्याङ्क संकलन तथा अद्याबाधिक गर्न, समाजमा रहेको कुरीति, बिकृति, बिसंगति, लागू औषध दुर्ब्यसनी, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखान तथा ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम संचालन गर्न बजेटको ब्यबस्था गरीएको छ।
समाजिक सुरक्षाः
- सामाजिक सुरक्षा सूचना ब्यबस्थापन प्रणालीलाई ब्यबस्थित गर्ने बजेटको ब्यबस्था मिलाएको छु।
युवा , रोजगार तथा गरीवि निवारणः
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विपन्न श्रमिकहरुको लागि रोजगारीको ब्यबस्था मिलाउन बजेटको ब्यबस्था मिलाएको छु।
- रोजगार सेवा केन्द्र सुदृढीकरण र थप ब्यबस्थित बनाउन बजेटको प्रबन्ध मिलएको छु।
पुर्वाधार तथा भौतिक निर्माण
उर्जा, साना जलविद्युत तथा बैकल्पिक उर्जाः
- सौर्य उर्जा, बायोग्यास र बायोमास जडान सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिन बजेटको ब्यबस्था मिलाएको छु।
सडक, भवन, खानेपानी तथा शहरी बिकाशः
- नेपाल सरकारले संचालनमा लिएको सुरक्षित नागरीक आवास कार्यक्रमले समेत्न नसकेको घर परिवारहरुको लागि “बडिगाड गाउँपालिका सुरक्षित नागरीक आवास“ कार्यक्रम संचलनको लागि रु. दुई करोड पच्चिस लाख विनियोजन गरेको छु।
- बडिगाड गाउँपालिकाको मुख्य बस्तीहरुलाई जोड्ने सडकहरुलाई मर्मत गरी नियमित संचालनको लागि बजेटको ब्यबस्था मिलाएको छु।
- सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई न्युनिकरण गरीनेछ। ट्रयाक खोल्ने कार्य सुरु गरी हाल सम्म सम्पन्न नभएको मोटर बाटोहरुलाई बजेटको ब्यबस्था मिलाएको छु।
- गाउँ कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माणको लागि बजेटको प्रबन्ध गरेको छु। हाल निर्माणाधिन वडा कार्यालयहरुको निर्माण कार्य सम्पन्न गर्न रु. दुई करोड पचास लाख बजेटको ब्यबस्था मिलाएको छु।
- नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को सहयोगमा बाडिगड गाउँपालिका वडा नं.3,७,८ र ९ मा खानेपानी योजना संचालन गरीनेछ।
- संघिय सरकार, प्रदेश सरकार र बिभिन्न संघ संस्थाहरुको सहलगानीमा योजना संचालनको लागि समपुरक कोषको ब्यबस्था मिलाएको छु।
संस्थागत बिकास , सेवा प्रवाह र सुशासन
संस्थगत क्षमता बिकासः
- जनप्रतिनीधि तथा कार्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिमको ब्यबस्था मिलाएको छु।
- ब्याक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा ब्यबस्थापन सूचना प्रणालिलाई ब्यबस्थित गर्ने ब्यबस्था मिलाएको छु।
- रोजगार सेवा केन्द्रलाई थप ब्यबस्थित गरीने छ।
राजस्व परिचालन, श्रोत अभिबृद्धि र ब्यबस्थापनः
- राजस्व संकलन कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयनका साथै राजस्व सम्बन्धि नीति कार्यक्रम तर्जुमा गरीने छ। करको दायरा केहि बृद्धि गरीएको छ।
वित्तिय व्यबस्थापन/ वित्तिय जोखिम न्युनीकरण तथा पार्दशिता र सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षणः
- भ्रष्टाचार सुन्य सहन शिलताको नीति अवलम्बन गरीएकोछ। वित्तिय ब्यबस्थापनलाई पारदर्शि बनाईनेछ।उपभोक्ता समिति / सँघ संस्था/ ठेकेदारबाट हुने कामको साथै गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट संचालन हुने काममा वित्तिय जोखिम न्युनिकरण गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षणको ब्यबस्था मिलाईएको छ।
सभाध्यक्ष एवं सदस्य ज्यूहरु
अव म वार्षिक वजेटको विवरण पेश गर्ने अनुमति चहान्छु।
बाडिगाड गाउँपालिकाको नीति कार्यक्रमलाई सफल कार्यान्वयनको लागि आगामी आर्थिक वर्ष २०७८/०७९ मा आय तर्फ आन्तरीक राजस्व बाट रु.1,35,00,000/-, नेपाल सरकारको राजस्व बाँडफाँडबाट रु.9,07,99,000/, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु.66,30,000/-, नगद मौज्दातबाट रु.4,50,00,000/-, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सँघीय सरकारको वित्तीय सम्मानीकरण अनुदान रु.11,78,00,000/-, प्रदेश सारकारबाट प्राप्त हुने वित्तीय सम्मानीकरण अनुदान रु.1,35,96,000/-, सँघीय सरकारको ससर्त अनुदान रु.29,26,00,000/-, संघिय सरकारबाट प्राप्त हुने विशेष अनुदान रु.2,37,00,000/, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. 60,00,000/-, संघिय सरकारबाट प्राप्त हुने समपुरक कोषको रकम रु. 65,00,000/-, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक कोष रु. 40,00,000/- गरी कुल जम्मा रु.62,01,25,000/- आय प्रस्ताव गरेको छु। यसै गरी ब्यय तर्फ चालु खर्च तर्फ रु.10,83,00,000/-, ससर्त तर्फ रु.29,26,00,000/- ,पुँजिगत खर्च तर्फ रु.21,92,25,000/- गरी जम्मा रु.62,01,25,000/ खर्च प्रस्ताव पेश गरेको छु। जसको विस्तृत विवरण अनुसूचिमा ब्यबस्था गरी संलग्न गरेको छु।
आर्थिक वर्ष २०७६/७७ को यथार्थ आम्दानी खर्च विवरण, आ.व. २०७७/०७८ संसोधित अनुमान र २०७८ जेष्ठ महिना सम्मको यथार्थ आम्दानी खर्च विवरण, आ.व.२०७८/०७९ को अनुमानित अम्दानी खर्च विवरणको साथै मध्यकालिन खर्च संरचनाको विवरण, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ यसै साथ संलग्न गरी पेश गरेको छु।
गाउँपालिकाको बजेट तयारीको विभिन्न चरणमा मार्गनिर्देशन गर्नु हुने गाउँपालिकाको अध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, कार्यपालिकाको सदस्य ज्यूहरु, गाउँ सभाको सदस्य ज्यूहरु, विषयगत समितिको संयोजक तथा सदस्य ज्यूहरु, कर्मचारीहरु प्रति हार्दिक आभार ब्याक्त गर्न चहान्छु।
अन्तमा बजेट कार्यान्वयनमा सबैबाट रचनात्मक सहयोग हुने विश्वास लिंदै बजेट कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा सहित बिदा हुने अनुमति चहान्छु
धन्यबाद
जय बडिगाड





