शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोला गाउँपालिकाको आ.व.२०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठेखोला गाउँपालिकाको आ.व.२०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)


  • ढोरपाटन सम्वाददाता
  • असार ११ २०७८, शुक्रबार

बागलुङ, ११ असार – काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले बिहिबार गाउँपालिकाको नवौं गाउँसभामा प्रस्तुत गरेरपारित भएको नीति तथा कार्यक्रमको पूर्ण पाठ ।

गाउँसभा सदस्यहरु
१.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को माहामारीले सृजना गरेको हाम्रो जीवनकालकै चुनौतिपुर्ण परिस्थितीको सामना गर्दै माहामारीका विरुद्ध, गाँउपालिका आफनो सम्पुर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको यस कठिन घडिमा हामी नवौ गाउँसभा मार्फत आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौ । प्रस्तुत नीति तथा कार्यक्रम कोभिड १९ बाट प्रभावित गाँउपालिका वासीको जीवन रक्षा र यसले हाम्रो अर्थतन्त्रमा पारेका असरलाई चलायमान गराउने मुल लक्ष्य लिएको छ । काठेखोला गाउँपालिकाको नवौ गाउँ सभामा उपस्थित सम्पुर्ण गाउँसभा सदस्य ज्यूहरुमा हार्दिक अभिवादन संगै स्वागत गर्दछु । युग परिवर्तनका खातिर आफ्नो प्राण आहुति गर्नु हुने ज्ञात अज्ञात महान शहिदहरु प्रति उच्च सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै कोरोना भाइरसका कारण हाम्रो गाउँपालिकामा १० जना ब्यक्तिहरुको अकल्पनिय दुखद निधन भएको छ, मृतकहरु प्रति भावपुर्ण श्रदाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु । साथै कोभिड १९ बाट संक्रमित हुनुभई हपिटलकोही होमक्वारेन्टाईनमा उपचारत हुनुहुन्छ, वहाहरु सबैकोे सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
२.सिंगो देश लोकतान्त्रीक गणतन्त्र नेपालको नविनतम अवधारणा सहित समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै समृद्धि र रुपान्तरणको महान अभियानमा रहदा हामी पनि त्यही अभियानमा अभ्यासरत छौ । जनताबाट निर्वाचित हामी जनप्रतिनिधिहरु जनताको सेवा, शुसासन र विकासलाई प्राथमिकताको पहिलो सुचिमा राखी जनताको दुख पीर र अप्ठ्यारोमा साथ दिदै आफ्नो गाउँपालिकाको विकास र समृद्धिको अभियानमा जुटिरहेका बेला काोभिड १९ को संक्रमणबाट हामी पनि अछुतो रहन सकेनौ । कोभिड १९ बाट आफ्नो ज्यान गुमाउने दिदिवहिनी तथा दाजुभाईहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यतm गर्दछु । स्वदेश तथा विदेशमा संक्रमीत हुने दिदीवहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
३. यतिवेला हामी हाम्रा नागरिकहरुलाई कोभिड १९ को संक्रमणबाट कसरी बचाउने भन्ने निकै चुनौतिको बिषय बनेको छ । संक्रमणको दर झन भन्दा झन बढ्दै गहिरहेको छ । बिरामीहरु हस्पिटल तथा होमक्वारेन्टाइनमा छट्पटाईरहेका छन । भाईरसका नयाँ भेरियन्टहरु एकपछि अर्को गर्दै थपिदै गहिरहेका छन, जसको कारण मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गहिरहेको छ । मृतकहरुको शव ब्यवस्थापन गर्न , आफन्तहरुले शब जलाउन, आफ्नो संस्कार अनुसार दाहसंस्कार पनि गर्न नपाएको अवस्था छ । साच्चिकै हामी यतिवेला इतिहासकै कठिन र संगीन घडिमा आफ्नो जीवनको अग्नीपरिक्षा दिईरहेका छौ ।
४.कोरोना भाइरस कोभिड १९ को प्रवेश संगै यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनको सवालमा हामीले सुरु देखि नै अनेकौ प्रयासहरु गर्यौ । जनताहरुलाई सचेत गराउने सचेतना संगै प्रत्येक बिद्यालयहरुलाई क्वारेन्टाईनमा रुपान्तरण गरि देश बिदेशबाट आएका आशंकित ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुद्धारा नियमित रेखदेख गर्यौ । उनिहरुको आरडिटी, पिसिआर लगायतका परिक्षण गरि संक्रमितहरुलाई आईसुलेशनमा राखी उपचार गर्यौ । कोभिड १९ को भयावह अवस्था बढदै जाँदा हाम्रो गाउँपालिका भित्रका देश तथा बिदेशमा रहेका नागरिकहरुलाई यातायातमा सहजता प्रदान गर्न छुट्टै गाडीको ब्यवस्था, संक्रमितहरुलाई अस्पताल सम्म लैजान एम्वुलेन्सको ब्यवस्था, स्वास्थ्य उपचारका लागि १० बेडको अस्थाई अस्पतालको निर्माण, आवस्यक औषधी लगायतका स्वास्थ्य सामाग्री, उपकरणको ब्यवस्थापन र थप स्वास्थ्यकर्मीहरुको ब्यवस्था समेत गर्यौ । बन्दाबन्दीको अवस्थामा हाम्रा बिपन्न नागरिकहरुलाई राहत होस भन्ने उदेश्यले खाद्यान्न बितरण, क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुका लागि निशुल्क मेश ब्यवस्थापन लगायतका कार्यहरु पनि नियमित सञ्चालन गर्यौ । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको हौसला र आत्मबल बृद्धि गर्न जनप्रतिनिधि एवम स्वास्थ्यकर्मीहरुको नियमित अनुगमन, भेटघाट कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढायौ । हाम्रा वार्ड स्तरीय स्वास्थ्यचौकी मार्फत हुने सेवालाई चौविसै घन्टा खुल्ला राखि स्वास्थ्य सेवा प्रवाह संगै नियमित परमर्श कार्यलाई उत्तिकै प्राथमिकता साथ अगाडि बढायौ । यसरी कोभिड १९ संक्रमणलाई रोकथाम, नियन्त्रण र ब्यवस्थापनको सवालमा सुरुवातीकाल देखि नै अनवरत रुपमा सहयोग पुराउनुहुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनैतिक दल, कर्मचारी, सञ्चार जगत लगायत स्थानिय बिभिन्न संघ संस्थाहरु प्रति हार्दिक आभार एवम कृतज्ञता ब्यक्त गर्दछु ।
गाउँसभा सदस्यहरु
५. हामी जनअनुमोदित भएको पनि ४ वर्ष पुगिसकेको छ । यो विचमा हामीले यस पालिकामा ४ वटा बजेट प्रस्तुत गरि सकेका छौ । नयाँ ब्यवस्था, नयाँ संमरचना, सिमित श्रोत र असिमित जनआकांक्षाहरुको बिचमा सेवा र शुसासन प्रवाह गर्दै तिब्र विकासको कार्यलाई अगाडि बढाउनु निकै चुनौतिको बिषय रहेको थीयो । विबिध बाधा, ब्यवधान र चुनौतिहरुको बिचमा जनताको साथ, न्यानो माया, बिकास प्रतिको मोह, परिवर्तन प्रतिको लहर र रुपान्तरण प्रतिको अतृप्त चाहना र जनताहरुकै साथ सहयोगका कारण हामीहरु लक्षको नजिक पुग्न सफल भएका छौ । यो ४ बर्षको कार्यकाललाई हामी समृद्धि र रुपान्तरणको ईतिहास रच्ने आधार बर्षको रुपमा लिएका छौ । हामी यो अवधिमा आइ पुग्दा सीमित श्रोत र साधनका बावजुद पनि जनताका आधारभुत आवश्यकतालाई सम्वोधन गर्न सकेकाछौ । ४ वर्ष अगाडिको काठेखोला र अहिलेको हेर्ने हो भने शतप्रतिशत परिवर्तन नभए पनि परिवर्तनको आभाष दिन खोजेका छौ । धेरैले देखिने खालका मुर्त योजनाको खोजि गरिरहदा हामी भने तिनै योजनाहरुमा जनता र समाजको परिवर्तन र रुपान्तरण खोजिरहेका थियौ र छौ । हामी हाम्रो सेवामा सरल र सहजतासंगै प्रविधिमैत्री खोजिरहेका थियौ । स्थानिय सरकार र जनता बिचको सामिप्यता खोजिरहेका छौ । आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको खुल्ला बाटो खोजिरहेका थियौ । अनि जनताको ओठमा मुस्कान र गाउँको विकासमा पुर्णता खोजिरहेका छौ । हाम्रो कार्यारम्भ देखि हाल सम्म आईपुग्दा परिवर्तनको अनुभुति संगै स्थानिय सरकारको अनुभुति दिन सकेकाछौ ।
६.चालु आ.व. मा हामीले गाउँ सभा बाट रकम विनियोजन गरिरहदा आर्थिक विकासमा कुल बजेटको १२ प्रतिशत, सामाजिक विकास १२ प्रतिशत, पूर्वाधार विकासमा २५ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ३, संस्थागत विकास तथा शुसाशनमा ३, गौरव र पहिचानका योजनामा २८ प्रतिशत, मर्मत संभारमा ५ र अन्य भौतिक पूर्वाधारमा ९ प्रतिशत रकम विनियोजन गरेका थियौ भने हामी करिव ९५ प्रतिशत प्रगति हासिल गर्न सफल भएका छौ ।
७. यस अलवा संघिय सरकार र गण्डकी प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानबाट आएका योजनाहरु पनि संचालीत अवस्था रहेका छन जस्तैः लेखानी कादेश जोडने झोलुंगे पुल , रेशको खानेपानी योजना , धम्जाको खानेपानी योजना, वडा नं ७ मा संचालन भएको मुख्य मन्त्रि वातावरण मैत्रि कृषि कार्यक्रम , अक्षेते सुल्डाडा हुदै लेखानी जोडने मोटरवाटो, राहाले धुम्ती डुडीया तंग्राम हुदै धम्जा जोडने मोटरवाटो । रेशको जिरेदि एक्लेखेत मोटरेवलपुल र लामावगर मोटरेवल पुलको काम तिव्र गतिमा अगाडि गएको छ । यसै गरि अछेते वजार देखि भीमापोखरा सडक खण्ड र जलजला जिरेदि हुदै रेश वौर सडक खण्डको काम पनि अगाडि बढेको छ । त्यसै गरि मदन भण्डारी पद मार्गको काम सम्पन्न गरिएको छ । वडानं ७ मा २ वटा र वडान २ मा १ वटा गरि ३ वटा र वडा नं. ४ मा १ वटा सिचाई योजना संचालीत अवस्थामा रहेका छन । वडा नं ६ को एक घर, एक धारा खानेपानि योजना र वडा न.२ को स्वास्थ्य चौकिको भवन पनि संघिय सरकारको विशेष अनुदानमा संचालीत अवस्थामा रहेको जानाकारी गराउदछु । त्यसै गरि वडा नं ५ र ६ को वडा कार्यालय भवन निर्माणको काम थालनी गरिएको छ भने वाड नं ७ को वडा कार्यालयको तला थप गर्ने कार्य पनि संचालनमा रहेको जानाकारी गराउदछु ।
८. गाउँपालिकाद्धारा शर्सतमा आएका योजनाहरु पनि पुर्ण संचालीत अवस्थामा रहेको छ । शिक्षा , स्वास्थ्य , कृषि, पशु र आर्युवेदिकका कार्यक्रमहरु पनि क्रमिक रुपमा अगाडि गएको अवगत गराउदछु । बिद्यालय सघन अनुगमन कार्य निकै प्रभावकारी हुदाहुदै पनि हामीले कोभिड १९ को कारण यस बर्षको सघन अनुगमन कार्यक्रमलाई निरन्तरता दिन सकेनौ । स्वास्थ्य कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रमलाई निकै प्रभावकारीता सहित सञ्चालनमा आएको छ । गत वर्ष देखि नै सञ्चालनमा आएको रेश र लेखानी स्वास्थ्य चौकिमा ल्याव सेवा सञ्चालनको प्रभावकारीता मूल्यांकन गरि अन्य स्वास्थ्य चौकिमा पनि विस्तार गरिने लक्ष्य लिइएको छ । यस गाउँपालिका भित्रका स्वास्थ्य चौकि सवैमा वर्थिङ सेन्टर संचालनमा आइसकेको छ भने यसलाई थप प्रभावकारी रुपमा संचालन गर्नका लागि पक्की स्वास्थ्यचौकि भवन नभएका स्थानमा भवन वनाउनका लागि पहल गरिएको छ भने स्वास्थ्य चौकिको स्तरउन्नत्तिका लागि पनि यस वर्ष पहल गरिएको छ ।
हामी किसान परिवारबाट आएका जनप्रतिनीधि हामीले अगाल्दैं आएको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्ने, पशु व्यवसायमा लागेका किसानहरुका पशु वस्तुमा नश्ल सुधार गर्न जरुरी रहेको छ । गण्डकी प्रदेशबाट यस पालिकाको वडा नं ७ मा संचालनमा आएको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ परियोजना अव हामीले परिणाममुखि गराउनु पर्दछ । वडा नं. ३ मा आलु पकेट र वडा नं. ६ मा सुन्तलाको हव्स वनाउने हिसावले कार्यक्रम अगाडि वढाइएको छ भने वडा नं.४ तंग्राममा सञ्चालित अलैची पकेट कार्यक्रम पनि सञ्चालनमा रहेको छ । हामीले अनुदानका कार्यक्रमहरु संचालन गर्दै गर्दा कतै हामी परनिर्भरता तर्फ उन्मुख त भएका छैनौ ? अव सोच्ने बेला आएको छ । पुर्णरुपमा अनुदानको आशामा भन्दा पनि व्यवसाहिक बन्नका लागि किसानको सहभागिता अनिवार्य र महत्वपुर्ण हुने भएकोले हामीहरुले यसमा शुष्मढंगबाट अध्ययन गर्नु पर्नेछ ।
९. गाउँपालिका भित्रका खेलाडी एवम कलाकारहरुको प्रतिभाहरुलाई विकास गर्ने अभिप्रायले गठित कला, संस्कृति तथा खेलकुद विकास समिति मार्फत खेलकुद र कला संस्कृतिका कार्यक्रमहरुलाई नियमित सञ्चालन गरिएको छ । कार्यक्रम प्रस्तावना सहित तिथिमिति तय भएपनि यस बर्ष कोभिड १९ को कारण दोश्रो अध्यक्षकप भलिबल एवम सांगितिक प्रतियोगिता सञ्चालन गर्न सकेनौ । यस बर्ष मुख्यमन्त्री कप भलिबल छनौट प्रतियोगितामा खेलाडी सहभागी गराउने काम, बिभिन्न रियालिटी सो कार्यक्रममा कलाकारहरुलाई सहभागी गराउने काम सम्पन्न गरिएको छ । यसै गरि गत वर्ष देखि नै सुरुवाट गरेको राष्ट्रपति रनिङ शिल्ड प्रत्योगितामा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट खेलाडि छनौट गरि जिल्लामा पठाउने काम गरिएको छ ।
गाउँसभा सदस्यज्यूहरु
१०. हामी निर्वाचित भएको पनि ४ वर्ष वितेको छ । यो विचमा हामी सवैको प्रयासले हामीले संचालन गरेका योजनाहरुले आकार ग्रहण गर्न थालेका छन भने केहि योजनाहरुले प्रतिफल दिन थालि सकेका छन । अझै यसलाई व्यवस्थीत र प्रभावकारी वनाउन तर्फ हाम्रो ध्यान जान जरुरी रहेको छ । पूर्वाधार त्यसमा पनि ग्रामिण सडकका हिसावले हाम्रो गाउँपालिकालाई हेर्ने हो भने वार्ड कार्यालय जोडने पक्की सडकको स्तरउन्नती गर्दै कालो पत्रे हुने अवस्थामा रहेका छन । यस आ.व. सम्म वडा नं १ मा ३२० मी, वडा नं. २ मा ७०० मी,वडा नं ३ मा १९१ मी, वडा नं ४ मा १२५ मी, वडा नं. ७ मा ९० मी र वडा नं. ८ मा १२० मीटर गरि १५४६ मीटर ढलान गरिएको छ भने गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरि ५५०० मीटर कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ र आगामि आ.व. मा करिव ५ कि.मि. सडक कालोपत्रे गर्ने काम सम्पन्न गरिनेछ साथै गाउँपालिकाको कार्यालय जोड्ने गरि एकपाता, दोभिल्ला, सुल्डाँडा हुदै अक्षेत्ते जोड्ने सडकलाई यस अघि प्रदेश सरकारबाट कार्यन्वयन हुने गरि अगाडि बढाईएकोमा उक्त सडक निर्माणका लागि आवस्यक पहल कदम गरिएको छ ।
११.हामी जिल्ला सदरमुकाम देखि अत्यन्तै नजिक र यातयातका हिसावले कच्चि भए पनि पहुचमा रहेका छौ । वदलिदो परिवेश अनुसार हाम्रो गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई अव पनि हामी यहि सोच र परम्परावादी चिन्तनबाट संचालन गर्न थाल्यौ भने प्राय अधिकांश विद्यालय वन्द हुने अवस्थामा रहेका छन । त्यस कारण गाउँपालिकाले विनियोजन गर्ने बजेटबाट विशेष ध्यान दिनु पर्नेछ भने यहि आ.व.बाट विभिन्न दातृ निकायसंग समन्वय गरि गुणस्तरिय शिक्षाका लागि कार्यक्रम संचालनमा ल्याइने छ ।
१२.कोभिड १९ ले सृजना गरेको यस विषम परिस्थितीका बावजुद पनि प्रत्येक वर्ष हामीले विनियोजन गरेका योजनाको शुष्मढंगबाट स्वमूल्यांकन, आत्मसमिक्षा गर्न जरुरी छ । हाम्रो संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी संघीय, प्रादेशिक र स्थानीय सवै नै सरकारको दायित्व हो भने संघीयताको सफल कायान्वयन गर्दै स्थानीय तहबाट नै आर्थिक तथा सामाजिक रुपान्तरणको जग बसाउनु पर्ने आवश्यकता पनि हो । देशमा चलिरहेको अस्थीर राजनैतिक वातावरण भए पनि स्थानिय स्तरबाटै हामीहरुले स्थानिय तहमा कुशल नेतृत्वको विकास गर्दै सफल राजनैतिक जीवनको सिढी उक्लन पनि यो कोशेढुगां हुने हेक्का राख्नु पर्ने हुन्छ । अर्कातिर लोकतन्त्र प्रति जनआस्था बढाउने , अहिलेको राजनैतिक पद्धतिको विकल्प सोच्नु नपर्ने गरि नेपाली जनताले विद्यामान संघीय लोकतान्त्रीक प्रणालीलाई वलियो वनाउने एवं सवैले यसमा नै आफ्नो समृद्धिको आधार देख्न सक्ने तुल्याउने जिम्मेवारी अव स्थानीय सरकार संचालक हामीहरुकै हातमा छ । सदाचार , पारदर्शिता र कुशलताको जगमा स्थानीय विकासको नेतृत्व गर्न सक्दा मात्र देश र जनताको भविष्य सुनिश्चित हुने कुरा विदितै छ । त्यसैले स्थानीय सरकार संचालन गर्ने जिम्मेवारी पाएका हामीहरुका लागि यो अवसर परीक्षणको घडि पनि हो । दैनिक जसो मिडियाबाट आउने खवरले हामीलाई पनि अछुतो राखेको छैन । पारदर्शिताको नाममा अनेकौ वाहानावाजी गरेको केहि उदाहरण पनि रहेका छन । जनताले हामीहरुलाई नजिकबाट नियालिरहेका छन ,त्यसकारण अव हामी जनता सामु जानु पर्दा र्निधक्क भएर जान र सम्मान पाउने हिसाव लाग्नका लागि सवै जनप्रतिनिधिी र कर्मचारी मित्रहरुलाई अनुरोध गर्दछु ।
१३.यो विचमा हामीले काम गर्दै गर्दा विविध खालका कानुनी अड्चनहरु आइलागेका छन । विद्यामान राजनैतिक अस्थीरताका कारण संघिय सरकार र प्रदेश सरकारले समयमा नै ऐन कानुन निर्माण नसकेका कारण हामी गाउँपालिकाले आफुलाई चाहिने ऐन कानुन निर्माण गर्न सकेनौ र पनि हामीले गाउँपालिकाबाट दिने सेवा कहि कतै सेवाग्राहिलाई नअल्मलाइकन सेवा प्रदान गर्न सकेका छौ । गाउँपालिकाको आफनै आम्दानीको श्रोत कमजोर रहनु संघिय र प्रदेश सरकारको अनुदानमा संचालन गर्नु पर्ने बाध्यता हामीमा छ जसका कारण चाहेका योजना संचालन गर्न सकिरहेका छैनौ । आगामी दिनमा गाउँपालिकाको श्रोत पहिचान तर्फ ध्यान दिनु जरुरी रहन्छ संगै हामीले अगाडि सारेका योजनाहरु मार्फत आम नागरिकहरुलाई स्वरोजगार वनाई उत्पादनसंग जोडनु हाम्रो दायित्व रहनेछ ।
१४.कोभिड १९ को संक्रमण प्रारम्भ भए लगतै नेपाल सरकारले अवलम्वन गरेको रणनिति, कार्यशैली एव हामी सवैको एकता, धैर्यता र सहयोगले संक्रमणबाट वचाउन प्रयासरत छौ । हाल सम्म हाम्रो गाउँपालिकामा १ वटा अस्थाई कोभिड १९ अस्पताल सञ्चालनमा रहेको छ । हामीले हाल सम्म १२५१ जनाको पिशिआर परिक्षण गरिसकेका छौ । परिक्षण रिपोर्ट अनुसार ४८५ जना कोभिड संक्रमित हुनु भएको थियो भने ४३१ निको हुनु भएको छ । जिवन रक्षाका लागि प्रयत्न गर्दा गर्दै पनि १० जना ब्यक्तिहरुको कोभिड १९ का कारण मृत्यु भएकोछ । कोभिड १९ को संक्रमणबाट जोगिन जोगाउनका लागि हाम्रो पालीका भित्र १७४७ जनालाई खोप लगाईएको समेत जानाकारी गराउदछु । आगामी दिनमा थप फैलिन नदिन अझ बढि सतर्कता र एकता आवश्यक भएकोले स्वास्थ्यकर्मि, सरक्षाकर्मि, कर्मचारी, जनप्रतिनीधि, राजनैतिक दल, संचारजगत साथै आमनागरिक दृढताका साथ लाग्न म सवैमा आह्वान गर्दछु ।
१५. कोभीड १९ को रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुराउने संघ ,प्रदेश, स्थानिय तहका जनप्रतिनीधि, राजनैतिक दल, सहकारी तथा विभिन्न सामाजिक संघ संस्था ,निजी तथा व्यावसाहिक क्षेत्र,राष्ट्रसेवक शिक्षक कर्मचारी, संचारजगत ,स्वदेश तथा विदेशबाट सहयोग पुराउनुहुने सम्पुर्ण महानुभावहरु सवै प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।
गाउँसभा सदस्य ज्यूहरु
अव म आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रममा प्रवेश गर्न चाहान्छु ।
१६. कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापनका लागि स्वास्थ्यकर्मि तथा जनशक्तिहरुलाई सुरक्षा सामाग्रीको अभाव हुन नदिइ ब्यवस्थापनमा उचित ध्यान पुराईने छ । संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरुका लागि क्वारेन्टाइनको व्यवस्थापन, रोकथाम र नियन्त्रणका लागि जनचेतना कार्यक्रम, यातायातका साधनको व्यवस्थापनमा कोरोना रोकथाम तथा ब्यवस्थापन कोषको परिचालन गरि मृतकका परिवारलाई राहत प्रदान गरिनेछ । कोभिड १९ को कारण परिबारका सदस्य गुमाएका विपन्न परिवारका वाल वालीकाहरुको अध्ययन अध्यापनका लागि पहिचान गरी गाउँपालिका अध्यक्ष गरीब तथा बिपन्न राहत कार्यक्रम लागु गरिनेछ । आर्थीक रुपले विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी श्रृजना गर्ने खालका आयोजना तथा कार्यक्रमहरु छनौटमा प्राथमिकता दिई कार्यान्वयनमा ल्याइनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत जोडेर संचालन गरिनेछ ।
१७. विषम परिस्थितीका बाबजुद पनि गाउँपालिका भित्र विभिन्न किसीमका पूर्वाधार विकास कार्यक्रम संचालनमा आएका छन । चा.लु. आ.व.मा योजना संचलान गर्दा ५० प्रतिशत संरचनाको काम अनिवार्य गरिएकोमा यो काम अति नै प्रभावकारी भएकोले यसलाई थप प्रभावकारी र गुणस्तरिय वनाउदै संरचना वनाउने कार्यलाई ६० प्रतिशत पुुराइने छ । काठेखोला गाउँपालिकाको सबै वार्डमा सडक सञ्जाल पुगिसकेको र मुख्य सडकहरु गाउँपालिका केन्द्र देखि वडा कार्यालय सम्मका सडकहरुलाई थप स्तरोन्नती गर्दै आ.व.२०७८÷७९ बाट ग्रावेल, ढलान र कालो पत्रे जस्ता काम गर्नका लागि पहिलो प्राथमिकता दिईने छ भने नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिनेछ । काठेखोला गाउँपालिकाको एक्लेखेत र लामाबगरमा प्रदेश सरकार मार्फत मोटरेवल पुल निर्मााणको काम तिव्र गतिमा भए ता पनि केहि प्राविधीक कठिनाईका वावजुद चालु आ.व.मा सम्पन्न हुन सकेन, यस बर्ष उक्त कार्यलाई सम्पन्न गर्न आवस्यक पहल गरिने छ । संघिय सरकार र प्रदेश सरकारबाट विशेष र समपुरक अनुदानबाट संचालन भएको योजना पनि कार्यान्वयन चरणमा गैसकेका र केहि काम सम्पन्न भैसकेका छन भने केहि कार्यान्वयन चरणमा रहेका छन जानाकारी गराउदै संवन्धित पक्ष संग समन्वय सहकार्य गरि सम्पन्न गर्न बिशेष पहल गरिने छ ।
१८.सडक निर्माण गर्दा पर्यावरणीय रुपबाट वातावरणमा प्रतिकुल असर पर्ने भएकोले हामीले सुरु देखि नै त्यस्तो कार्यलाई सकेसम्म निरुत्साहित गर्न प्रयत्न गरिरहेका छौ । आगामी आ.व.मा पनि गाउँपालिकाले अबलम्बन गरेको मार्गदर्शन बमोजिम स्थानिय श्रोत, जनशक्ति, साधन र जनसहभागिता परिचालनमा बिशेष जोड दिई रोजगारि सृजना गर्ने योजना संचालनमा ल्याइनेछ ।
१९.सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत चालु आ.व.मा ४४ जनाको खरको छाना विस्थापित गरिएको छ भने कार्यक्रमलाई निरन्तरता दिदै आ.व. २०७८÷०७९ मा गाउँपालिका भित्र बाकी रहेका १३० घरपरिवारको खरका छाना विस्थापित गरिने छ । गाउँपालिका भित्रका झोलुंगे पुल निर्माण कार्यक्रम संघ र प्रदेश सरकारसंग समन्वय गरि निरन्तरता दिइनेछ ।
२०.कोभिड १९ का बावजुद पनि बेरोजगार भएका नागरिकलाई र अन्य वेरोजगार युवाहरुलाई रोजगारिमा जोड्नका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी ढंगबाट संचालनमा आएको अवगत गराउदै, पालिका भित्रका सडक सम्रचना निर्माण, पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण जस्ता कार्यक्रम संचालन गरि रोजगारी सृजना गरिने छ । अधिकांश योजनाहरुमा मेशिन प्रयोगलाई कम प्राथमिकता दिई मानव श्रमलाई बढि भन्दा बढि प्रयोगमा ल्याइने छ र यस कार्यक्रमलाई आ.व. २०७८।०७९ मा पनि निरन्तरता दिइ प्रभावकारी ढंगले संचालनमा ल्याइने छ ।
२१. कोभिड १९ बाट बच्नका लागि आफु पनि बाचौ अरुलाई पनि वचाऔ, आफु पनि स्वस्थ रहौ अरुलाई स्वस्थ राखौ भन्नका खातिर शुद्ध खानेपानीको अति नै महत्व रहन्छ यसका लागि एक घर एक धाराको अवधारण अनुसार विगत आ.व. देखिनै खानेपानीका योजना संचालनमा आएका छन यस आ.व.देखि यो कार्यक्रम संचालनमा संघिय सरकार र प्रदेश सरकार दुवैमा विशेष पहल गरि संचालनमा ल्याइने छ भने मुहान संरक्षण, कुवा निर्माण, पोखरी निर्माणका कार्यक्रमलाई उच्च प्राथमिकता दिई आम नागरिकको सहज पहुचमा हुने गरि कार्यान्वयनमा ल्याइने छ । साथै हाल सञ्चालनमा रहेका खानेपानीको सुद्धता परिक्षण गर्ने कार्यलाई अगाडि बढाईनेछ ।
२२. शिक्षा विकासको मेरुदण्ड, समाज विकासको आधार स्तम्भ र आम नागरिकहरुको मौलिक हक हो । यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउनका लागि गाउँपालिका हरदम पहल कदमी गरि राखेको छ । गत आ.व. को शिकाईलाई अंगीकार गर्दै सफल अभ्यासहरुलाई यस वर्ष अझै प्रविधी मैत्रि ढंगबाट प्रयोगमा ल्याइनेछ र कार्यक्रमलाई निरन्तरता दिइनेछ । लकडाउनको समयमा पनि औपचारिक माध्यमबाट वार्षीक परिक्षा संचालनमा ल्याई सम्पन्न गरिएको छ । सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विभिन्न किसिमका छात्रवृति कोषको स्थापना गरिनेछ । गाउँपालिकाको एक मात्र प्राविधीकधार संचालन भएको भीमसेन मा.वि.मा सीभिल इन्जीनेरीङ अध्ययनका लागि छात्रवृतिको व्यवस्थालाई यस आ.ब.मा पनि निरन्तरता दिइनेछ भने पालिका भित्र रहेका दुईवटा क्याम्पसको भौतिक अवस्थालाई सुधार गर्न आवस्यक बिशेष ध्यान पुराइनेछ । गुणस्तरिय शिक्षालाई प्रभावकारी रुपमा संचालनमा ल्याउनका लागि यस आ.व देखि २९ वटा सामुदायिक विद्यालयमा अन्तराष्टिय गैरसरकारी संस्थाको साझेदारितामा संचालनमा ल्याइनेछ । वडा स्तरिय शिक्षा समितिलाई वढि कृयाशिल वनाई , अभिभावक शिक्षामा जोड दिइने छ । वाल विकासका सहयोगी, सामुदायिक विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीका लागि गाउँपालीकाले मासिक तलव भतmामा केहि थप गरि सेवा सुविधा उपलब्ध गराइनेछ । सरुवा तथा संक्रमण रोग विरुद्ध विद्यालयहरुमा सरसफाई सावुन पानीले हात धुने व्यवस्था, माक्स वितरण, अभिभावक सचेतिकरण अभियान गत आ.व.मा पनि संचालन गरिएको जानाकारी गराउदै यस बर्ष पनि परिस्थिति र आवस्यकताको आधारमा सञ्चालनमा ल्याइनेछ । भने शिक्षकहरुलाई शिक्षण सिकाइका लागि अभिमुखिकरण तथा क्षमता विकास जस्ता तालीमलाई निरन्तरता दिइने छ । नमुना तथा आर्दश विद्यालय तर्फ उन्मुख विद्यालयहरुलाई प्रोत्साहन गर्ने संघिय तथा प्रदेश सरकारमा आवस्यक पहल कदमी गरिनेछ ।
२३. कोभिड १९ को संक्रमणलाई प्रभावकारी ढंगले रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका भित्रका स्वास्थ्यचौकीको महत्वपुर्ण भुमिका रहेको छ । स्वास्थ्य क्षेत्रको प्रभावकारीता र यसको गुणस्तर वृद्धिका लागि आवस्यकताको पहिचान गरि ल्याव, वर्थिङ सेन्टर संचालन र पूर्वाधारका कार्यक्रम संचालन गरिनेछ । नवजात शिशु र गर्भवति महिलाहरुको स्वास्थ्यलाई बिशेष ध्यानमा राखी आमा सुरक्षा कार्यक्रम अन्तरगत सञ्चालन गरिरएको पोषणयुक्त खाद्य सामाग्री बितरण तथा यस आ.व.बाट बहुक्षेत्रिय पोषण कार्यक्रम प्रभावकारी ढंगबाट संचालनमा ल्याइनेछ । महिला स्वयमसेविका मोबाइल कार्यक्रम निकै प्रभावकारी रहेकोले उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइने छ भने महिला स्वयम सेविका तथा नीलो कार्ड प्राप्त अशक्तm, अपांगहरुलाई स्वास्थ्य विमा कार्यक्रममा जोडिने छ । साथै हरेक नागरिकहरुको पहुँचमा रहेका स्वास्थ्य स्वयमसेविकाहरुका लागि स्वास्थ्य स्वयमसेविका प्रोत्साहन कार्यक्रम पनि सञ्चालन ल्याइने छ । प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, एबम बाल तथा शिशु स्वास्थ्य लगायत सेवाको बारेमा जनचेतना अभिबृद्धि गर्ने खालका रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । मानव जीवनमा प्रत्यक्ष प्रभाव र अनुभुत हुने स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु सञ्चालनमा बिशेष जोड दिईनेछ । यस आ.व.बाट स्वास्थ्य चौकिको स्तरउन्नतीका लागि संघीय, प्रदेश तथा विभिन्न अन्तराष्टिय गैरसरकारी संस्थाहरुसंग समन्वय गरि संचालनमा ल्याइने छ भने यस गाउँपालिकाका करिव १४०५ जना वृद्धबद्धाहरुको निशूल्क स्वास्थ्य परिक्षणका लागि शिवीर संचालन गरिनेछ ।आर्युवेद, प्राकृतिक तथा अन्य बैकल्पीक चिकित्सा सेवालाई समय सापेक्ष प्रभावकारी वनाइनेछ ।
२४. कृषि तथा पशुपालन काठेखोला गाउँपालिकाको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्यामध्ये ७१.३ प्रतिशत जनसंख्याको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ । गाउँपालिकाको कुल जमिनको ४१.८८ प्रतिशत कृषिले ओगटेको छ । अव कृषि तथा पशुपालन व्यवसायमा जोडनु जरुरी छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने, पशु व्यवसायमा नस्ल सुधार जस्ता कार्यक्रमहरु संचालन गरि बेरोजगार तथा रोजगारी गुमाएकाहरुलाई कार्यक्रम मार्फत जोड्ने नीति लिइनेछ । एक घर , एक करेसावारीको अवधारण अनुरुप विउ विजनका मिनिकिट वितरण गरिने छ साथै केही दातृ निकायहरु संगको सहकार्य र समन्वयमा आ.व.२०७८÷०७९ मा साझेदारितामा आधारित कृषि तथा पशुपालन कार्यक्रम सञ्चालनमा ल्याईने छ । पालिकामा रहेको कृषि तथा पशु स्वास्थ्य शाखालाई थप व्यवस्थीत गरि प्रभावकारी सेवा प्रदान गरिनेछ । त्यसै गरि सामुदायिक वन मार्फत दिगो वन व्यवस्थापन, जलवायु परिर्वतन र यसले पारेको असरलाई न्युनिकरण गर्न अनुकुलन तथा जिविकोपार्जनमा सहयोग पुग्ने खालका कार्यक्रमहरु पनि साझेदारितामा सञ्चालन ल्याइनेछ ।
२५. कृषि क्षेत्रमा लगानीको जोखिम न्युनिकरण गर्न कृषिवालीको विमा र पशुपंक्षि विमा कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनमा ल्याइने छ ।
२६. हाम्रा नागरिकहरुलाई आर्थिक रुपमा सहजता र शसक्तिकृत गर्न गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको छ । सहकारी संस्थाका सञ्चालक एवम कर्मचारीहरुको क्षमता विकास गर्न आम नागरिकहरुलाई सहकारीमा आवद्ध गराई उत्पादनमा जोड्नका लागि सहकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । सहकारी संघ संस्थाको दैनिक कारोवारलाई प्रवीधिसंग जोडनका लागि अभिप्रेरीत गरिनेछ ।
२७.काठेखोला गाउंपालिकाको पर्यटन मूलतः कृषि, प्राकृतिक, सांस्कृतिक र धार्मिक, अवयवहरुमा आधारित रहने देखिन्छ । सबै प्रकारका पर्यटनलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको रुपमा
विकास गरिने छ । स्थानीय समुदायमा आधारित पर्यटनलाई बढावा दिई पर्यटनलाई जीविकोपार्जनसंग एकिकृत गरिने छ । ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई प्रर्वद्धन तथा धार्मीक पर्यटनलाई बढवा दिईने छ । होमस्टे ब्यवसायलाई अझै थप ब्यवस्थित गरिनेछ । होमस्टेहरुमा पर्यटकहरुको आगमनलाई ध्यानमा राखी पर्यटन प्रवद्र्धनका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ । गण्डकी प्रदेशको पर्यटन गन्तव्यको रुपमा शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएकोमा थप कार्यक्रम संचालनका लागि सरोकारवाला विच समन्वय गरिनेछ । साथै सम्भावना बोकेका बेलढुंगा, थाप्लेको धुरी, गाजाको धुरी र घोडाबाँधे लगायतका पर्यटकीय स्थानहरुको प्रर्वधनमा बिशेष जोड दिइनेछ ।

२८.घरेलु तथा साना उद्योगहरुलाई प्रर्वद्धन गरि स्थानिय उत्पादनलाई बिशेष जोड दिईने छ । हरेक ब्यक्तिलाई उद्यमशिलतासंग जोड्ने नीति लिई कार्यान्वयनमा जोड दिईने छ । पहिचान भएका ८० जना उद्यमीहरुका लागि सीपमुलक तालीम संचालन गरि साना उद्योग संचालनमा उत्प्रेरीत गरिनेछ । अशगाउँपालिकाको आन्तरिक राजस्व संकलन र बृद्धि गर्न करका दायरा फराकिलो गराउदै रचनात्मक ढंगबाट पहल गरिने छ । स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योगहरु सञ्चालनमा जोड दिईनेछ । साथै वडा नं.७ रेशलाई औधिोगिक ग्रामको रुपमा विकास गरिने छ भने यसको संघिय सरकार मार्फत बजेट तथा कार्यक्रम आईसकेको जानाकारी गराउदछु ।
२९.गाउँपालिका भित्र रहेका विभिन्न मेला, पर्व, महोत्सव, खेलकुद, स्थानिय कला र संस्कृति एवं परम्परालाई जोगाउन गाउँपालिका स्तरिय “कला, संस्कृति तथा खेलकुद विकास समिति ” लाई सक्रिय वनाई खेलकुद तथा साहित्य, कला, संस्कृति संरक्षण, संमद्र्धन एवम प्रवद्र्धनका लागि लोकभजन प्रतियोगिता, नृत्य प्रतियोगिता, नौमती बाजा प्रतियोगिता कार्यक्रमहरु संचालन गरिने छ साथै यस वर्ष ८ वटै वडाका पंचेवाजा कलाकारहरुलाई नौमति वाजा वितरण गरिएको समेत जानाकारी गराउदछु । यूवा उद्यमशीलता, यूवा प्रतिभा प्रवर्धन तथा सम्मान कार्यक्रम, एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम संचालनमा ल्याइनेछ ।
३०. समाजमा रहेका कुरुती, कुप्रथा, जातिय बिभेद, लैंगिक हिंसा मानव वेचविखन तथा ओसारपसार विरुद्ध सचेतनामुलक कार्यक्रम तथा अभियान संचालन गरिनेछ । महिलाको आर्थिक तथा सामाजिक ससक्तिकरण, लैंगीक मुलप्रवाहिकरण र लैगींक समानता कायम गर्ने नीति लिइनेछ । लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रममा जोड दिइनेछ । साथै बिपन्न घर परिवार, महिला, दलित समुदाय, जनजाती समुदायहरुका लागि आयआर्जनमा आधारित बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।
३१. हिंसा पीडित तथा अन्तरजातिय विवाहको कारण घर छोडन बाध्य व्यक्तिको उद्धार, संरक्षण, पारिवारिक पुर्नएकीकरण र पुर्नस्थपना गर्न स्थानिय वार्डमा रहेका सामाजिक संजाल र गैरसरकारी संस्थाहरुसंग समन्वय गरि कार्यक्रम संचालनका लागि उत्प्रेरित गरिनेछ ।
३२. फरक क्षमता भएका व्यक्ति प्रतिको हेर्ने दृष्टिकोणमा सकरात्मक परिर्वतन ल्याइ फरक क्षमता भएका व्यक्तिको संरक्षण तथा सशक्तीकरणका लागि सामुदायमा आधारीत पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिइ क्षमता अनुसार स्वरोजगारमुलक कार्यक्रमहरु संचालनमा ल्याइनेछ । साना तथा घरेलु उद्योग र व्यापार व्यवसायमा जोडिन चाहनेहरुका लागि गाउँपालिकाबाट लिइदै आएका करहरुमा छुटको व्यवस्था गरिनेछ ।
३३. सामाजिक बिभेद तथा भेदभाव विरुद्ध शुन्य सहनशिलताको नीति लिइनेछ । छुवाछुत तथा भेदभाव लगाएतका सवै प्रकारका सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गर्ने नीति लिइनेछ । परम्परागतरुपमा संचालनमा आएका पेशागत व्यवसायलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने नीति अबलम्बन गरिनेछ । गाउँपालिकालाई वाल विवाहमुक्त तथा वालमैत्रि स्थानिय तह वनाउन सवै सरोकारवाला निकायसंग समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
३४. गाउँपालिका भित्र रहेका किशोर किशोरीहरुलार्ई कुलतबाट टाडै राखी दुब्र्यसनीलाई न्युनिकरण गर्न र यसबाट वचाउन सुरक्षा निकायको संम्लग्नतामा कार्यक्रम संचालनमा ल्याइने छ ।
३५.यस काठेखोलाको समग्र जलाधार क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि सरोकारवाला निकायसंग समन्वय गरि स्थानिय जनताहरुमा प्राकृतिक प्रकोप र आईलाग्ने बिपत्तिमा सचेत, सजक र सोचनिय बनाउन, उद्धार गर्ने भावनाको विकास गराई यस बिषय प्रति संवेदनशील बनाई जलवायु परिर्वतन ,अनुकुलन र न्यूनिकरणका कार्यक्षेत्रमा लाग्न जलाधार संरक्षण तथा विपद ब्यवस्थापन कार्यक्रम संचालन गरिनेछ । प्राकृतिक बिपदबाट हुने क्षति तथा अफठ्यारोलाई तत्काल सहजता प्रदान गर्ने नीति लिई कार्यन्वयन गरिने छ ।
३६.गाउँपालिकामा रहेका सम्पुर्ण अभिलेखहरु डिजिटाइज भइसकेको जानाकारी गराउदै गाउँपालिकाको सम्पुर्ण जानकारी दिने गरी डिजिटल प्रोफाइल तयार भै सार्वजनिकीकरण गर्न कोभिड १९ का कारण मात्र वाकि रहेकोले यसलाई छिट्टै सार्वजनिक गरि अन्य गतिवीधिलाई वेभसाईट लगायत हरेक सुचना र प्रविधिजन्य कार्य मार्फत व्यवस्थित गरिनेछ । विकासको प्रतिफल साविकको गा.वि.स.सिमारेखालाई हेरेर भन्दा प्रत्येक घरधुरी र जनसंख्याले पाउने गरि योजना तर्जुमा गरिने छ । योजना तर्जुमा गर्दा जनसंख्या, भौगोलिक बिकटता, राज्वस्व, पुर्वाधार विकास, लागत मुल्य, दुर्गमता, सुगमता जस्ता कुराहरुलाई आधार मानिने छ ।
३७. गाउँपालिकाको हरेक गतिबिधिहरुलाई आम जनताको बिचमा पुराउने अभिप्रायले जिल्लाका विभिन्न संचार माध्यमहरुसंग सहकार्य गरि अझ प्रभावकारी रुपमा प्रकाशन तथा प्रशारण गरिनेछ ।
३८. यस गाउँपालिकाको न्यायिक समितिमा यस बर्ष ५ वटा उजुरी परेकोमा ३ वटा उजुरीहरुलाई मेलमिलापको माध्यमबाट मिलापत्र गरिएकोे , एउटा केश पुन छलफलका लागि संवन्धित वडा कार्यालयमा पठाइएको र एउटा केश छलफलमा सहभागी नभएको अवगत गराउदैे न्याय सम्पादनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न आवस्यक ब्यवस्थापन सहित न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुको क्षमता अभिबृधिमा बिशेष ध्यान पुराईनेछ ।
३९.बिभिन्न गैर सरकारी संघ संस्थाहरुलाई यस गाउँपालिकाको समन्वयमा अझ पारदर्शी भई काम गर्न अभिप्रेरित गरिनेछ भने जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ । अनुगमन कार्यलाई थप प्रभावकारी बनाई परिपुरक भूमिकामा परिचालन गर्ने नीति लिइनेछ ।
४०. बिभिन्न गैरसरकारी संस्थाहरु संग समन्वय गरि समग्र गाउँपालिकाको हितमा हुने हरेक कार्यक्रमहरु साझेदारिताको आधारमा सञ्चालन गरिने छ ।
४१.गाउँपालिकाको सम्पुर्ण सेवा प्रवाहका कामहरुलाई अनलाईन मार्फत सञ्चालन गर्न कर्मचारीहरुमा सुचना प्रविधि अन्तरगतका क्षमता अभिबृद्धि गर्दै मातहतका कार्यालयहरुमा प्रयोगमा आईसकेका सुचना प्रविधि सम्बन्धी उपकरणहरुको अनुगमन गरि पुर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।
४२. कुनै पनि गाउँसमाजका विकास गर्न त्यस गाउँ सम्बन्धी समग्र जानाकारी सहित तथ्यगत विवरण सहितको बस्तुगत बिबरणको नित्तान्त आवस्यकता हुन्छ । यही बिषयलाई मध्यनजर गरि काठेखोला गाउँपालिकाको बस्तुगत बिवर(ा र समग्र गाउँपालिकाको डकुमेन्ट्री निर्माण गरिने छ ।
४३.बिगत दुई बर्ष देखि नै प्रयोगमा आएको सम्पति तथा मालपोत करको सफ्टवयर अनिवार्य रुपमा हस्तलिखित रसिदहरु बिस्थापित गरिएको अवगत गराउदै गाउँपालिका र मातहतमा रहेका सबै संस्थाहरुको अचल सम्पत्तिहरुको अभिलेखहरु अध्यावधि गरिनेछ ।
४४.गाउँपालिका क्षेत्र भित्र रहेका संभावित खानी जस्तै तामाखानी, फलामखानी एवं अन्य खानीको संभाब्यता अध्ययनका लागि विशेष पहल गरिनेछ भने पालिका भित्र रहेका सार्वजनिक जग्गा, गुठि जग्गा, सामुदायिक वन, सार्वजनिक संघ संस्थाको लगत तयार पहल गरिनेछ ।
४५.गाउँपालिका भित्र दुई ठाउँमा रहेको चिस्यान केन्द्र निर्माण कार्यलाई शुरुवात गरिसकिएको छ भने यस बर्ष पुर्णता प्रदान गरि सञ्चालनमा ल्याइने छ । काठेखोला गाउँपालिका भित्र प्रवेश गर्ने पर्यटक तथा आगन्तुकहरुको स्वागातार्थ वडा नं. १ खहरेमा प्रवेशद्धार निर्माण कार्यलाई अगाडि वनाइनेछ ।
४६.अन्तमा यस काठेखोला गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमका आधारमा आ.व. २०७८।०७९ को बजेट कार्यान्वयनमा जनताका हरेक समस्या र दुखमा सहकार्य गर्दै यस गाउँपालिकाको दिगो विकास र साझा विकासमा सधै क्रियाशिल रहदै सिर्जनात्मक एवं रचनात्मक ढंगले काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु । सो कार्यमा राजनैतिक दल, जनप्रतिनिधी, शिक्षक, कर्मचारी, संचारकर्मिहरु र आम नागरिकहरुलाई गाउँपालिकाको विकास योजना २०७८÷०७९ को सफल कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको अपेक्षा गर्दै कोभिड १९ विरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतीनिधी, अत्यावश्यक सेवामा खटिने राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति विशेष धन्यवाद ज्ञापन गर्दै फेरी पनि संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।

धन्यवाद ।
अमर बहादुर थापा
अध्यक्ष

काठेखोला गाउँपालिका, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->