बजेट ८० करोड ५९ लाख
नवलपुर, ११ असार– गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिन् ।
नगरप्रमुख छत्रराज पौडेलले ‘बाँझो जग्गा रहित नगर’, ‘म तरकारीबिना खान्नँ, म तरकारी किन्न जान्नँ’, ‘गैंडाकोटको पहिचान स्वादिलो मकै’सहित विदेशबाट फर्केका नागरिकले सुरु गरेको व्यवसायमा व्यवसाय कर छुट दिने, सुत्केरी आमा पोषिलो खाना, स्वास्थ्य र अनुशाशित युवा विकासमा टेवा, महिलासंग उपमेयर कार्यक्रम, गरिबीमुक्त गैंडाकोट, कृषिमा सहकारीको लगानी, नगरपालिकाको साझेदारी, शिक्षित छोरी सक्षम घर, एकघर एकविरुवा, उज्यालो सडक कार्यक्रम लगायतका नारा समेटिएका कार्यक्रम अघि सारिएको छ । केही नयाँ भएपनि अधिकांश कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता रहेको छ ।
८० करोड बजेट
योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले ८० करोड ५९ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् । आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत बजेटमा २६ करोड ४६ लाख बराबरको पुँजीगत खर्च रहेको छ भने ५४ करोड १३ लाख ५० हजार चालु खर्च रहेको छ ।
नगरपालिका स्तरीय बजेटबाट पूर्वाधार विकास समिति अन्तर्गत ६ करोड ९१ लाख, कृषि, पशु तथा सहकारीका लागि ७५ लाख, स्वास्थ्यमा १ करोड ९५ लाख, शिक्षामा २ करोड, खेलकुद प्रवर्धनका लागि २० लाख, आयुर्वेदका लागी १० लाख विनियोजन भएको छ ।
लक्षित वर्ग अन्तर्गत युवा लक्षित कार्यक्रमका लागि ५ लाख, महिला लक्षित विकास कार्यक्रमका लागि १० लाख ७० हजार, बालबालिका लक्षित कार्यक्रमका लागि १० लाख, अपांगता लक्षित कार्यक्रमका लागि ६ लाख ३० हजार, जेष्ठ नागरिक लक्षित कार्यक्रमकालागि ५ लाख, दलित लक्षित कार्यक्रमकालागि ७ लाख, आदिवासी जनजाति लक्षित कार्यक्रमका लागि ६ लाख बजेट विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत १ करोड, संस्थागत विकास तथा सेवा प्रवाहका लागि ३५ लाख बजेट विनियोजन गरिएको छ ।
वडा स्तरीय बजेट अन्तर्गत गैंडाकोट ३, १४ र १८ ले ८० लाख र अन्य वडाले प्रति वडा ७० लाखका दरले बजेट विनियोजन गरेका छन् । यसका लागि १२ करोड ९० लाख रकम विनियोजन भएको छ ।





