बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वृद्धाका गहना लुटेर कुटपिट

वृद्धाका गहना लुटेर कुटपिट


  • ढोरपाटन सम्वाददाता
  • असार १५ २०७८, मंगलबार

पर्वत, १५ असार– पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ ।
पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको र त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो । कलावतीका छोरा सन्तोषका अनुसार आमाले घरभन्दा करिब एक सय मिटर माथि रहेको जङ्गलको छेउमा बाख्रा चराइरहेको बेलामा अन्दाजी १९÷२० वर्षका दुई जना युवाहरूले कानमा लगाएको करिब डेढ तोलाका सुनका मुन्द्रा लुछ्दै कुटपिट गरेका हुन् ।
नचिनेका दुई जना युवाले सडकमा मान्छे हिँडिरहेको बेलामा केही बेर आफूसँगै राम्रा कुराकानी गरेर कोही नभएको मौका पारेर कानमा लगाएका गहना लुट्नुका साथै ढुङ्गा र मुड्कीले आफूले प्रहार गरेको पीडित कलावतीले बताइन् । ‘साँझमा बाघले बाख्रा खाइदेला भनेर जङ्गल छेउमा चरेका बाख्रा लिन गएकी थिएँ । दुई जना आएर कुराकानी पनि गरे। कोही नभएको मौकामा मलाई घोप्टो पारेर पल्टाए । गहना तान्दै पछाडिबाट पिठ्यूँ र टाउकोमा ढुङ्गा र मुड्कीले हान्नुसम्म हाने’ उनले भनिन, ‘टाउकोमा दुई ठाउँमा काटेको छ । मेरो टाउको गिट्टीमा रगडियो। हात भाँचिएको छ ।’ छोरा सन्तोषका अनुसार उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने भाँचिएको हात प्लास्टर गरिएको छ ।
घट्नाको विषयमा अनुसन्धान चलिरहेको र शंकास्पदहरुलाई प्रहरी कार्यालयमा उपस्थित गराएर केरकार गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बृद्धामाथि आक्रमण र लुटपाट भएको ठाउँ भन्दा माथि रहेको खुर्कोट गाउँमा हरेक वर्ष जस्तो घरका ढोका फुटाएर गरगहना तथा पैसा लुट्ने काम हुने गरेको छ । प्रहरीले त्यो क्षेत्रमा खोजी र तलासी गरिरहे पनि हरेक वर्ष लुटपाट मच्चाउनेहरू पक्राउ पर्न भने सकेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->