बागलुङ, १५ असार– बागलुङको कुँडुलेमा असार पन्ध्रको अबसरमा धान दिवश मनाइएको छ । सिम्रिक कृषि सहकारी संस्थाको व्यवस्थापन र कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा दिवश मनाइएको हो ।
दिवशको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित खेतमा रोपाईँ भएको थियो । रोपाईमा स्थानीय बासिन्दा सहभागि थिए । उनीहरुले गीत गाउने, नाच्ने, हिलो खेल्ने र धान रोप्ने काम गरे ।
कार्यक्रममा सहभागि भएका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले कृषि प्रधान देश भएकोले असार पन्ध किसानले मानो खाएर मुरी फलाउने दिनको रुपमा बर्षौदेखि मनाईदै आइएको बताए । किसानलाई मल र बीउ समयमा उपलब्ध गराउने, प्रविधिको उचित व्यवस्थापन गर्ने र अधिकतम उत्पादनमा लगाउनु पर्ने उनले सुझाव समेत दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष धु्रबबहादुर केसीले मानिस जन्मेदेखि मृत्यु पर्यन्त धान चामलको आवस्यकता पर्ने भएकोले धान दिवशको महत्व बढी भएको उनले बताए । त्यसकालागि आफ्नो वडा छनौट गर्ने सबैलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराई र सिम्रिक कृषी सहकारी संस्थाका अध्यक्ष चुडामणी उपाध्यायले कृषि पेशालाई व्यवसायिक बनाउने र राज्यले किसानको समस्या समाधानमा भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । असार पन्ध्रलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने उनीहरुको भनाई थियो ।
हरेक बर्ष असार १५ लाई धान दिवशको रुपमा मनाइने गरिन्छ । यो बर्ष छिट्टै मनसुन सुरु भएपछि किसानको बिउ तयार नभएपछि रोपाइ ढीला भैरहेको भट्टराईले बताए । केही दिनपछि भने रोपाइको प्रतिशत ह्वात्तै बढ्ने समेत जानकारी दिए । रोपाई कार्यक्रममा स्थानीय युवाले हिलोमा दौड प्रतियोगिता समेत संचालन गरेका थिए । धान दिवशकै अबसरमा ज्ञान केन्द्रले रोपाईमा खटिएका र निमन्त्रणमा पुगेका सबैलाई दही चिउरा खाने व्यवस्था समेत गराएको थियो ।





