पोखरा, १८ असार – बाढीपहिरोबाट क्षति पुगेर विधुत अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्रदान गरेको छ । करीव १९ लाख रुपैयाँ लागतको सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद गरेर त्यहाँका कार्यालयलाई उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ ।
बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो । सोलार सामाग्री हेलिकोप्टरमार्फत् मनाङ सदरमुकाम चामे पठाउने व्यवस्था गरिएको छ ।
सामान ढुवानीका लागि लाग्ने ४ लाख ३१ हजार रुपैयाँ रकम पनि गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान खरिद गरेर पठाइएको हो ।
सामान खरिद गरेर लमजुङ सदरमुकाम बेंसीसरहरमा वेंसी शहर पु¥याइएको भएपनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।
मनसुनको सुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको सोलार जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकताक्रम अनुसार त्यहाँका सरकारी कार्यालयहरुलाई प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।
विधुत अवरुद्ध हुँदा त्यहाँका कार्यालयबाट प्रदान हुने विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै समस्या भएको बताए । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उनले जानकारी दिए । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर भएको उनले वताए ।




