पर्वत, १८ असार– कोभिड–१९ सङ्क्रमण केही नियन्त्रणमा रहँदै ओरालो लागिरहेको अवस्थामा पुन सङ्क्रमण दर उकालो लाग्न थालेको छ ।
गत जेठ दुई गते जिल्लामा सबैभन्दा बढी एकै दिनमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो। त्यसपछि ओरालो लागेको सङ्क्रमण दर असार सातमा आइपुग्दा एक जनामा मात्र पुष्टि भयो । जिल्लामा सङ्क्रमणको अवस्था नियन्त्रणमा रहेको देखियो। नागरिकले पनि सङ्क्रमणको महामारी भइरहेको बेलामा जस्तो आफूलाई नियन्त्रणमा राखेनन् । अहिले सङ्क्रमण फेरि उकालो लागेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) का सूचना अधिकारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार जेठको अन्तिम र असारको सुरुका दिनमा थोरै जनामा मात्र सङ्क्रमणको पुष्टि भएकोमा अहिले दैनिक जसो सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
असार सात गते एक जनामा मात्रै सङ्क्रमणको पुष्टि भएकोमा त्यसको भोलिपल्ट असार आठमा ४२ जनामा सङ्क्रमणको पुष्टि भयो । यस्तै नौ गते तीन जनामा, १० गते १७ जनामा, १२ गते २१ जनामा, १३ गते एक सय नौ जनामा, १४ गते १९ जनामा, १५ गते ५७ जनामा र १६ गते २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ। असार १३ मा जिल्लामा हालसम्मकै उच्च एकै दिनमा एक सय नौ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
‘जेठको अन्त्यतिर सङ्क्रमणको अवस्था नियन्त्रित थियो । थोरै जनामा मात्र सङ्क्रमणको पुष्टि भएको थियो। तर असारको पहिलो सातापछिबाट भने दैनिक रूपमा संक्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ’ सूचना अधिकारी भण्डारीले भने, ‘सङ्क्रमितको सङ्ख्या कम देखेपछि मान्छेले कोरोना हरायो भन्ठाने, उनीहरूले स्वास्थ्य मापदण्डको पालना गरेनन् । जसको नतिजा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ । मान्छेको लापरबाहीकै कारण त हो नि सङ्क्रमण बढ्ने भनेको ।’
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पनि केही दिन अगाडिसम्म अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा रहेको भए पनि अहिले फेरि दैनिक रूपमा सङ्क्रमितहरू थपिँदै जान थालेको बताए । अस्पतालको आइसोलेसनमा अघिल्लो हप्ताको शुक्रवार, शनिवारसम्म एक÷दुई जना मात्रै रहेकोमा मङ्गलवार आइसोलेसनमा बस्नेको सङ्ख्या नौ जना पुग्यो। तीमध्येका दुई जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
‘अहिले सङ्क्रमितहरू वेटीङमा रहेको पाइएको छ । अस्पतालमा सङ्क्रमितहरू आउने जाने क्रम बढ्दै गएको छ । हिजो मात्रै आठ जनामा एन्टीजीन टेस्ट गर्दा तीन जनामा पुष्टि भयो’ उनले भने, ‘खोप नलगाउँदासम्म यो नियन्त्रित हुँदैन । लामो समय लकडाउनमा बस्दा मान्छेलाई समस्या भयो, जसका कारण उनीहरूले अटेरी गरेपछि सङ्क्रमण बढ्दै गएको देखियो। यसको विकल्प भनेको खोप नै हो । लकडाउन गरेर ठप्प पार्दा जनतालाई समस्या नगर्दा नगर्दा फैलियो ।’





