पर्वत, १९ असार– बेल्जियममा बस्दै आएका नेपालीहरूले पोखरा महानगरपालिको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा करिब एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेका छन् ।
प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहज र सुविधाजनक रूपमा उपचार गर्न सकियोस् भन्ने उद्देश्यले स्थापना गरेको यो प्रदेशकै एक मात्र अस्पताल हो । पर्वत घर भई बेल्जियम बस्दै आएका पर्वतेलीहरू समावेश पुरी फाउण्डेसन तथा एनआरएनए बेल्जियमको नेतृत्वमा आवश्यक रकम संकलन गरी सामग्री खरिद गरिएको फाउण्डेसनका संयोजक संजय गिरीले बताए ।
यसमा एनआरएनए बेल्जियम र पोखरा उपमहानगरपालिकाले समेत आर्थिक साझेदारी गरेका थिए । टर्कीमा खरिद गरिएका अक्सिजन प्लान्टका सामग्रीसहित टर्कीकै दुई जना इञ्जिनियरहरू र फाउण्डेसनका निर्देशक बेदराज पुरी पोखरा आएका छन् । उनीहरूले अस्पतालमै बसेर जडानको काम गरिरहेका छन् ।
‘हामी विदेशी भूमिमा बसिरहेको भए पनि आफ्ना ठाउँका जनताले दुःख पाएको कसरी हेर्न सक्छौँ ? कोरोना कहरको बेलामा अक्सिजन अभावका कारण देखिएका चुनौती चिर्न हामीले यहाँ अभियान चलाएर पैसा उठाएका थियौँ’, गिरी भन्छन्, ‘टर्कीमा खरिद गरेको सामान जडानका लागि टर्कीबाटै इञ्जिनियरहरू पुग्नुभएको छ । जडानको काम चलिरहेको छ ।’ एनआरएनए बेल्जियम र पोखरा उपमहानगरपालिकाको सहकार्यमा ती सामग्री पोखरा झिकाइएको हो । टर्कीमा खरिद गरिएका ती सामग्री परीक्षण गर्ने तथा नेपाल पठाउन सहयोग गर्ने काम पर्वत फलेवासका अर्जुन कुमार श्रेष्ठले गरेका थिए ।
प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने अस्पतालका निर्देशक डाक्टर विकास गौचनले बताए । फाउण्डेसनको पहलमा स्थापना भएको अक्सिजन प्लान्टले अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
कोरोना महामारीका बेला साबिक लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारमातहत ल्याई संक्रामक तथा सरुवा रोग अस्पतालका रूपमा विकास गरिएको थियो। अस्पतालमा हाल ७५ शय्या छन् । फाउण्डेसनका निर्देशक पुरीले आफूहरू मातृभूमिमा सघाउन जति बेला पनि तयार रहेको बताए । अब केही समयमा नै पर्वत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउन लागिएको पुरीले बताए ।
‘म पोखरामा बसेर प्लान्ट जडानको काम गरिरहेको छु । हामी विदेशमा रहे पनि मुटुमा त स्वदेश नै छ’, उनले भने, ‘लगत्तै हामीले बिरामीहरूलाई पोखरा वा अन्यत्र समयमा नै लैजान सकियोस्, कसैको पनि उपचार नपाएर मृत्यु नहोस् भनेर केही समयभित्रै पर्वत अस्पताललाई एम्बुलेन्स दिने तयारी गरिरहेका छौँ ।’





