पर्वत, २२ असार– पर्वतको मोदी गाउँपालिका स्थित पातीचौर बजार नजिकै रहेको सुनचाप बस्तीका अन्तरे कामीलाई बर्खा लाग्नासाथ कतिबेला पहिरोमा पुरिएर परिवारै मर्नुपर्ने हो भन्ने पीर लाग्छ । वर्षा नहुँदाको दिनमा त्यती चिन्ता नभएपनि आकाशमा कालो बादल मडारिँदा साथ उनको पिर पनि उसै गरी मडारिन्छ किनकी उनको घर भन्दा माथिबाट खस्ने उच्च जोखिममा रहेको पहिरो ।
अन्तरेको सहित रहेको कोरुङ्गा सामुदायिक बनबाट सुरु भएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । पहिरोको जोखिमले ती सबैलाई दिनको भोक न रातको निद्रा बनाइदिएको छ ।
करिब ५२ हेक्टर क्षेत्रफल रहेको उक्त बनको मुख्य भागको १५ हेक्टर जमिन ठाउँ छाडेर लच्किएको छ । जसका कारण बन क्षेत्र भन्दा तल रहेका घर तथा कृषि फार्महरू पुरिने खतरामा परेका छन् भने माथिल्लो क्षेत्रका घरहरू पहिरोसँगै तानिने जोखिममा रहेका छन् ।
पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरै थोरै गरेर खस्दै गएको छभने वडा नं. २ कै सुनचापमा रहेका १४ घरहरू पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीदेखि बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् ।
‘त्यहाँको पहिरोको अवस्था भनी नसक्नुको छ। केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घरहरू उच्च जोखिममा रहेका छन् । पहिरो भन्दा तल पातिचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छन’, तिमिल्सिना भन्छन्, ‘वनबाट सुरु भएको पहिरोले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ। वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पुरै बगेर आउने उच्च जोखिम छ ।’
पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्महरू पनि छन् । पहिरो झरेमा ती सबै फार्महरू पुरिएर पूर्ण क्षति हुने अवस्थामा छन् । स्थानीय सविना सुब्बाले बङ्गुर, कुखुरा र माछाका फार्महरू रहेको तीनमा करिब ३० लाख रुपैयाँ लगानी रहेको बताइन् । सुब्बा आफैले फार्ममा सात लाख लगानी गरेकी छिन भने सञ्जीवनी सहकारीले १४ लाख, तेज बहादुर क्षेत्रीले सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाहरूले करिब १० लाखको लगानी गरेका छन् ।
पहिरो भन्दा तलको क्षेत्र सुनचापमा घर भएका अन्तरे कामीले माथिबाट आउन सक्ने पहिरोले कति बेला अँठ्याउने हो भनेर रातभर निदाउन नसक्ने बताउँछन् । वर्षा भएको दिनमा पहिरो आउन सक्ने डरले भाग्न तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । ‘माथिबाट पहिरो आएर कति बेला बगाउने हो भन्ने पीर मात्रै छ । गेगर सहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरे झैँ आउने अवस्था छ’, उनले भने, ‘पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ। निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।’
पहिरो आउन सक्ने उच्च जोखिमको कारण भने कोरुङ्गा सामुदायिक बन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन्। सडक खन्ने बेलामा भूगर्वविद सहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण बनबाट ठूलो क्षेत्रफलको जमिन लच्किएको शिक्षक तिमिल्सिनाले बताए । लच्किएको जमिन पहिरोको रूपमा झरेमा करिब पाँच किलोमिटर सडक समेत बग्ने अवस्थामा छ । कालोपत्रे र ढलान गरिएको उक्त सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो ।
मोदी गाउँपालिका प्रवक्ता विमल लामिछानेले पहिरोको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताए । जमिन लच्किएको ठाउँबाट साना पहिराहरू हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उनले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गरे ।
‘त्यो त बस्ती नै स्थानान्तरण गर्नुपर्छ । प्रत्येक वर्ष जोखिममा छ। उपयुक्त ठाउँ खोजेर सार्नुको अरू कुनै विकल्प नै छैन ।’ उनले भने, ‘बस्ती सार्ने विषयमा गाउँपालिकाले तत्कालै त्यस्तो केही योजना बनाएको अवस्था त छैन । तर त्यहाँको जोखिमका बारेमा हामीलाई थाहा छ। के गर्न सकिन्छ, त्यही गर्नुपर्छ अब ।’





