पर्वत, २३ असार– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर र चालक सहित बाढीले बगाएको हाइलक्स गाडी मोदी खोलामा देखिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाउँदा गए राती साढे १० बजेदेखि बेपत्ता रहेको हाइलक्स गाडीको केही भाग नदीमा देखिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्य थालेका छन् । गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले सुन्दरे खोला र मोदी मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल रती खोला र मोदी खोलाको सङ्गम स्थलनेर झोलुङ्गे पुल रहेको ठाउँ नजिकै गाडी देखिएको पुष्टि गरे ।
गाडीको केही भाग देखिएको भए पनि गाडीसँगै बेपत्ता रहेका लोक मार्गको आयोजना कार्यालय पर्वतका प्रोजेक्ट म्यानेजर इन्जिनियर राजाराम आचार्य र चालक इन्द्र चौधरीको अवस्थाबारे भने थाहा नभएको प्रहरी निरीक्षक पौडेलले बताए ।
‘रती खोला र मोदी खोला मिसिएको संगमस्थलबाट १० मिटर तल गाडीको अलिकति भाग देखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले डोरी भ¥याङको माध्यमबाट गाडीको रेस्क्यु गर्न सुरु गरेको छ’ उनले भने, ‘गाडीभित्रै परेर बेपत्ता रहनुभएका दुई जनाको अवस्थाका बारेमा केही पनि पत्ता लागेको छैन। गाडीभित्र हुनुहुन्छ की बाहिर त्यो गाडी तान्न सकेपछि मात्र थाहा होला ।’





