
बागलुङ, २५ असार– ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबार रातिदेखि नै अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका ८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । उनका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपछि सडक वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडाँै लगायतका ठाउँका लागि छुटेका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धवलागिरितर्फ आएका सवारी साधन पर्वतको दोबिल्लामा अलपत्र बनेका छन् ।
सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् भने बुधबार रातीदेखि इन्टरनेट र टेलिफोनसमेत अवरुद्ध भएकामा केहीबेर अघि मात्र चालु भएको हो ।





