बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रविधिमैत्री कृषिमा आकर्षण

प्रविधिमैत्री कृषिमा आकर्षण


  • संजय रेग्मी
  • असार २५ २०७८, शुक्रबार

पर्वत, २५ असार– गत वर्ष र चालु वर्षमा कोरोना कहरका कारण देशका धेरै विद्यालयहरूले जबरजस्ती भए पनि प्रविधिमा हात हालेका छन्। विदेशमा विद्यार्थी विद्यालयमा नै नगई घरमै बसेर पढेको सुन्दा अनौठो लाग्ने हामी पनि अब अरू कसैको लागि अनौठो हुनुपरेको छ। भौतिक रूपमा विद्यालय उपस्थित हुन नसकेपछि अनलाइन कक्षा सञ्चालनको सामग्री डिजाइन देखि तिनीहरूको प्रभावकारी सञ्चालनमा शिक्षक र बिद्यार्थीहरु तल्लीन हुन परिरहेको छ।
कोरोनाका कारण शिक्षा क्षेत्र जबरजस्ती भए पनि प्रविधिमैत्री बनिरहेको बेलामा कृषि क्षेत्र भने समयको मागसँगै प्रविधिमा आधारित बन्दै गएको छ। “तीन गोरुको हल पक्का” भनेको जस्तै घर–घरमा हल गोरु पालिएका हुन्थे। तर आजभोलि गोरु देख्न नै मुस्किल हुन थालेको छ। खेतबारी जोत्नका लागि मिनी टिलर गाउँ–गाउँमा लगिएसँगै परम्परागत रूपमा गोरुले जोतिने गरेको जमिन ट्र्याक्टरले जोत्न थालिएको छ। योसँगै जिल्लाका धेरै ठाउँका कृषकहरू प्रविधिमैत्री कृषिमा आकर्षित हुँदै गएको पाइएको छ।
मिनी टिलरले थोरै समयमा नै धेरै खेतबारी जोत्ने र माटो पनि धूलो बन्ने भएका कारण मिनी टिलरको प्रयोग बढेको कृषकहरू बताउँछन्। जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक डिल्लु सापकोटाले छोटो समयमा धेरै काम गर्न सकिने भएका कारण मिनी टिलर ल्याएको बताए।
‘मेलो त एकै दिनमा कति हो कति हुन्छ। हिउँदमा त खासै समस्या हुँदैन, तर बर्खामा बाउसे धेरै चाहिन्छन्। किसानलाई नै फाइदा नै हुने रहेछ। बरु डिजेल पेट्रोलको मूल्य बढ्दै जाँदा समस्या भएको छ,’ उनले भने, ‘यसले जोतेकोमा डल्ला आउँदैन। माटो मसिनो र होला बन्दा उत्पादन पनि बढ्छ।’
जिल्लामा कृषि ज्ञान केन्द्र, सहित स्थानीय तहहरूले पनि मिनी टिलर हरेक वर्ष अनुदानमा दिँदै आएका छन्। कतिपय कृषकहरू आफैले लगानी गरेर पनि मिनी टिलर किन्ने गरेका छन्। कृषि ज्ञान केन्द्र पर्वतकी कार्यालय प्रमुख मनिता थापाले पर्वतमा मिनी लिटरको माग निकै बढ्दै गएको बताइन।
‘पर्वतमा करिब २५ सय जति होलान मिनी टिलर जस्तो लागेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बजेट धेरै हुँदा धेरै बाँडिएको हो। अहिले त्यो बजेट कम हुँदै गएको छ। स्थानीय तहले बाँड्ने क्रम बढेको छ,’ उनले भनिन्, ‘अहिले पनि मिनी लिटरको माग गरिएका थुप्रै निवेदनहरू कार्यालयमा छन् । हरेक वर्ष यान्त्रिक हलो किन्ने र गोरु बेच्ने क्रम बढ्दै गइरहेको छ।’
मिनी टिलर नभएका र गोरु पाल्दै आएकाहरूले समेत छिमेकीको ट्याक्टरबाट खेतबारी जोत्न थालेपछि गाउँमा गोरुको अभाव हुँदै जान थालेको र दाँइ राख्ने बेलामा समस्या हुने अवस्था आएको कृषकहरूको भनाई छ। जिल्लामा मिनी टिलरले जोतेको एक घण्टाको सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लिने गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->