पर्वत, २६ असार– अविरल वर्षाका कारण पर्वतको विभिन्न ठाउँमा पहिरो जाँदा कोही घर छोडेर हिँड्नु परेको छभने कोही उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण कुश्मा नगरपालिका– २ खुर्कोटका पाँच घरमा पहिरोले क्षति पु¥याउँदा त्यहाँका ४ परिवार विस्थापित हुनुपरेको छभने एक परिवार जोखिममै बसिरहेको छ ।
साविकको वडा नं. ८ स्थित थुम्कीलादेखि आएको पहिरोले स्थानीय सीता क्षेत्री, रामु पुरी, दयाराम नेपाली र टेक बहादुर रेग्मीको घरमा क्षति पु¥याएको छ । क्षतिपुगेको घरमा बस्दा झनै जोखिमहुने भएकाले उनीहरू छिमेकीको घरमा आश्रय लिएर बस्नुपरेको छ । विस्थापित भएका टेकबहादुर रेग्मीका अनुसार स्थानीय चुमान पूरीको घर जोखिममा रहेको छ । अविरल वर्षाका कारण जमिनमा धाँजा फाटेको र त्यहीँबाट पानीको भेल जमिनभित्र पस्दा बिहीबार दिउसो पहिरो आएको हो । पहिरो दिउसोमा गएका कारण आफूहरू भागेर सुरक्षित ठाउँमा जान सकेको रेग्मीको भनाई छ ।
‘लगातार वर्षा भइरहेको बेलामा बाहिर कामगर्न जान सकिएको थिएन । दिउँसो एक बजेको हुँदो होला पहिरो चल्यो । दिउँसोमा आएको हुनाले सबै जना भागेर सुरक्षित स्थानमा जान सकियो,’ उनले भने, ‘पानी पनि अलिअलि परेको भए पो हुन्थ्यो । जमिन चिरिएको छ, त्यहीँबाट बाढी भित्र छिरेर पहिरो चलाएको छ ।’
कुश्मा–८ चुवाकी मुगा पोखरेलको घर जोखिममा परेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग र चुवा रिङरोडका कारण घर पूर्ण रूपमा जोखिममा परेको पोखरेलले बताइन् । उनको घरको वरिपरि भासिएको छभने खानापकाउने कोठा, गोठ तथा घरको दायाँ र बायाँपट्टिको भाग चिरिएको छ । सँगै रहेको चुवा रिङरोडको सडकमा समेत पहिरो गएकाले अहिले सवारी आवतजावत समेत अवरुद्ध बनेको छ । सडक खन्दा कमजोर भनेको भाग लगातारको वर्षाले कमजोर हुँदा भासिएको आफूहरू जोखिममै रहेको पोखरेलको भनाइ छ ।





