
फाइल तस्बिर
बागलुङ, २९ असार– पहिरोले सडक अबरुद्ध भएपछि दुध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी नगरपालिकाका किसानले उत्पादन गर्ने दुधको ढुवानीमा समस्या भएको हो ।
सडक अबरुद्ध भएर समयमा दुध ढुवानी गर्न नपाएका कारण व्यवसायीक दुध उत्पादक किसानहरु मर्कामा परेको कालिगण्डकी दुध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए । बलेवाका किसानले उत्पादन गरेको दुध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ ।
केहि दिनअघि बर्षासँगै आएको पहिरोले बागलुङ नगरपालिका वडा नं. १० एक्लेसालमा सडक अबरुद्ध छ । शुक्रबारदेखि सडक खुलाउने प्रयास भएको भएपनि सडकको गहिराईसम्म पुगेर बाढी र पहिरोले बगाएकाले तत्काल मर्मत समेत कठिन भैरहेको छ । कालिगण्डकी करिडोर, बागलुङ कुश्मीशेरा सडक दुवै एउटै पहिरोले क्षति पुराएको छ ।
सडक अबरुद्ध हुँदा बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दुध बजार पुराएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गरे । स्टोर गरेर राख्न चिस्यान केन्द्र पर्याप्त नहुने र समयमा बजारमा दुध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाई छ ।
बलेवा क्षेत्रका किसानले दैनिक २ सय लिटर भन्दा धेरै दुध उत्पादन गरेर बजार पठाउने गरेका छन् । ‘हाम्रो मुख्य पेसा नै यही हो’, आचार्यले भने एक दिन दुध रोकिँदा व्यवसायीक किसानको हजारौंको क्षति हुन्छ ।’ बैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ ।





