
मुस्ताङ, ३ साउन– मुस्ताङमा कच्ची काठेपुल भाँचिएर मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा रहेको कच्ची काठेपुल भत्किँदा दुर्घटना भएको हो ।
ट्रकमा सवार ७ मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छभने ४ जना घाईते भएका छन् । ट्रकका चालक सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ बर्षिय मजदुर चित्रबहादुर श्रेष्ठ र उनको श्रीमती अन्दाजी २६ बर्षिया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जितबहादुर केसीले बताए ।
नवलपरासी जिल्ला बिनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक बर्ष ३६ का शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् । घाईते हुनेहरुमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं २ बस्ने २२ वर्षिय सुशील घर्ती मगर, २५ बर्षिय लुद्र बहादुर कामी रहेका छन् । उनीहरु मजदुरीका लागि मुस्ताङ पुगेका थिए ।
त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षिय सहचालक दिनेश दर्जी र ओखलढुंगा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ बर्षिय दावा शेर्पा रहेका छन् । उनीहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भैरहेको छ ।
घाईतेहरुको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १ सय बोरा सिमेन्ट, ४ थान प्लाईउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालकले बताए ।
जिर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटणा भएको चालकले बताएका छन् । घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा आइतबार बिहान ७ बजे दुर्घटना भएको हो ।

ठिनी खोलामा ट्रक पल्टिँदा घाईते भएकाहरुको उद्धार गरिँदै । तस्विरः निरज थकाली/ठिनी मुस्ताङ





