फाइल तस्बिर
बागलुङ, १० साउन– एक वर्षअघिसम्म घरमा अचार खानका लागि बागलुङ बजारबाट गोलभेँडा बोकेर गाउँ जाने काठेखोला गाउँपालिका–१ पालाका गोर्खाबहादुर मगर अहिले डोकाभरी गोलभेँडा बोकेर बजार झर्छन् । घर छेउको बारीमा लगाएको गोलभेँडाले राम्रो उत्पादन दिन्छ । गोलभेँडाले घरखर्च चलाउन आम्दानीसमेत दिएको छ । प्लाष्टिक घरमा गोँलभेडासँगै छेउछाउमा फलेको तारकरीले खान र बेच्न समेत पुग्छ ।
पालामा रहेको कृषि समितिका अध्यक्ष रहेका थापा अगुवा किसान हुन् । थापा जस्तै पालामा पछिल्लो समय तरकारीमा आत्मनिर्भर हुनेहरुको संख्या धेरै छ । घरायशी प्रयोजनका लागि फलाएका तरकारी बजार पु¥याएर आम्दानी लिने पनि छन् । परम्परागत खेतीपाती गर्दै आएका पालाका किसानमा व्यवसायिक उत्पादनको लहर चलेको थापा बताउँछन् ।
‘वडाले प्रेरणा दिईरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत सिप र प्रविधि पाएका छौं’ थापाले भने ‘१ सय घरमा टनेल छन्, सबैले तरकारी फलाउँछन् ।’ कृषिमा गाउँपालिकाले पनि ठुलो लगानी गरेको छ । पालामा मात्रै २५ जना किसानले गाउँपालिकाले दिएको प्लाष्टिक घरमा तरकारी फलाउँछन् ।
‘पहिले पहिले बारीमा मकै, कोदो लगाउनै पर्छ भन्ने मान्यता थियो’ वडाध्यक्ष खडक थापा भन्छन् ‘अहिले आम्दानी जसरी हुन्छ, उसैगरी खेती गर्नुपर्छ भन्ने किसानमा छ ।’ ५० प्रतिशत अनुदान पाएका किसानले बाँकी ५० प्रतिशत प्लाष्टिक घरका लागि खर्चेका छन् । प्लाष्टिक घरमा गोलभेँडासंगै सिजन र बेसीजनका तरकारी फलाएको अर्का किसान थिरबहादुर थापाले बताए । गतवर्ष पालामा फलेको गोलभेँडा सिजनमा ५० र बेसिजनमा १ सय २० रुपैयाँ प्रतिकिलो सम्ममा बिक्री भएको किसान थापा बताउँछन् ।
‘माटो राम्रो रहेछ, कृषि सामग्रीहरु समेत प्रयोग भएका छन्’ थापाले भने ‘किसानलाई बजारको समस्या छैन, हामी व्यवसायीक बन्दैछौं ।’ पालाका १ सय २५ वटा टनेलमा प्रतिटनेल ३ सय किलोका हिसाबले गोलभेँडा फलायौं ।’ बन्दा, काउली, घिरौंला, करेला, कांक्रा र रायोको सागसमेत राम्रो उत्पादन भएको थापाले बताए । घाँस प्रसस्त रहेकाले गाईबस्तु र बाख्रा पालनमा समेत उनीहरु व्यवसायीक बन्दै छन् । पशुचौपायको मलमुत्र प्रयोग गरेर उत्पादन भएको तरकारी बजारमा माग हुने गरेको छ ।





