बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाख्रा पाल्नेलाई १ लाखसम्म अनुदान

बाख्रा पाल्नेलाई १ लाखसम्म अनुदान


  • विनोद ढुंगाना
  • साउन १३ २०७८, बुधबार

तनहुँ, १३ साउन– शुक्लागण्डकी नगरपालिका–१२ ढोर लाकुरीबोटका आशमान गुरुङले ११ बर्षसम्म आफ्नो उर्जाशिल जोश, जाँगर र पसिना विदेशी भूमीमा खनाए । मलेसियाबाट छुट्टीमा घर आएका उनलाई गत बर्षको लकडाउनले फेरी हाजिर हुन जान दिएन् । त्यसपछि उनले नेपालमै अवसरको खोजी गर्न थाले । सम्भावना देखे उन्नत जातको बाख्रा पालनमा ।
दृढ संकल्पका साथ गाउँमै बोयर बाख्रा पाल्न थाले आशमानले । सुधारिएको खोर बनाई सुरु गरेको बाख्रा पालनमा २० लाख रुपैयाँ लगानी भएको छ । ४० बढी बाख्रा छन् ।
बाख्रा पालनमा ३६ बर्षीय आशमानको झुकाव र मेहनत देखेर वडा कार्यालयले १ लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक बर्षको बजेटबाट हालै दिईएको यो रकमले बाख्रा पालनमा निरन्तर लाग्न प्रेरित गरेको उनी बताउँछन् । ‘अनुदानले व्यवसाय विस्तारमा हौसला थपेको छ’, उनले अगाडी थप्दै भने, ‘अनुदानसंगै उत्पादनको बजारीकरण र मुल्यको ग्यारेन्टी भईदिए अझै सहज हुन्थ्यो ।’ यसरी राज्यले किसानलाई सघाउँदा बेरोजगार युवाले सम्भावनाको खोजी गर्न थाल्ने उनको भनाई छ ।
एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएका युवा जिवन हमाल ४ बर्ष के गर्ने कसो गर्ने अलमलमै थिए । बसाई झरेका उनी बाँझिएको बारीलाई उपयोग गर्दै बाख्रा पाल्ने सोचमा बावियोडाँडा उक्लिए । ६ महिना भयो बाख्रा पाल्न सुरु गरेको उनले । गोठभरी बाख्रा भईसकेका छन् । बाख्रा पाल्न कस्सिएका हमाललाई वडाले पनि सघाएको छ । उनलाई वडाले ५० हजार रुपैयाँ अनुदान दियो ।
‘यो रकमले लगानीमै टेवा पु¥याउने त हैन् । तर, हौसला पक्कै मिल्छ’, उनले भने । अनुदानसंगै प्राविधिक ज्ञान, नश्ल सुधार, घाँसको विरुवा, बजार व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
आर्थिक बर्ष २०७७÷७८ मा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका १७ जना बाख्रा पालक किसानले ६ लाख रुपैयाँ वडाको अनुदान लिएका छन् । ढोर लाकुरीबोट, लाकुरीबोट, भोर्ले, बाँवियोडाँडा, वराहडाँडा, जस्पुरका किसानलाई अनुदान दिईएको हो । एक लाख र ५० हजार रुपैयाँ १÷१ जनाले प्राप्त गरेका छन् । १५ जना किसानलाई ३० हजार रुपैयाँका दरले वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ । सबैको बैंक खातामा वडाले अनुदानको रकम हाल्दिएको हो ।
बाख्रा पालनलाई व्यवसायिक बनाएर किसानलाई आत्मनिर्भर बनाउन अनुदान उपलब्ध गराएको वडाध्यक्ष मनराज गुरुङले बताए । वडामा भौतिक पुर्वाधार र उत्पादनलाई समान दृष्टिले अगाडी बढाएको वडाध्यक्ष गुरुङको भनाई छ । ‘भौतिक पुर्वाधारले मात्रै सम्बृद्धीको सपना पुरा हुदैन् । सम्बृद्ध बन्न उत्पादन बढाउन आवश्यक छ । वडाको भुगोल, हावापानीले बाख्रा पालन उपयुक्त भएकाले किसानलाई बाख्रा पालनमा लाग्न प्रोत्साहन गरिरहेका छौँ ।’
उनले अनुदान उत्पादनमुखी भए नभएको अनुगमन समेत गर्ने गरेको बताए । अनुदान वितरणका लागी मापदण्ड बनाएको उनको भनाई छ । खोरको अवस्था, बाख्राको संख्या, घाँसको व्यवस्थापनलाई आधार मानेर अनुदान बाँडेको वडाध्यक्ष गुरुङले दाब िगरे । ‘अनुदान प्राप्त गरेपछि कम्तीमा पनि पाँच बर्ष बाख्रा पालनमा लाग्नुपर्ने सम्झौता हुन्छ’, उनले भने । फिरफिरेका बाख्रा पालक किसानले जनप्रतिनिधी निर्वाचित भएर आएपछि हरेक बर्ष अनुदान थाप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->