पोखरा, १५ साउन – युवा व्यवसायी निकेश श्रेष्ठ र आशिष गुरुङले पर्यटकीय शहर पोखरामा राईड सेयरिंग ‘मोटरगाडी’ सेवा सुरु गरेका छन् । प्रविधिको प्रयोगबाट यात्रुलाई सहज सुविधा दिने उदेश्यसहित यो सेवा सुरु गरिएको युवाहरुले वताएका छन् ।
हरेक ब्यक्तिले प्ले स्टोरमा ‘मोटरगाडी’ एप डाउनलोड गरी यो सेवा लिन सकिने व्यवस्था गरिएको छ । यात्रुका लागि मोटरगाडी एप र चालकका लागि ‘मोटरगाडी ड्राइभर’ एप छ ।
यातायात साझेदारी गर्ने यो एपको प्रयोग गरेर अनलाईनमार्फत सवारी वुक गर्न सकिन्छ । सुरक्षित र सहज यात्राका लागि यो सेवा प्रभावकारी हुने सञ्चालक श्रेष्ठले वताए । ‘मोटरगाडी’ भिगोर इन्कर्पोरेसनद्धारा सञ्चालित यातायात साझेदारी गर्ने एप हो । श्रेष्ठ र गुरुङले यही कम्पनीसंग सम्झौता गरी पोखरामा आफ्नो सेवा सुरु गरेका हुन् ।
भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारका अनुसार पोखरामा यहीको सुविधा र आवश्यकताका आधारमा एप तयार गरिएको छ । पोखराका लागि रामवजारमा कार्यालय स्थापना गरिएको छ ।
प्रयोगकर्तालाई आवश्यकता अनुसारको गुणस्तरिय सेवा दिन आफुहरु लागेको सञ्चालक गुरुङले वताए । यात्रु र चालकको सुरक्षाको लागि ७÷७ लाखको विमा समेत गरिएको छ । मोटरगाडीले क्युआर स्कयान सेवा समेत प्रयोगमा ल्याएको छ ।





