पर्वत, १८ साउन– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् ।
जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।
गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताए । नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आएका छन् ।
वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड संक्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले बताए । उनले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गरेका छन् ।





