बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘फलेवास केन्द्र सार्न पाइन्छ’

‘फलेवास केन्द्र सार्न पाइन्छ’

झकलकमा केन्द्र निर्माण गर्नको लागि स्थानीयले ६० रोपनी ८ आना जग्गा निःशुल्क रूपमा नगरपालिकालाई प्रदान गरेका छन् ।


  • Dhorpatan News
  • साउन १९ २०७८, मंगलबार

पर्वत/सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउने गरी फैसला सुनाएको छ । नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको फलेवास ५ खानीगाउँकोे पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले गत पुसमा केन्द्र सार्ने निर्णय भएको थियो ।
नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा बसेको र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र सधैं अस्थायी र साँघुरो भएको भन्दै बहुमत सदस्यको सहमतिमा सार्ने निर्णय भएको थियो । साँघुरो भएका कारण कार्यालय परिसरमा शाखा कार्यालय विस्तार गर्न, पार्किङ स्थल बनाउन र खुल्ला मैदान बनाउन समस्या भएको थियो ।
निर्णय अनुसार नगरपालिकाले जग्गा प्राप्त गर्न सूचना आह्वान गरेपछि खानीगाउँकै झकलकमा ६० रोपनी ८ आना जग्गा प्राप्त भएको थियो । तर, त्यसमा असहमति जनाउँदै मेयर मञ्जु अधिकारीको नेतृत्वमा कार्यसमिति सदस्य केशा दमिनी, फलेवास ७ का वडाध्यक्ष हरिराम रेग्मी, ५ का वडाध्यक्ष विनोद सापकोटा र ९ का वडा सदस्य होमबहादुर पौडेल क्षेत्रीको समूहले निर्णय कार्यान्वयन नगर्न सर्वोच्चमा मुद्दा दायर गरेको थियो । प्रशासकीय भवन बनाउन टेन्डरसमेत आव्हान भएर पूर्वाधार विकासको काम सुरु हुँदै गर्दा विवाद भएपछि काम रोकिएको थियो ।
केन्द्र सारेर भवन निर्माण गर्ने काम रोक्नु भनी सर्वोच्चले दिएको आदेशले विकासमा असर परेको तथा उक्त निर्णय बहुमतको आधारमा गरिएकोले नगरपालिकाको तर्फबाट गल्ती नभएको भन्दै नगरपालिकाको सर्वोच्चमा पुनः निवेदन दर्ता भएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै पुरुषोत्तम भण्डारीको एकल इजलासले यसअगाडि निर्णय कार्यान्वयन नगर्नु भनी दिएको आदेशलाई उल्ट्याउँदै काम सुचारु गर्न पाउने गरी फैसला सुनाएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
‘झकलक सबैका लागि पायकको स्थान हो । त्यहाँको ठाउँ पनि फराकिलो छ । अहिले पनि नगरपालिकाको कार्यालय सिँचाइको भवनमा बसेर काम गरिरहेको छ । सधैं त्यही साँघुरोमा त्यो पनि अर्कैको भवनमा बस्ने ?’ उनले भने, ‘अदालतले विकासको काममा फुकुवा गरेको छ । यो निर्णयको आम फलेवासवासीले स्वागत गरिरहेको छन् । अब निर्माण कार्य अगाडि बढ्छ ।’
नगरपालिका स्रोतका अनुसार उपमेयर अधिकारीले रिट दायर गर्ने बेलामा भवन निर्माणको लागि टेन्डर आह्वान भइसकेकाले भवनको ठेक्का पाउन केही निवेदन पनि परेका थिए । सर्वोच्चको आदेश पाएसँगै अब त्यसउपरको प्रक्रिया पनि सुरु गर्ने तयारी गर्न थालिएको छ । झकलकमा केन्द्र निर्माण गर्नको लागि स्थानीयले ६० रोपनी ८ आना जग्गा निःशुल्क रूपमा नगरपालिकालाई प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->