शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाढीपहिरो छिचोल्दै मनाङ र मुस्ताङका सबैलाई खोप

बाढीपहिरो छिचोल्दै मनाङ र मुस्ताङका सबैलाई खोप


  • ढोरपाटन सम्वाददाता
  • साउन २० २०७८, बुधबार
मनाङको सदरमुकाम चामेदेखि नासों गाउँपालिका भ्याक्सिन लैजाँदै सहयोगी युवा । तस्वीर सौजन्य– सविन खत्री ।

पोखरा/कोरोना भाइरसबाट ज्यान जोगाउन अचुक उपाय नै खोप भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सहर बजारमा मात्र नभई गाउँमा समेत कोरोना विरुद्धको खोप हारालुछ चलिरहँदा हिमाली जिल्ला मनाङ र मुस्ताङका नागरिकले भने खोप पाएका छन् ।
अहिले मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबैजसो नागरिकले खोप पाइसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार अहिलेसम्म जिल्लाका ९ हजार ३०५ जनाले कोरोना विरुद्ध खोप लगाइसकेका छन् ।
नेपालमा अहिलेसम्म उपलब्ध खोप १८ वर्षमाथिका उमेर समूहका लागि हो । मुस्ताङमा १ हजार ४७२ जनाले कोभिशिल्ड, ६ हजार ८०० जनाले जोनसन एण्ड जोनसन र ३२१ जनाले भेरोसेल खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाइसकेको बताए ।
‘कोही काठमाडौं, पोखरा बसेकाले छुट्नुभएको हो, मुस्ताङमा भएका सबै जनाले आजसम्म खोप लगाइसकेका छन्,’ उनले भने, ‘अब मुस्ताङ कोरोनाको पूर्ण खोपयुक्त जिल्ला बनेको छ ।’ १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउने खोप अहिलेसम्म नेपाल भित्रिएको छैन ।
मुस्ताङमा हालसम्म कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएका छन् भने अझै २० जना सक्रिय संक्रमित छन् । हालसम्म ५१७ जना कोरोना संक्रमित भएको मुस्ताङमा ४ सय ५७ जना निको भइसकेको जिल्ला स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।
हिमालपारीकै अर्को जिल्ला मनाङ पनि कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । मनाङको जनसंख्या ६ हजार २९८ जना छन् । जसमा १८ वर्ष माथिका ४ हजार ५ सय जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले अनुमान ग¥यो । त्यही अनुसार खोप मगायो । अनुमान गरिए भन्दा केही कम अर्था ४ हजार १९८ जना नागरिकले खोप खोप लगाए ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा २ हजार ९६ जनाले कोभिशिल्ड खोप लगाए । जोनसन एण्ड जोनसनको खोप २ हजार २७ जनाले लगाए । यस्तै भेरोसेल खोप ७५ जनाले लगाएको आचार्यले बताए । उनका अनुसार अब मनाङका १६५ जनाले कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकी छ ।
कसरी खोप पाउन सके ?
यी दुबै जिल्लाका स्वास्थ्य प्रमुखले प्रदेश र संघ सरकारलाई जिल्लाको अप्ठ्यारो बताएर नै पूर्ण खोप मागेका थिए ।
अन्यत्र जस्तै मनाङ र मुस्ताङ दुबै जिल्लामा माघ दोस्रो सातादेखि खोप अभियान सुरु भएको थियो । भौगोलिक विकटताका कारण पटक पटक खोप अभियान चलाउन नसकिने व्यहोरा जिल्ला स्वास्थ्य प्रमुखहरुले प्रदेश र संघ सरकार मातहतका निकायलाई जानकारी गराए । जिल्लाका सबै नागरिकलाई खोप लगाउन आवश्यक डोज मगाए ।
बाढी र पहिरोले मोटरबाटो अवरुद्ध हुँदा कोही विरामी भए उपचारका लागि अस्पताल लैजान पनि हेलिकप्टर बाहक अरु विकल्प थिएन । हेलिकप्टर उड्न पनि मौसम सफा चाहिन्थ्यो । त्यसमाथि जिल्लाका सबै नागरिक हेलिकप्टर चार्टर गरेर उपचार गर्न अस्पताल जान सक्ने अवस्था थिएन । मनाङका प्रमुख जिल्ला अधिकारी आचार्यले कोभिड संक्रमण भए अस्पताल नभएको,जनसंख्या थोरै भएको तथा बाढीपहिरोका कारण जनता थुनिएकाले खोपको माग गरेका थिए । यता, मुस्ताङका प्रजिअले पनि त्यस्तै तर्कसहित खोप मागेकोमा संघीय सरकार र प्रदेश सरकारले माग गरेअनुसार खोप उपलब्ध गरायो । बाढीकै बीच उनीहरले सबै नागरिकलाई खोप लगाइदिए । १८ वर्षमाथिका सबै नागरिकले खोप पाउने सम्भवतः पहिलो जिल्ला बने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->