बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विश्वकै दोस्रो लामोे जिपलाइन दशैंभित्र सञ्चालनमा आउने

विश्वकै दोस्रो लामोे जिपलाइन दशैंभित्र सञ्चालनमा आउने


  • संजय रेग्मी
  • साउन २५ २०७८, सोमबार

पर्वत/सुपरम्यान शैली र विश्वकै दोस्रो लामो दावी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आउँदो दशैंभित्रमा सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सदरमुकाम कुश्मा नगरपालिका ५, चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो ।
७ जना युवाहरूको करिव १३ करोडको लगानीमा हार्नेश जिपलाइन प्रालिले बनाउँदै गरेको जिपलाइनको ९० प्रतिशत काम सकिएसँगै दशैंमा संचालनमा ल्याउने तयारी थालिएको हो । ‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ । तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ’, कम्पनीका निर्देशक राजकुमार बस्नेतले भने,‘पर्वतमा एडभेन्चर टुरिजमको विकासको लागि यो जिपलाईन पनि महत्वपूर्ण हुनेछ ।’
उनका अनुसार जिपलाईनको परीक्षण अबको १५ दिन जिपलाइनको परीक्षण हुनेछ भने ६ महिनाभित्रमा रिसोर्टसहित सबै संरचना बनाएर पर्यटकहरूलाई मनोरञ्जनात्मक साहसिक खेलसँगै आरामदायी बसाइको व्यवस्था गरिनेछ । जिपलाइनका अर्का लगानीकर्ता एवं संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्यटन प्रवद्र्धनका माध्यमबाट पर्वतको समृद्धि सम्भव रहेको बताए ।
‘छिमेकी जिल्ला कास्कीको पोखरामा जता हिँडे पनि पर्यटकहरु नै ठोकिन्छन् । कुश्माको बाटोहुँदै दैनिक सयौँ पर्यटकहरु मुस्ताङ पुग्छन्, तर यहाँ ओर्लिँदैनन’ नगरप्रमुख जोशी भन्छन्, ‘कालीगण्डकी र मोदी नदीमा अग्ला र लामा झोलुङ्गे पुलहरू र जिपलाइनले यहाँको पर्यटन प्रवद्र्धन हुन्छ ।’
हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ । जेटस्कीको परीक्षण सफल भएमा कालीगण्डकी नदीको सतहमा मोटरसाइकल जस्तै गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने छ ।
निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । क्लासिक जिपलाइनमा पोखराको जिलाइनको लम्बाइ कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रालिको भन्दा बढी हुने भएपनि सुपरम्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीको दावी छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुईजना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एकपटकमा दुई हजार किलो तौल धान्न सक्नेछ ।
कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै मुस्ताङ जाने पर्यटकलाई भुलाउन सुपर म्यान शैलीको पर्वतको जिपलाइन पनि महत्वपूर्ण हुने जिकिर गरे । जिपलाइन निर्माणमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->