बागलुङ/कालीगण्डकीले बनाएको गहिरो गल्छी । त्यहीं गल्छीमा रहेको ठुलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर । दुईभाईका फुटेका दुइघर जस्तै देखिने पर्वतको मुकाम कुश्मा बजार र बागलुङको बलेवा नारायणस्थान गाउँ । यिनै दुई ठाउँको बिचमा पर्छ कहालीलाग्दो पहाड ।
वारीपारी दुवैतिर अत्यासलाग्दो भीर छ । त्यहीं भीर कालीण्डकीको दक्षिण पश्चिमतर्फको भीरमा अहिले मानव बिचरण बढ्दो छ । लाग्थ्यो भीर कहिलै कसैको रोजाई पर्दैन । पहिले घाँस दाउराका लागि समेत नजिक पर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो भएको छ ।
‘द क्लिफ’ले एक वर्ष यता बलेवा र कुश्मा जोडेर बनाईएको पुलमा साहसिक खेल बञ्जी गराईरहेको छ । संसारकै दोस्रो स्वीङ पनि यहीँ छ । बञ्जी र स्वीङ गर्न आउनेको भीड त थामिनसक्नु छँदैछ । त्यो भन्दा धेरै ‘द क्लिफ’ले बनाएका अन्य साहसिक संरचनामा छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानको नेपानेमा २१ रोपनी जमिनमा क्लिफका संरचना फैलिएका छन् । लठ्ठे पिङ, स्काई चियर र कृतिम हत्केला, अत्यासलाग्दो भीरमाथी भ¥याङको सहयताले रुखमा चढ्ने खेल नेपानेमा देखिने संरचना हुन् ।
कालीगण्डकीको किनारदेखि झण्डै ४ सय मिटर अग्लो पहाडमाथी बनेको लठ्ठे पिङ । मेसिनको सहायताले माथी तानेर हुत्याउँदा कालीगण्डकीको बहाव माथी पुगेजस्तै लाग्छ । त्यहिं पिङ खेल्नका लागि नेपाने पुग्नेहरुको ठुलो लर्को लाग्ने गरेको ‘द क्लिफ’का अध्यक्ष राजु कार्की बताउँछन् ।
नेपानेको ढिकमा एउटा कुर्सी बनाईएको छ । विद्युतिय मोटरको सहायताले कुर्सीमा बसेपछि आकाशमा घुम्छ । ‘स्काई चियर’ नाम दिईएको कुर्सीमा जोडी बसेर चिया खाजा खानेहरुको कमी छैन् । युवादेखि बयस्क र बृद्धबृद्धासम्म स्काई चियरमा बसेर चिसोतातो पिउनकै लागि त्यहाँ पुग्ने गरेको कार्की बताउँछन् ।
‘बञ्जिका लागि यहाँ आएको हो, पिङ पनि खेल्न मन लाग्यो, कस्तो डरलाग्दो तर निकै आनन्द आयो’ चितवनको भरतपुरबाट बलेवा आएका विश्वास पोखरेलले भने ‘यहाँ घुम्दा मज्जा आईरहेको छ, भोलिसम्म यहीँ बस्छौं ।’ यहाँ बनिरहेको हत्केलाको आकृतीमा पनि कालीगण्डकीको पानीमाथी बसेजस्तै गरि तस्विर खिच्न सकिन्छ । क्लिफका मनोरञ्जनका साधन प्रयोग गर्दा आकाशमै पुगेको अनुभुती हुने गरेको पोखरेलले बताए ।
‘द क्लिफ’ले नेपाने नजिकै कालीगण्डकीले खोँच बनाउँदा छोडेको पहाड र प्रकृतिको प्रयोग गरेर मानिसहरुलाई बिचरण गराईरहेको छ । बञ्जी, स्वीङ गर्न आउनेहरुका लागि खाना बस्नको लागि सुविधासम्पन्न रिसोर्ट समेत नेपानेमा छ । कोरोना महामारीले थला परेको व्यवसाय बिस्तारै तंग्रिएसँगै संरचनाहरु समेत थप भैरहेको अध्यक्ष कार्कीले बताए । यहाँ निजी क्षेत्रको झण्डै २५ करोड रुपैयाँ लगानी भएको छ ।





