बागलुङ/ कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिवार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ । प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीहरूलाई भने प्रहरीले सहजीकरण गर्ने भएको छ ।
निषेधाज्ञा भएका कारण बागलुङ प्रवेश गर्न तथा हिँडडुल गर्न नै समस्या हुन सक्ने आकलनले परीक्षार्थीहरू अलमलमा परेकै बेलामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रवेश पत्रका आधारमा उनीहरूलाई सहजीकरण गर्ने बताएका छन् । सवारीमा आउने, हिँडेर आउने तथा अघिल्लो दिन र परीक्षा भएको दिनमा पनि होटेलमा बस्नुपर्ने परीक्षार्थीहरूलाई सवारी सञ्चालन सहित होटेलमा बस्नको लागि समेत सहजीकरण गरिएको एसपी मगरले बताए ।
‘परीक्षा सञ्चालन नै हुने भएपछि हामीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरू पालना गर्दै परीक्षा सञ्चालन गर्न भनेका छौँ । जिल्ला बाहिरबाट समेत परीक्षार्थीहरू आउनुहुन्छ । उहाँहरूलाई समस्या हुन नदिन परीक्षा प्रवेश पत्रको आधारमा सवारी चलाउन दिने भनेका छौँ’ उनले भने, ‘शनिवार बिहान साढे सात बजेबाट परीक्षा सुरु हुने भएकाले बाह्य जिल्लाबाट आउनेहरू शुक्रवार नै होटेलमा बस्नुपर्ने हुन्छ । त्यसका लागि पनि हामीले होटेल बसाइमा सहजीकरण गर्ने छौँ ।’
लोक सेवा आयोगको बागलुङ कार्यालयकी प्रमुख खिमा कुमारी पोखरेलका अनुसार लोक सेवा आयोगको कार्यालय पोखराले नायव सुब्बाको पद पूर्तिका लागि खुलाएको विज्ञापनमा परीक्षा दिनका लागि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका परीक्षार्थीहरूलाई लोक सेवा आयोगको बागलुङ कार्यालयमार्फत परीक्षा सञ्चालन गर्न लागिएको हो । शनिवार नायव सुब्बाको प्रथम पत्रको ४५ मिनेट समयको परीक्षा हुन लागेको हो । परीक्षामा सहभागी हुन लागेका आठ सय २० जनाका लागि बजारका विभिन्न ठाउँमा चार वटा केन्द्रहरू तोकिएको छ ।





