शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकटका सारथी ‘सुरज’

संकटका सारथी ‘सुरज’


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७८, मंगलबार

बागलुङ/नेपालकै पाँचौ र छैठौं कोरोना संक्रमित बागलुङमा भेटिएका थिए । संक्रमण पुष्टि भएपनि स्वास्थ्य कार्यालयले जानकारी पाउन हम्मे हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन कुरेर बस्नुपथ्र्यो ।
२०७६ चैत १५ गते उनीहरु भेटिएपछि जिल्लाभर ठूलो त्रास फैलियो । पहिलो संक्रमितलाई कुन अस्पतालमा राख्ने भन्ने अन्यौल भयो । संक्रमण पुष्टि भएको दिन राति १० बजेसम्म डिसिसिएमसीका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी समेत अन्यौलमा थिए । पोखरा पठाउन नसक्ने ठहर भएपछि राति १० बजे मात्रै धौलागिरि अस्पतालको आइसोलेसनमा पाँचौ संक्रमितलाई ल्याएर भर्ना गरियो ।

संक्रमित भर्ना गरेपछि अस्पतालले सामान्य औषधि उपचार गराउन लाग्यो । तर, देशभरका पत्रकार, सरोकारवाला, स्वास्थ्य मन्त्रालयसहित सरकारी अधिकारीले नियमित फोन गरेर सोध्ने काम भने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई गर्थे । गुरौले दैनिक सयबढी फोन उठाउनु पथ्र्यो । तर, उनले कहिल्लै झर्केर बोलनन् । एउटै विषयमा पटक पटक जवाफ दिनुपर्ने काम उनको थियो ।सहजै सबैको जिज्ञाशा मेटाउने गर्थे ।
उनले ‘रिक्स कम्युनिकेसन’ अध्ययन गरेका थिए । उक्त अध्ययनमा उनले सिकेको कुराले पहिलो चरणको कोरोना संक्रमणलाई सहजै पार लाउन सकेको बताउँछन् । ‘मैले पढ्दादेखि नै सूचना सही तरिकाले दिनुपर्छ, एउटै सूचना सयौं मानिसलाई दिनुपर्दा पनि रिसाउनु हुँदैन भन्ने पढेको थिएँ,’ उनले भने, ‘पत्रकारलाई सही सूचना दिन सकिएन भने समाजमा नराम्रो सन्देश फैलन्छ भन्ने बुझेरै मैले देशभरबाट आउने फोनमा एकैप्रकारको सूचना प्रवाह गरें ।’ उनले कानमा राखेर बोल्न नमिल्ने भएकोले टेबलमै मोबाइल राखेर लाउड स्पिकरमा बोल्नुपरेको समेत स्मरण गरे ।

बागलुङका २ जना संक्रमित भेटिँदा कन्ट्रयाक ट्रेसिङमा मात्रै ६० जना बढीको पिसिआर गरेको उनले बताए । पहिलो संक्रमित युवतीले भेटिएका मानिस बताउन नसकेपछि आइसोलेसनमै कापी कलम दिएर सम्झँदै, लेख्दै गर्न आग्रह गरिएको उनी स्मरण गर्छन् । उनको सम्पर्कमा आएका सबैजनाको पिसिआर गरिसक्दा संक्रमण बाहिर जान नपाएको हो ।
छैठौं संक्रमित पनि बागलुङमै भेटिइन् । उनलाई अस्पताल ल्याउने विषय धेरै चुनौतीको बन्यो । अस्पतालका चालक मानेनन् । रेडक्रसका चालकले करार भएकोले सुरक्षा ग्यारेन्टी छैन भन्दै चाबी बुझाएर जागिरै छाडेर हिँडे । त्यसपछि स्वास्थ्य कार्यालयका चालक रुद्र पराजुलीलाई लिएर गुरौ आफै गए । पिपिई लगाएर ल्याउँदा केही फरक पर्दैन भनेर आपैm गएको उनले बताए ।

२ जना संक्रमित ल्याएकोले धेरै दिनसम्म डिसिसिएमसी बैठकमा समेत गुरौसहित चालक पराजुलीलाई शंकास्पद रुपमा हेरे । दोस्रो संक्रमित देखिएको चैत २१ गतेपछि बैसाखभर कुनैपनि ‘केस’ भेटिएन । जेठको १४ गते भारतबाट आएका ६ जनामा संक्रमण देखियो । त्यति बेलासम्म पालिका तहमा आइसोलेसन र क्वारेन्टाइन बनिसकेका थिए । पालिका तहका स्वास्थ्य संयोजकले पिसिआर गर्न सक्ने जनशक्ति तयार पारेका थिए ।
कार्यालयले पालिका तहमा भिटिएम पठाइसकेको थियो । पालिकाले गाडी खोजेर सदरमुकामको आइसोलेसन पठाउने व्यवस्था पनि गरे । बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र, निसीभुजी जनता क्याम्पस, गलकोटस्थित २ को स्वास्थ्य चौकीमा समेत आइसोलेसन बनेका थिए । जटिल समस्या भएको अबस्थाबाहेक गाउँघरमै बस्न सक्ने अवस्था बन्यो ।

जिल्लामा पिसिआर मेसिन थिएन । त्यसैले पोखरा पठाउनु पथ्र्यो । स्वाब लिएको १४ दिनसम्म रिपोर्ट नआएर क्वारेन्टाइनमा बसेकाहरु हैरान पर्थे । कतिपयको सँगै बस्ने साथीको पोजेटिभ देखिंदा फेरी दोहो¥याएर क्वारेन्टाइन राख्नुपर्दाको समस्या समाधानमा दोश्रो भेरियन्टमा होम आइसोलेसनको अवधारणा आएको हो भन्छन् गुरौं । तर अहिले होम आइसोलेसनमा बस्नेले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । अल्फा भेरियन्टले बढीमा ३ जनालाई सार्न सक्थ्यो । अहिलेको डेल्टा भेरियन्टले एकजनाबाट ८देखि १० जना सम्ममा संक्रमण सर्छ । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्दा बढी सर्तक हुनुपर्नेमा झन लापरबाही भैरहेको उनले टिप्पणी गरे ।

अस्पतालमा बिरामी मात्रै पुग्छन् । जनस्वास्थ्यले आम नागरिकलाई स्वस्थ्य बनाउन पहल गर्नुपर्छ, त्यसैले बढी सक्रिय र संयमित बन्नुपर्ने उनको भनाई छ । ‘बिरामीलाई के रोग लागेको हो भनेर मात्र उपचार गर्ने अस्पतालको काम हो, तर सबै नागरिकलाई स्वस्थ्य बनाउने अभियानमा काम गर्दा गर्ब लागेको छ’ उनले भने, ‘हामीमा दक्षता छ, तर सही ठाउँमा सदुपयोग गर्ने क्षमता राख्नुपर्छ ।’ नियमित खटाइ र काम गराइले सबै जनता स्वस्थ्य बन्नुपर्छ भन्ने जनस्वास्थ्यको चाहना पुरा गर्न सक्रिय रहेको उनले बताए । गुरौ वरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा २०७६ असोजदेखि बागलुङमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->