आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

थाकेको शरीरमा ऊर्जा भर्ने ‘लाखेनाच र गाईजात्रा’

थाकेको शरीरमा ऊर्जा भर्ने ‘लाखेनाच र गाईजात्रा’


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७८, सोमबार
फाईल तस्विर

बागलुङ/ हा…हो….इ..गाई भैंसीलाई किलो दाम्लो…
बाखरीलाई खोर साईंलो…

बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा गुञ्जिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेत गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जंगलका स–साना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच र गाईजात्रा ।

तीथिको आधारमा हुने हिन्दु संस्कारका चाडपर्व । चाडपर्वसँग जोडिएका लाखेनाच र गाईजात्रा अधिकांश बर्षमा खेतबारीको काम सकेपछि सुरु हुन्छन् । बर्खाको समयमा खेतबारीको कठिन काम, थाकेको शरीर, शिथिल मानसिकतालाई उर्जा भर्ने पर्व हुन बलेवामा लाखेनाच र गाईजात्रा ।
‘घरको काम सकेपछि बलेवा चौरमा लाखे नाचेको हेर्न र गाईजात्रा हेर्न वरिपरीका गाउँबाट आउनेको भीड नै लाग्थ्यो’ बाल्यकाल सम्झँदै नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्री भन्छन् ‘उ बेलाको मनोरञ्जन लिने भनेकै यीनै नाच थिए, साथीभाई भेट्ने थलो बन्थे, अहिले जस्तो सञ्चारका साधन, युट्युव र मोबाईल थिएन, रमाईलो गर्न सबै काम छोडेर चौरमा जम्मा भइन्थ्यो ।’’ गाईजात्रा र लाखे हेर्न पल्टनबाट फर्किएको स्मरण गर्छन् खत्री ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेवार हटिया छ । नेवार समुदायले व्यापार गर्ने थलोलाई हटिया भनिन्छ । भक्तपुरबाट देशका बिभिन्न ठाउँमा छरिएका नेवार समुदाय जस्तै बलेवामा पनि भक्तपुरबाटै आएका हुन् । नेवार समुदायसँग जोडिएको लाखेनाच र गाईजात्रा बलेवा क्षेत्रका संस्कृति हुन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट सुरु भएको छ । तर यसबर्ष भने बलेवामै कोरोना ‘हटस्पर्ट’ बनिरहेकाले नत लाखेनाच भयो न गाईजात्रा हुनेछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी नारायणस्थान परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषका पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन छ । पहिले पहिले गाई र बहरनै निकाल्ने नेवार समुदायले पछिल्लो सयम भने बाँसको डोकोलाई गाईको स्वरुप मान्ने गरेका छन् ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा बलेवामा नाग–नागिनी नाच, झुमा नाच र अन्य प्रहसनसमेत गर्ने चलन छ । ‘गाईजात्रामा ठट्टा गरिन्छ, मृत्यु भएका परिवारका लागि सान्त्वना दिन गाईजात्रामा सामेल सबैले रमाईलो गर्ने चलन हाम्रोमा छ’ बलेवाका नेवार समुदायका अगुवा हरी कुमार श्रेष्ठले भने ‘अन्यत्रको भन्दा हाम्रोमा नाच गान र व्यंग्यको प्रकृति फरक छ ।’ अष्टमीका दिन रोपाई नाच नाचेपछि गाईजात्रा बिधिपूर्वक समाप्त हुन्छ ।

तत्कालिन बलेवा कोटमा पर्ने गाउँहरुमा भदौको पहिलो मंगलबार हरेलो (भूमीपुजा) गर्ने चलन छ । यहाँका नेवार समुदायले नचाउने लाखे हरेलोदेखि तीजको दिनसम्म पर्वका समयमा नचाउने नेवारी परम्परा रहेको नेवार समुदायका युवा नारायण श्रेष्ठले बताए । ‘हरेलो, जनै पूर्णिमा र तीजमा पनि लाखे नचाउने चलन थियो रे’ श्रेष्ठ भने ‘पछि तीजमा गाउने नाच्ने संस्कृति जुधेपछि तीजमा लाखे नाच्न छोडेको बुवाले सुनाउनुभएको थियो ।’
शहरहरुमा नेवार समुदायका संस्कृति, संकृतिको रुपमा मात्रै रहेको भएपनि बलेवामा भने संस्कृतिसँगै पुराना पुस्ताको मनोरञ्जनको थलो गाईजात्रा र लाखेनाच भएको श्रेष्ठ बताउँछन् । सांस्कृतिक रुपमा हुने पुजाआजा र गाईजात्राबाहेक सँगै गाईने गीत र नाचले नेवारी संकृतिको फरकपन झल्काउँछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->