बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बर्षेनि बग्छन् नुनखानी संरचना

बर्षेनि बग्छन् नुनखानी संरचना

पहाडबाट रसाउने नुनिलो पानी छानेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्कालाई थकाली समुदायले नुन बनाउँछन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७८, बुधबार

बागलुङ/ मुस्ताङको छुसाङमा रहेको नुनखानीको संरक्षणका लागि बनाइएका संरचनामा बर्षेनि बाढी, पहिरोले क्षति पु¥याउने गरेको छ । बर्षेनि निर्माण हुने संरचनामा क्षति पुगेपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नुनखानी संरक्षणको काम संकटमा परेको हो ।

छुसाङमा रहेको नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिरोहरुका कारण नुनखानीको संरक्षणका लागि बनाईएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताए ।
नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्कालाई थकाली समुदायले नुन बनाउने गरेका थिए । गत वर्ष १५ लाख रुपैयाँ खर्चेर बनेका २ वटा पोखरीमा यस वर्षको बाढी र पहिरोले क्षति पु¥याएको गुरुङले बताए । ‘हामीले कल्भर्ट, पोखरीहरु निर्माण गरेका थियौं, तर बाढी पहिरोले सधैं क्षति पु¥याउँछ,’ गुरुङ भन्छन्, ‘नुन खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ ।’

गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो । नुनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ । छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पु¥याउने गरेको छ । ‘यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाईदा थियो’ अध्यक्ष गुरुङ भन्छन् ‘अफ्ठेरो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।

यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले नुनको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो । औषधिय गुण भएको नुन खोज्नेहरु धेरै भएपनि खानीमै रहेको प्राकृतिक समस्याका कारण नुन उत्पादन गर्न नसकेको उनले बताए । पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउँछन्, लामो समय नुनको उत्पादनमा काम गरेका छुसाङका बयोवृद्ध पेमा तोर्चे । त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उनले बताए ।

‘सानो लगानीले तटबन्ध बन्ने अवस्था छैन, ठूलो तटबन्ध नलगाएसम्म खानी जोगिएन,’ अध्यक्ष गुरुङले भने ‘खानी पुग्ने सडकमा त अझै धेरै समस्या छन् ।’ एउटै खोला १२ ठाउँमा वारपार गर्दै खानी पुग्नुपर्ने उनले सुनाए । नर्सिङ खोलाले सुरुङ जस्तै बनाएको खोँचबाट छुसाङमा रहेको नुनखानी पुग्न सकिन्छ ।

‘खोँचमा पुल बनाउन सकेमात्रै यहाँ पुग्ने धार्मिक पर्यटकको लागि सहज हुने थियो, योजना त बनाएका छौं, तर हामीसँग स्रोत छैन्’ गुरुङले भने । खानी सञ्चालनमा ल्याउन सके वार्षिक ३० देखि ४० मुरी नुन उत्पादन गर्न सकिने छुसाङका वडाध्यक्ष नविन कुमार गुरुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->