बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढाकाका सामान विदेशमा माग

ढाकाका सामान विदेशमा माग


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

बागलुङ/ नेपाली महिलाले घर घरमा बनाउने ढाकाका सामान विदेशमा पनि माग बढ्न थालेको छ । निषेधाज्ञाले घर बाहिर निस्कन नपाएको समयमा उद्यमी महिलाले इन्टरनेटको प्रयोग गरेर सामान विदेश पठाउन थालेका हुन् ।
अर्डर अनुसारको सामान बनाएपछि महंगोमा सामान बेच्न पाएको उद्यमीले बताए । ‘इन्टरनेटबाटै माग आयो, बुनेर विदेश पठाएँ, राम्रो कमाइ पनि भयो,’ बागलुङ नगरपालिका १० भकुण्डेकी यामकुमारी थापाले भनिन्, ‘अमेरिका बस्ने नेपालीलाई ढाकाको एउटै साडी १४ हजार रुपैयाँमा बिक्री गर्न सकें ।’

कोरोना संक्रमणका कारण पसल बन्द भएकैबेला फोनमा आएको अर्डरबाट ५ वटा साडी, ४ वटा कोट र रुमाल लगायतका सामान अमेरिका पठाउन सफल भएको थापाले बताइन् । अर्डरबाटै अस्ट्रेलिया र युरोपका देशबाट पनि उनीहरुको सामान निर्यात भएको छ ।

सदरमुकाममा डेरा लिएर बसेकी थापाले दशकदेखि ढाका बुन्ने काम गर्थिन् । यसअघि छिमेकीलाई बेच्ने सामान पछिल्लो समय कोसेली घरमार्फत बेचेकी थिइन् । बिस्तारै विदेशबाट माग आएपछि उनको व्यवसाय बढ्दै गएको छ । साडीलाई १८ देखि २० हजारसम्म पनि उनीहरुले बेचेका छन् । कोट १० देखि १५ हजार सम्मका छन् ।

ताराखोलाकी गौमाया रोकाले पनि ढाका बुनेर विदेश पठाउन सकेको बताइन् । केही सामान कुरियर र केही आउने जानेसँग पठाएको रोका बताउँछिन् । ‘सुरु सुरुमा एकदुई जनाले अर्डर गरेपनि कसरी पठाउने भन्ने अन्यौल थियो, अहिले सजिलै भएको छ’ पुनले भनिन्, ‘केही महिनादेखि सटर छाडेर कोठामा काम गरिरहेकी छु ।’ भाडा महंगो पर्ने भएकोले उनले कोठाबाटै काम गर्न थालेको बताइन् ।

ढाकाको सलमा रोजाई अनुसारका बुटा भरेर पठाउँदा १८ हजार रुपैयाँसम्ममा बिक्री गर्न सकेको रोकाले बताइन् । विदेशमा बस्ने नेपालीले ढाकाको सामाग्री बढी रुचाउने गरेको उनको अनुभव छ । ‘विदेशबाट माग्नेलाई चिटिक्क र फिनिसिङ राम्रो हुनुपर्छ,’ रोकाले भनिन्, ‘मेहेनत गरेमा सामान जतिपनि बिक्ने रहेछन् ।’ माग अनुसार काम गर्न भ्याइनभ्याई भएको उनले बताइन् । विदेशबाट भांग्रो पनि माग गरेपछि उद्यमीले अर्डर अनुसार पठाउने गरेको रोकाले बताइन् ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङले उद्यमीलाई मेसिन र प्रविधि हस्तान्तणमा साथ दिएपछि ग्रामीण क्षेत्रका महिलाहरु उद्यमी बनेर कमाउने बढेका हुन् । एकल महिला, बिपन्न र दलीत तथा जनजाती समूहका महिलालाई छनौटमा राखेर लगानी गरेको कार्यालयकी प्रमुख गुमादेवी रिजालले बताइन् । लगानी गरिएका अधिकांस उद्यमीले ढाका कपडाका सामाग्री बनाएर मासिक ३० देखि ४० हजार कमाउन सक्ने भएका हुन् । ढाकाको पच्छ्यौरा, झोला, टोपी लगायतका सामाग्री बनाएर बजार र विदेशमा समेत उनीहरुले बेचेका छन् ।

पतिको मृत्युपछि परिवारले सहयोग नगर्दा थापाले ४० हजार ऋण खोजेर ढाका बुन्न थालेकी हुन् । ३ वर्षअघिसम्म उनको मासिक कमाइ १३ हजार मात्रै थियो । विदेशमा सामान पठाउन थालेपछि भने ४० हजारसम्म कमाउन थालेको बताइन् । ‘अर्डर आएपछि एकछिन पनि फुर्सद छैन, कमाई पनि राम्रो बढ्यो,’ थापाले भनिन्, ‘कतिपय स्थानमा प्रशिक्षकको रुपमा पनि बोलाउने गर्छन् ।’ प्रशिक्षणमा जाँदा उनले मासिक ४० हजार र खानेबस्ने सुविधा पाएको सुनाइन् ।
अनुदान दिँदा कुल रकमको ८० प्रतिशत कार्यालयले र २० प्रतिशत उपभोक्ताको लगानी गर्नुपर्ने प्रावधान छ । असार महिनामा मात्रै २० जना महिलालाई ढाका बुन्ने जकेट मेसिन, ४ जनालाई सिलाई कटाइ, १ जनालाई काठ चिर्ने मेसिन हस्तान्तरण गरिएको रिजालले बताइन् । सीपतर्फ कार्यालयले कम्तिमा ४५ दिनको तालिम दिने गरेको हो । व्यावसायिक उत्पादन थालेका अधिकांश महिलाले डेढ लाख मूल्य पर्ने मेसिन अनुदानमा पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->