बागलुङ/थोरै लगानीमा साना तथा मझौला उद्योग सञ्चालन गर्न अब टाढा जानु पर्दैन । व्यवसाय गर्न चाहने युवा तथा व्यवसायीका लागि स्रोतसाधन सम्पन्न स्थानको व्यवस्था स्थानीय सरकारले नै गर्छन् ।
जग्गाको अभाव र पूर्वाधारको अभाव देखाउँदै गाउँ छोड्ने युवाहरुलाई आर्कषित जिल्लामा धमाधम औद्योगिक ग्राम स्थापन भैरहेका छन् । गत बर्ष जिल्लाको ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकाले औद्योगिक ग्राम निर्माणको काम थालेका थिए । चालु आर्थिक वर्षमा काठेखोला गाउँपालिकाले पनि औद्योगिक ग्राम स्थापनाको काम अघि बढाएको हो ।
सडक, पर्खाल, विद्युत, खानेपानी, शौचालय र कार्यालय प्रयोजनका लागि आवश्यक भवनसमेत तयार गरेर औद्योगिक ग्राम बन्ने चरणमा रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए । गाउँ गाउँमा साना तथा मझौला उद्योगहरुको स्थापना गरेर उत्पादन बढाउन प्रदेश सरकार र संघीय सरकारले लगानी गर्नेछन् । जग्गा व्यवस्थापन र पूर्वाधार निर्माण तथा व्यवसायीलाई आकर्षण गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ ।
ताराखोला गाउँपालिकाले पहिलो चरणको काम सकेको छ । भवन, पानी र पर्खालको काम बाँकी रहेको अध्यक्ष घर्तीले बताए । गत आवमा ६४ लाख रुपैयाँ खर्चेर ताराखोलामा औद्योगिक ग्रामका संरचना निर्माण भएका थिए । १ सय ३८ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना गरिएको हो । ‘अहिलेसम्म कोही कसैले उद्योग स्थापना गछुर्् भनेर आएका छैनन्, काम सकिएपछि पहल थाल्छौं,’ घर्तीले भने, ‘काठ, ढुंगा, पानी, आलु र खाद्यान्नसँग सम्बन्धित उद्योगहरु स्थपाना गर्ने लक्ष्य छ ।’
चालु वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि बजेट पाएको काठेखोलाले ७ रेशमा १ सय २० रोपनी जग्गा लिएको छ । ९७ लाख रुपैयाँको लागतमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिबेदन तयारीको काम भइरहेको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । ‘वन र कृषिजन्य उद्योगहरु स्थापना गर्ने लक्ष्य छ, एक वर्षमा काम सकेर उद्योग स्थापना थाल्छौं,’ लामिछानेले भने, ‘पिउने पानी र स्लेट ढुंगाको उद्योग राख्ने योजना छ ।’
बागलुङ नगरपालिकाले वडा नं. १३ को कालाखोलामा ८४ रोपनी जग्गा कालीगण्डकीको तिरमा घेराबार गरेको छ । सडक, पानी शौचालय लगायतका संरचना तयार भैसकेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘विद्युतको हाइटेन्सन लाइन नहटाईदिएका कारण समस्या भएकोे छ, बाँकी काम धमाधम भैरहेका छन्’ पौडेलले भने ‘साना उद्योगीहरुको व्यवस्थापनमा सहज हुनेछ ।’
बढ्दो सहरीकरण रहेको बागलुङ नगरपालिकामा जग्गाको अभावमा उद्योग सञ्चालन गर्नबाट बञ्चित युवा पुस्ताको लागि औद्योगिक ग्रामले सहयोग पु¥याउने प्रमुख पौडेलले बताए । बागलुङ नगरको औद्योगिक ग्राममा पनि पानी उद्योग र ढुंगाको स्तरीकरण तथा कटिङ गर्ने उद्योग प्राथमिकतामा छन् ।





