किसानले तिब्बतमा लगेर ऊन बेच्ने गरेकोमा कोरोना महामारीले लोमान्थाङको नाका नखुलेपछि ठप्पै थियो ।
बागलुङ/ नेपाली पश्मिना उद्योगका लागि मंगोलिया र चीनबाट ल्याउने उनको विकल्पको रुपमा मुस्ताङका भेडाच्यांग्राको भुवा प्रयोग गरिने भएको छ ।
मुस्ताङका किसानले पालेका भेडाच्याङग्राको ऊन खेर गैरहेको थाहा पाएपछि नेपाल पश्मिना संघले यो पहल गरेको हो । संघका पदाधिकारीले मुस्ताङका किसानको भुवा संकलन गर्नका लागि केन्द्र समेत स्थापना गरेका छन् ।
यसअघि केही किसानले तिब्बतमा लगेर भुवा बेच्ने गरेकोमा २ वर्षदेखि बेच्न पाएका थिएनन् । कोरोना संक्रमण र निषेधाज्ञाले घरघरमै कुहाएर फाल्न बाध्य भएका किसानले भुवा संकलन केन्द्र स्थापना भएपछि खुसी समेत भएका छन् । उनीहरुले अब नेपाली पश्मिना संघको संकलन केन्द्रमा भुवा दिनेसमेत बताए ।
पासाङ जस्तै चराङका आसुगेले गुरुङ र लाक्पा छेन्जोले पनि केन्द्रमे भुवा बेच्ने बताए । किसानले तिब्बतमा लगेर ऊन बेच्ने गरेकोमा कोरोना महामारीले लोमान्थाङको नाका नखुलेपछि ठप्पै थियो । तिब्बतको दामाकोलोमा बर्षको दुइपटक बैसाख र कात्तिकमा लाग्ने मेलामा किसानले ऊन बिक्री गर्थे ।
‘नगदमा भए प्रतिकेजी ४ हजार देखि ४ हजार ५ सय र साटासाट गर्ने भए दैनिक जीवनका सामानसँगै साट्ने गर्थे’ दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले भने, ‘दुइ बर्षदेखि मेला नलागेकोले किसान मारमा परेका छन् ।’ किसानको उत्पादन खेर गैरहेको उनले बताए ।
नेपाली ऊन लगेर चीनले प्रशोधन गरेपछि धागो नेपालमै बेच्ने गरेको उनले बताए । नेपालका पश्मिना व्यवसायीले चीन र मंगोलियाबाट बर्षेनी करोडौंको पश्मिना धागो आयात गरिरहेका छन् । कोरोना संक्रमणपछि आयात ठप्प जस्तै छ । उत्पादन घटाएको संघले मंगोलियाबाट मात्रै बर्षमा १ सय ९५ टन तयारी धागो आयात गरिरहेको उपाध्यक्ष धन लामिछानेले बताए ।
उत्पादन बेच्न चाहेका किसान र आयात प्रतिस्थापन गर्न खोजेका व्यवसायीले साउन दोश्रो साता मुस्ताङमा भेटेरै व्यवसायिक सम्झौता गरेका थिए । किसान भेटेपछि संघले मुस्ताङका भेडाको ऊन खरिद गर्ने योजना बनाएको हो । चराङमा ऊन संकलन केन्द्र समेत स्थापना गरिएको संघका पूर्व अध्यक्ष पुष्पमान श्रेष्ठले बताए । ‘हामीले केही ऊन त खरिद गरेरै ल्यायौं, किसानलाई संकलन केन्द्रमा जम्मा गर्न पनि भनेका छौं’ श्रेष्ठले भने, ‘अब व्यवस्थित रुपमा नेपाली ऊनलाई पश्मिना बजारमा ल्याउँछौं ।’
खेर गएको र संकलन गरेर राखेको उन बिक्री नभएर निरास भएका किसानलाई संघका पदाधिकारीले खरिद गरिदिने आश्वासन दिएपछि किसान पनि हौसिएको बिष्टले बताए । उनीहरुले साउन दोश्रो साता मुस्ताङबाट झण्डै ३ टन ऊन खरिद गरिसकेका छन् । ‘हामीले चराङमा एउटा संकलन केन्द्र समेत बनाएका छौं, किसानले लोमान्थाङमा पनि केन्द्र चाहियो भनेका छन्’ लामिछानेले भने, ‘संघको बैठक बसेर अर्को केन्द्रपनि बनाउने तयारी छ ।’





