शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !

कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७८, शनिबार

शुक्लागण्डकी ८ मा वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिएका छन् ।

पोखरा –  नेपाली कांग्रेसको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनमा अधिकांश वडा कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केहीमा चुनाव भए । केही जिल्ला र वडामा बाढीपहिरोका कारण अधिवेशन स्थगित भए भने कतै विवाद पनि ।
बाढीपहिरोका कारण पोखरा २० को वडा अधिवेशन स्थगित भएको छ । कांग्रेस कास्कीको निर्वाचन समितिको बैठकले २१ गते अधिवेशन गर्ने गरी उक्त वडाको अधिवेशन स्थगित गरेको हो । पोखरा महानगरपालिका र ४ वटा गाउँपालिका रहेको कास्कीमा जम्माजम्मी ७२ वटा वडा छन् । जसमा अधिकांश वडामा सर्वसम्मत नेतृत्व छानिएको कास्की कांग्रेसका निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।
कास्कीमा नेपाली कांग्रेसका १९ हजार १४२ जना क्रियाशील सदस्यबाट २ हजार १९ जना क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।
बाढी र पहिरोका कारण नवलपुरका कुनै पनि वडाको अधिवेशन शुक्रबार हुन सकेन । कांग्रेस नवलपुरका सभापपति विष्णुप्रसाद लामिछानेका अनुसार बाढीका कारण जिल्लाका पहाडी पालिकामा जान सक्ने अवस्था नै नरहेकाले अधिवेशन स्थगित भएको हो । ‘अविरल बर्षाले बाटाघाटा क्षतविक्षत छन्,’ गण्डकी प्रदेशका सांसद समेत रहेका लामिछानेले भने, ‘नवलपुरका सबै वडाको अधिवेसन २१ गतेका लागि सारेका छौं ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको गहृ जिल्लासमेत रहेको नवलपुरमा ९२ वटा वडा छन् । जहाँबाट १ हजार ८४२ जना क्षेत्रीय प्रतिनिधि चुनिने छन् ।
यता, बागलुङ जिल्लामा पनि कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत वडा तहमा जान ढिलाइ भएका कारण स्थगित हुन पुगेको बागलुङबाट निर्वाचित कांग्रेस सांसद एवं गण्डकीका पर्यटनमन्त्री मणिभन्द्र शर्माले बताए । बागलुङमा २१ गते वडा अधिवेसन गर्ने निर्णय भएको उनले जानकारी दिए । बागलुङमा ८५ वटा वडा छन् ।
पर्वतमा कांग्रेसको वडा अधिवेशन भइरहेको गण्डकी पदेश सांसद ललितकला गुरुङले बताइन् । केही वडामा सर्वसम्मत भएपनि केहीमा चुनाव भएको उनले जानकारी दिइन् । बाढी र पहिरोका कारण पर्वतमा फोन सम्पर्क टुटेकाले वडा अधिवेशनको विवरण आउन नसकेको उनले बताइन् । पर्वतमा ६१ वटा वडा छन् ।
गण्डकीमा कांग्रेसको धेरै नेता रहेको जिल्ला तनहुँमा पनि शुक्रबार वडा अधिवेसन भएको छ । तनहुँमा रहेका ८५ वटा वडा मध्ये ५० वटा वडामा सर्वसम्मत नेतृत्व चुनिएको तनहुँका सभापति बैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार बाँकी वडामा भने निर्वाचन भएको छ । तनहुँबाट १ हजार ७५० जना क्षेत्रीय प्रतिनिधि चुनिँदैछन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ८ मा भने अनौंठो घटना भएको छ । निर्वाचन प्रक्रिया सुरु भएपछि उक्त वडामा सर्वसम्मतिका लागि छलफल चलिरहेको थियो । वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिए । उक्त वडा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको वडा हो ।
वडा सभापतिका लागि महत पनि दाबेदार थिए । निर्वाचन अधिकृत कृष्ण लम्सालसँग निर्वाचन सम्बन्धी कागजात खोसेर महतले लगेपछि उक्त वडाको अधिवेशन स्थगित भएको जिल्ला सभापति न्यौपानेले जानकारी दिए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको वडा व्यास नगरपालिका २ र पुरानो गाउँ वडा नं. ८ मा निर्वाचनबाट नेतृत्व छानिएको छ ।
कांग्रेसको वडा अधिवेशनका क्रममा लमजुङमा पनि अधिकांश वडामा सर्वसम्मत नेतृत्व छानिएको छ । लमजुङमा रहेका ७५ वडा वडा मध्ये ५० वटा भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन भएको क्षेत्रीय सभापति वृषराज गुरुङले जानकारी दिए । उनका अनुसार लमजुङको सबै वडा अधिवेशन सौहार्दपूर्ण भएको छ ।
स्याङ्जामा रहेका ९७ वटा मध्ये ३ वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ । कांग्रेस स्याङ्जाका प्रवक्ता इन्द्र गोदारले ३ वटा वडामा आवश्यक मात्रामा मात्र उम्मेदवारी परेकाले ती वडाका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको बताए । स्याङ्जाका ९७ वडा मध्ये अधिकांशमा सर्वसम्मत नेतृत्व छानिएको छ । केही वडामा भने निर्वाचन भएको प्रवक्ता गोदारले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->