अघोर, अजीव, अग्नि, आदित्य आदिको शहर छोडी रेलले पश्चिमको लक्ष्य साँध्यो । वाराणसीदेखि मथुरा पुग्न करिव चौध घण्टा लाग्ने हुनाले म शयन कक्षमा थिएँ । झोला सिरानी राखेर सुतेको मेरा कानमा रेलको घट्याक–घट्याक आवाजसँगै अघोरको आमाचकारी गालि गुञ्जिरहेको थियो । अनायास आँङमा काँढा उम्रिन्थे, जाडो महसुस हुनु र थर्र काँप्नु नौलो कुरा थिएन । मनमा डर र अघोरप्रतिको नजानिदो श्रद्धा यथेष्ट थियो । सुतिरहेको म अचानक झस्कन्थेँ । आँखा खोल्दा नाँचिरहेको पंखा, रेलको फलामे जाली र निर्जीव लाग्ने सजीव मान्छेहरु । निदाएका उनीहरु स्वाँस्वाँ आवाज निकालिरहेका थिए । बत्तिएको एक्सप्रेस, पंखाको आवाज र स्वाँस्वाँ ध्वनी; जागा रहेको मलाई ती आवाजका मिश्रण मीठो संगीत लागिरहेको थियो । उषः कालमा रेल आग्रा पुग्यो । रेलको झ्यालबाट म अकबरको नगर नियालिरहेको थिएँ । नगरका नागरिक रेलका लिक तथा लिकआडका झ्याङमा शौच गरिरहेका । अनौठो कुरा त के भने ती हरेकका हातमा स्मार्टफोन थियो । फोर जी इन्टरनेटको दूनियाँमा हराइरहेका उनीहरुलाई बाहिरी दूनियाँको कुनै प्रवाह थिएन । ठिटाहरु त शायद शौचसँगै पब्जीको मोज उठाइरहेका थिए । सबै बुझेर पनि केही नबुझेका मानिसको त्योभन्दा गतिलो उदाहरण के होला ? चर्पि नहुनेका हातमा गुगल! त्यो आँफै प्रतिको अनौठो व्यङ्गय थियो ।
नौ बजे म मथुरा ओर्लेँ । बिहानको भोजन भन्दा साँझको छानो मेरा लागि महङ्खवपूर्ण थियो । म डिगगेट पुगेँ । मलाई जानु थ्यो त बंगाली घाट । डिगगेटमा एकजना अधबैँशे मानिस भेटिए, जो बंगाली घाट जाँदै रहेछन् । पैदल हिँडिरहेका हामीबीच कुराकानी चलिरहेको थियो । उनका कुरामा भने एककिसिमको आडम्बर झल्किरहेको । उनी बारम्बार ‘मै यहाँका लोकल हुँ’ भट्याइरहन्थे । मलाई बंगाली घाट पुग्नु परेकोले मैले उनलाई झेलिरहेँ । त्यो प्रकृया मलाई ’आफ्नो दुनो सोझाउन कोरीका पाउ मोल्नु‘ भनेझैँ लागिरहेको थियो । बाटोमा द्वारीकाधीशको मन्दिर आइपुग्यो । उनले मलाई दर्शक गर्न सुझाए किनकि मन्दिर बाह्रबजे बन्द हुनेवाला थियो । मैले बाटोबाट हेरेर दर्शनका लागि नजाने भन्दा उनले मलाई अनौठो नजरले हेरेका थिए । मलाई वास्तवमा मन्दिरको वास्तुकला हेर्न मन पर्छ, पूजाआजा मेरो टाउको दुखाईको बिषय थिएन । मथुरा पुगेर द्वारिकाधीश नछिर्ने अल्पसँख्यकमा म पनि थपिएँ । हामी बंगाली घाट पुग्यौँ । उनी छुट्टिए । नेपाली धर्मशाला पुगेर आनो सामान राखी सञ्चालकलाई मैले स्वादिष्ट भोजन(भात) पाइने ठाँउ देखाइदिन अनुरोध गरेँ । हामी केही दुरी परको एउटा होटलमा छिर्योँ । अनौठो कुरा, अघिका स्थानिय दाजु सोही होटलमा भाँडा माझिरहेका थिए । मलाई अजिव लाग्यो र उनलाई बोलाएँ । मलाई देखेर उनको चेहेराको रङ बदलियो । हामीले भलाकुसारी गयौँ । उनी नेपाली पो रहेछन् । मलाई देखेर डराए रे! उनीबाट त्यहाँका दुर्जनसँग बच्न स्थानिय हुँ भन्नुपर्छ भन्ने कुराको बोध मलाई भयो । सोच्दै जाँदो त्यो उपाय मलाई गज्जव लाग्यो, तर मैले उक्त सूत्रको प्रयोग भने कतै गरिन ।
दिउँसो म गोकुल हान्निएँ । गोकुलबाट फर्केर वृन्दावन । वृन्दावन वास्तवमै अनौठो स्थान छ । त्यहाँका लगभग सबै रुखमा फेदबाट हाँगा पलाएका र ती हाँगाले एकअर्कालाई अड्ढमाल गरेका हुन्छन् । ब्रजवासीको मत यो थियो कि कृष्णले रासलिला गरेको स्थान भएकोले त्यहाँ रुखविरुवाले समेत रासलिला गर्छन् । मलाई त्यो कथ्य अनौठो लाग्यो । अझ विशेष गरिकन निधिवनमा संरक्षण गरेर राखिएका रुखहरु । सयौँका संख्यामा रहेका ती रुखका हाँगा एकअर्कोसँग यसरी बेरिएका छन् जून दुरुस्तै दुई मानिसले एकअर्कालाई अँगालेको जस्तो छ । ती हाँगा पछाडीको सत्य कारण के थियो त्यो खोजको बिषय होला तर त्यो दृश्य मलाई बडा अजिवको लाग्यो । सोही निधिवनमा एक्कासी मलाई कसैले झापड हान्यो । म रन्थनिएँ । कन्चट तातेर आयो, कान रात्तिए । तर मलाई झापड हान्ने कोही मानव नभएर बाँदर थियो । बिडम्बनाको कुरा, उसले मेरो चस्मा थुतेछ । पलभरमै मेरो ढ्याके चस्मा टुक्राटुक्रा ।
साँझ म इस्कोनको मन्दिर पुगेँ । इस्कोनको मन्दिरमा मैले गैरभारतीय भक्तजनको संख्या बढि पाएँ । विशेष कुरा त के भने, त्यहाँ सारी लगाएका र चन्दन दलेका पश्चिमी नारीहरु शास्त्रीय संगीत सँगै ‘हरे कृष्ण’ गाइरहेका हुन्छन् । त्यहाँ सङ्ग्राहलय पनि छ जहाँ इस्कोन धर्मगुरुसँग सम्बन्धीत कुरा संग्रहित छन् । इस्कोनमा एउटा पुस्तक र बाँसुरी किनेर म प्रेम मन्दिर लागेँ अर्थात म हरे कृष्ण छोडि राधेराधे पट्टि लम्किरहेको थिएँ । यात्रामा छिरेका मन्दिरमध्ये मलाई सबैभन्दा आकर्षक प्रेम मन्दिर लाग्यो । मन्दिरको वास्तुकला, चौरमा रोपिएको हरियो दुबो, त्यसमाथि कृष्णलिलालाई कलाले दिएको मूर्तरुप, वास्तवमै प्रेम मन्दिर कलाको विशेष नमूना हो । साँझसम्म त्यही बसेको मैले अर्को अनौठो दृश्य देख्नु थियो । देखेँ पनि । साँझ उक्त मन्दिरको पोखरीमा पानीका फोराहरुबीच कृत्रिम कृपालुजी महाराजलाई उत्पत्ति गराइन्छ । यसो हुनासाथ राधेराधेको समवेत तुमूल ध्वनीको प्रसारण हुन्छ र उनका अनुयायीहरु आ–आना स्थानमा नतमस्तक हुन्छन् । त्यो अद्भूत दृश्यको साक्षी भएर म मथुरा फर्केँ । यमुना किनारमा गरिएको आरती सकिनै आँटेको थियो । केहीबेर किनारमा मानिस र बाँदरबिच समय काटेर म धर्मशाला फर्केँ । धर्मशालामा बीसजना नेपाली उपस्थित थिए । उनिहरुको घर बिराटनगरमा रहेछ । दीपावलीमा गोकुलमा दीप बाल्ने मनोकांक्षा सहित उनिहरु आएका रहेछन् । पण्डाले उनिहरुलाई आश्रय दिए । पकाउने भाँडा र सुत्ने कोठा पनि देखाइदिए । मेरा लागि भोजनको व्यवस्था पनि भयो । उनिहरुसँगै खाना खाएको मलाई धर्मशालाका संचालकले सुत्ने ठाँउ देखाइदिए । आकाश छानो, बुढो खटिया, मैलो तकिया, वश् त्यहाँ अन्य केही थिएन । परदेश पुगेर खुला आकाशमुनी सुत्नुपर्ला भनेर मैले चिताएको थिइन । मैले आनाकानी गर्दा उनले उत्तर दिए,
“तूम अकेले हो, रातमे कोही जत्था आया तो उनको देना पडेका कमरा । तूम अकेलेको मे कमरा दे नहि सक्ता ।”
एक्लो हुनुको अर्को बेफाइदा रातले सिकायो । म ढल्किएँ । पण्डा धर्मशालाको सटर तानेर निस्के, भित्र एक्लो म थुरथुर । भुन्भुनाई रहेका लाम्खुट्टेले चिलिरहेका थिए । ओड्ने पातलो भएकोले म काँपिरहेको । आडको घरको छतमा कुस्ती खेलेर बाँदर उपद्रो मच्चारहेका पनि । म अँध्यारो आकाश हेरेर उत्तानो टोलाईरहेको थिएँ । रात निकै छिप्पेपछि मलाई निद्राले गाँज्यो । म निदाएँ । बिहानपख मलाई कसैले चलाईरहेको महसुुस भयो । निद्राका कारण मैले नउठी हातले हटाउने कोशिस गरेँ । अँह, त्यो चिज हट्दैन । निकैबेर भएपछि मेरो निद्रा बिथोलियो । मिच्दै आँखा खेलेको मैले आफ्ना आँखामा लगभग जोडिएका मेराजस्तै आँखा देखेँ । मेरो छातिमा एउटा बडेमानको बाँदर थियो । एक्कासी बाँदर देखेको मेरो सातो उड्यो । मैले चिच्याएर बाँदरलाई हुत्याएँ । बाँदर मौन भएर लुरुलुरु गयो । त्यसपछि भने बिहानको पर्खाइमा झोक्राउनुको विकल्प मसँग थिएन ।

लेखक त्रिवेणी
बिहानै पण्डा आइपुगे । उनि स्नान गरेर आई धर्मशालामा टाँगिएको स्वः राजा विरेन्द्रको तस्विरको आरती गर्न थाले । उनि बेलाबेला भट्याँउथे, श्री पाँच महाराजधिराज सरकारकी जय । म अचम्मित थिएँ । आरती सकिएपछि सोधपुछ गर्दा उनले भने,
“ शुभ पेहेले यिनका आरती होता और बादमे जमूनाजीका, क्यूँकी मे महाराजकी कृपाका नमक खारहा हुँ । ” त्यसपछि उनले भित्र पसी बाँसको आकर्षक वस्तु लिएर आए । त्यसको ढकनी खोलेर खिरिलो सुईरोमा बेरेको लालमोहर देखाए । राजा सुरेन्द्रका पालामा लालमोहर दिई उनका पूर्खालाई मथुराको पण्डा घोषणा गरिएको रहेछ । सोही लालमोहर नै उनको सम्पत्ति रहेकोले नेपाली राजाको आरती उतारेको बोध भएपछि मलाई बेहद खुसी लाग्यो । त्यसपछि भने म वृन्दावन पुगि बाँके बिहारी, सुनको खम्बा लगायतका स्थलहरु घुमेर आग्रा हान्निएँ । ताजमहलमा विदेशीका लागि राखिएको शूल्क सुन्दा होस् उड्यो । पूरा ताजमहल घुम्दा ने.रु चार हजार खर्च हुने हँदा मैले एक हजार तिरी प्रवेशद्वारसम्म पुगेर चित्त बुझाएँ । त्यसपछि मलाई गोवर्धन पुग्नु थियो । म गोवर्धन पर्वततर्फ हान्निएँ । कृष्णले उचालेको मानिने त्यो पर्वत परिक्रमा गर्ने चलन रहेछ । अटोवालाका अनुसार गोवर्धनलाई श्राप परेकाले दिनदिनै यो दबिरहेको छ । बाईस किमी क्षेत्रफल रहेको उक्त पर्वतलाई श्रद्धालु पैदल नै परिक्रमा गरिरहेका थिए । मसँग त्यो क्षमता थिएन । मैले अटोको सहायता लिनुप¥यो । मसँगै अटोमा नेपालको पहाडी भेगका बासिन्दा जस्ता देखिने तीनजना यात्रु थिए । नेपालीसँग स्वरुप मिलेकोले मैले उनीहरुसँग परिचय गरेँ । उनीहरु जम्बु निवासी कस्मिरी रहेछन् । परिक्रमाका क्रममा बाटोमा अनेक तीर्थस्थल भेटिन्थे । अटोवाला दाजुले अटो रोकेर दर्शन गर्न सुझाउँथेँ । सो क्रममा गाह्रो मानेर हिँड्ने एकजना सहयात्री आमालाई मैले डोहो¥याएर लगिदिन्थेँ । उनी मेरो हात समातेर जाने र फर्किने गर्थिन् । निकै पटक यसरीनै उनलाई डोहो¥याएर लाने र फर्काउने गरेपछि उनलाई प्रेमको आभाष भएछ, अनायास उनीबाट मलाई एउटा प्रस्ताव आयो ।
” बेटा तू जम्बु चल्, मेरा कोही नही हे मे तुझे बेटा बनाउँङ्गा । “ परदेशमा त्यस्तो प्रस्ताव सुनेपछि मलाई माताजीको सम्झना आयो । गह भरिएर पनि । हेर्छु त उनीमा म माताजी देखिरहेको थिएँ । मैले रोक्न सकिन, भरिएका आँखाले धर्म निभाए । मैले नेपाल फर्कनुपर्ने र उनीसँग जान नसक्ने भनेपछि उनले मेरा पिताजीको सम्पर्क नम्बर मागिन् । मैले दिएँ । माताजीलाई छोरा म पाल्छु भनेपछि उहाँ आत्तिनुभएछ, मलाई फोनमा रुँदै भन्नुभयो,
“तँलाई एक्लै नजा भनेको, अब तीनले बेच्ने पो हुन् कि !” । मैले माताजीलाई जेनतेन सम्झाएँ । फोन राख्दै गर्दापनि उहाँको वाक्य उही थियो,
”कतै बेच्ने पो हुन् कि!“ । परिक्रमा सकियो । छुट्टिने बेला मेरी अर्की माताजी सुँक्सुँकाउन थाल्नुभयो । हामीले एकअर्कालाई निकैबेर अँगाल्यौँ । उहाँको रोदन रोकिने वाला थिएन । मैले निकैबेर सम्झाउँदा पनि नमानेपछि मलाई मातृत्वको ममताले पगाल्यो । म उहाँसँगै गएँ । रातभर आमाछोराको गफ चल्यो । उहाँको एक्लो जीवन र ईश्वरप्रतिको भक्तिभावको म प्रशंसक हुँ । मैले आफ्ना घरपरिवारबारे सुनाएँ, उहाँले आफ्ना छिमेकी र आध्यात्मिक यात्राबारे चर्चा गर्नुभयो । रातभरमा उहाँले सयौँपटक उहाँसँग जम्बु जाने अनुरोध गर्नुभयो । मैले सम्झाई रहेँ । अन्ततः मैले नेपाल पुगेर माताजीलाई लिएर फर्किने वाचा बाँधीसक्दा बिहान हुन लागिसकेको थियो । छुट्ने बेला माताजीले एउटा कस्मिरी सल ओढाइदिनुभयो जुन मैले मेहफुस राखेको छु । त्यसपछि आँसूले बिदाई गरेकी आमालाई छाडेर म दिल्ली हानिएँ र जयपुरको यात्रा तय गरेँ ।
जयपुर पुग्दा म शिथिल थिएँ । रातभरको अनिदो, यात्राको थकान, मलाई निद्रा र भोक दुबै लागिरहेको थियो । गोवर्धनमा छोडिआएको माताजीको सल्लाह अनुसार म जयपुरदेखि पर जानका लागि बस चढेँ । उहाँका अनुसार जयपुर महङ्गो शहर हो । भोलीपल्ट जयपुरका किल्ला घुम्ने योजना बनाएर म बस चढेँ । केहीघण्टाको यात्रापछि म गाँउजस्तै ठाँउ पुगेँ र केही नखाई सुतेँ । साँझ पटका पड्केपछि मेरो निद खुल्यो । कोठाबाहिर निस्कदा त्यहाँ अर्कै रौनक थियो । मलाई बल्ल दीपावलीबारे थाहा भयो । राती खाना खाएर सुतेको म निदाउन सकिरहेको थिइन । दिमागमा दीपावली दुगुरिरहेको थियो । अघिल्लो वर्ष सडक दुर्घटनामा परि बहिनी अस्पताल बसेकीले टीका लगाइन, यसपाली यात्रामा निस्केको यात्रु घर फर्किन बिर्सेँ । मनमा अनेक विचार आउन थाले । परदेशीलाई पर्व र परिवार कति महत्वपूर्ण लाग्छ भन्ने कुरा मैले पहिलो पल्ट आभास गरेको थिएँ । ममा भावनाको प्रभाव चुलियो । मैले बहिनी र टीका सम्झेँ । हिँडौ भने दीपावलीसम्म नेपाल पुगिदैन नहिँडौ औडाह मात्र मनमा, मेरो मगज तात्न थाल्यो । मैले आफूलाई रोक्न सकिन । सके टीकाको रातिसम्म नभएपनि भोलीपल्ट टीका लगाउँछु भन्ने अठोटका साथ म निस्केँ । मेरो जयपुर घुम्ने सपना दीपावलीले निलिदियो । भोलिपल्ट मथुरा आई हतारहतार कानपुरको रेल चढेँ, त्यसपछि लखनउ । लखनउबाट गोरखपुर हुँदै देशको सिमाना । छिटो गर्ने सुरमा म रेल फेरिरहेँ । त्यो लामो यात्रा र दीपावलीको समय,पञ्जावमा मजदुरी गर्ने बिहारका जनता घर फर्कने भएकोले र रिजर्वेसन नहुनाले जेनरल डिब्बाको यात्रा, करिव पन्ध्र घण्टा उभिएको थिएँ म । अझ रेलमा तेस्रो लिङ्गीले दिने तनाव, त्यो वर्णन बाहिरको कुरा थियो । म कसरी नौतनवा आइपुगेँ मलाई नै पत्तो छैन । दीपावली सकिइसकेकोले म निरास भएर हिँड्दै भैरहवा आइपुगेँ । त्यहाँ अझै पटका पड्किरहेका थिए । बर्सपार्कमा तिहारबारे थाहा लाग्दा मलाई मर्नु भयो । भारतको दीपावली औँशीको दिन रहेछ । मलाई पछुतोले न्याक्यो । बस चढेँ । जयपुर घुम्न नपाएको पछुतो त छँदै थियो भाइटीका लगाउन पाउने खुसी पनि ।
टीकाको दिन घर पुगेको मलाई देखेर माताजीले अँगालो हाली रुदै भन्नुभयो,
”बेच्दिन्छन् भन्ने पिर लाग्याथ्यो ।“ भारतका तीर्थस्थल पुगेर फर्केकाले माताजीले प्रसादबारे सोध्नुभयो । बिडम्बना, मेरो झोलामा कपडा, मुरली र सत्ताईस थाल पुस्तक बाहेक केही थिएन । एकमा अर्को बिडम्बना थपियो । माताजीले भन्नुभो,
“ बल्ल तीनदिन भाछ, टीका लगाउन हुँदैन ।” उति टाढादेखी ताउरमाउर गरी भाइटीका थाप्न आइपुगेको म, लगाइदिने बहिनीको रजस्वाला भएछ । मलाई दिक्दार लाग्यो । कन्चट पड्किन थाल्यो । मैले केही सोच्नै सकिन । एक्कासी आवाज फत्क्यो,
” म त टीका लगाउने हो । “ टीकाको बिषयलाई लिएर घरमा अर्को रँडाको मच्चियो । फूपूले पनि कुल बिर्गिछन् भन्न थाल्नुभो, माताजीको नियम त छँदै थियो । गाँउका हरकोहीले लगाउन नहुने मात्र भने, म एक्लो विद्रोह गरिरहेँ । म आफ्नो जिदमा अडिक थिएँ । एकातिर समाज अर्कोपट्टि म एक्लो, म कराईरहेँ, जिद गरिरहेँ । बिदेशबाट फर्केपछिको घरको पहिलो बिहान मैले आमासँग विद्रोह गर्नुपर्यो । म बिहानभर उफ्रिरहेँ, कराइरहेँ । अन्ततः माताजीले नाक खुम्चाएर हेरिरहँदा मलाई रजस्वाला भएकी बहिनीले भाइटीका लगाईरहेकी थिई ।





