बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौलागिरीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द

धौलागिरीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७८, शनिबार

पोखरा – अबिरल वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्‌गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको थियो ।

मोदी–१ जलविद्युत्‌ आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टाबर पहिरोले ढालेको छ ।

यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत्‌गृहहरूको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आपूर्तिमा अवरोधको कारणले पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ । टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।

प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।

आतपत्कालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युत् सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुरु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुरु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ,’ घिसिङले भने ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->