बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको हो ।
बागलुङमा फलफुल र तरकारी बजारमा ठूलो मार परेको छ । पोखराबाट ल्याइने फलफुल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताए । ‘तीज नजिकिदै तर स्टक छैन,’ केसीले भने, ‘बजारमा स्याउ केरा फाटफुटमात्रै देखिन थालेको छ ।’
स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारी समेत पोखराबाट आउने गरेको छ । सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्ण प्रसाद भट्टराईले बताए । ‘पोखराबाट आउने बाटो धेरै दिन बन्द हुने देखियो, विकल्प छैन,’ भट्टराईले भने ‘बुटवलबाट गलकोट हुँदै बागलुङ बजारमा फलफुल ल्याउने तयारीमा छौं ।’
घुमाउरो बाटो ल्याइएका फलफुल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्नेछन् । अहिले बजारमा चलेको मूल्यभन्दा फलफुल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उनले बताए । चाडपर्वको बेला फलफुलको खोजी धेरै हुने भएकाले घुमाउरो बाटो भएपनि ढुवानी थालेको उनले बताए । तरकारी भने स्थानीय उत्पादनलाई नै प्राथमिकतामा राखिने छ ।
वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका ५, पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरु बताउँछन् । ‘अझै १÷२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।’
खाद्यान्न लगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले पोखरा जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् ।
निर्यातमा पनि समस्या
पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वत लगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा समस्या छ । मुस्ताङको आलु, बागलुङ ताराखोलाको आलु, खसी बोका र दूधको ढुवानीसमेत रोकिएको हो ।
बागलुङको दक्षिण क्षेत्रमा उत्पादन हुने दूध पोखरा पुग्थ्यो । पर्वतको फलेवास र कुश्मा नगरपालिकाका केही गाउँबाट समेत पोखरा निर्यात हुने दुध शुक्रबारदेखि रोकिएको छ । लामो समय उत्पादित वस्तु बजारमा पठाउन नपाउँदा किसान मर्कामा छन् ।





