पोखरा/पोखरा उद्योग वाणिज्य संघको पहलमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका सदस्य उद्योगी/व्यवसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई दोस्रो डोज खोप लगाइएको छ । संघका अध्यक्ष नारायण कोइरालाले खोप अभियानको उद्घाटन गरे ।
पहिलो डोज खोप लगाइएका १४ सय जनालाई शुक्रबार संघको सचिवालयमा नै दोस्रो डोज खोप लगाइएको खोप लगाइएको हो । संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलले पहिलो डोज खोप लगाउन नपाएका व्यवसायीहरुको लागि खोपको व्यवस्थापन पहल सुरु गरिएको छ ।
संघले यसअघि खोपको सुनिश्चितताको लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले खोपको व्यवस्थापन गर्ने प्रदेश सरकार,जिल्ला कोभिड व्यवस्थापन समिति, प्रदेश स्वास्थ्य निर्देशनालय,पोखरा महानगरको स्वास्थ्य महाशाखालाई धन्यवाद ज्ञापन गरे ।





