बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्पादन घट्यो, असोजमा मात्रै बजारमा !

उत्पादन घट्यो, असोजमा मात्रै बजारमा !

‘स्याउ जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जाँदैन । खरिद बिक्रीको काम भइरहेको भएपनि स्याउ टिप्न पाइँदैन ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार
फाईल तस्विर

बागलुङ/ भदौ लागेपछि मुस्ताङमा व्यापारीहरुको चहलपहल छ । कसैले स्याउका बगान हेरेर फर्किएका छन् कसैले बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ र बजारको भेट हुनभने अझै केही दिन कुर्नुपर्नेछ ।

कोरोना संक्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि मुस्ताङको स्याउ बगान किन्न बाहिरी जिल्लाबाट व्यापारीहरु मुस्ताङ पुगेका छन् । निरन्तरको बर्षा, बाढी पहिरोले पनि व्यापारी यसबर्ष ढिलो गरी मुस्ताङ पुगे । तीजअघि नै बजारमा आउने मुस्ताङको स्याउ यसवर्ष पनि बजार ल्याउने व्यापारीको जोडबल थियो । तर, मुस्ताङको स्याउ असोज लागेपछि मात्रै बजारमा आउने छ ।
यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ गाउँपालिका २, मार्फाका किसान राजुप्रसाद लालचनले बताए ।

‘जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जाँदैन,’ उनले भने ‘खरिद बिक्रीको काम भइरहेको भएपनि बगानमा पसेर स्याउ टिप्न पाइएको छैन ।’ गत वर्षभन्दा यसवर्ष मुस्ताङमा कम स्याउ फलेको लालचनले बताए ।
कालीगण्डकी किनार आसपासका फाँटहरुमा भन्दा केही माथिल्लो भुभागको जमिनमा स्याउ कम फलेको छ । ‘हुस्सुका कारण स्याउमा रोग देखिएको छ, जसका कारण स्याउ राम्रो फलेन,’ लालचनले भने, ‘स्याउनको लागि चर्चित मार्फा हो, पुरानो मार्फामा अहिले स्याउ गतिलो फलेन ।’

यहाँको स्याउ असोज १५ पछि टिप्दा मात्रै राम्रोसँग पाक्न पाउने ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापा बताउँछन् । ‘भदौ नलाग्दै बजार पठाउने चलन रहेछ, स्याउको स्वाद पनि नहुने र किसानले राम्रोसँग मुनाफा लिन नपाउने हुन्छ,’ थापा भन्छन्, ‘यसवर्ष समूह र सहकारीमा आवद्ध सबैले असोज १ पछि मात्रै स्याउ टिप्ने निधो गर्नुभएको छ ।’

व्यापारीहरु स्याउ बजार पु¥याउनका लागि आत्तिएको भएपनि किसान र उपभोक्ताको हितका लागि समय तोकिएको थापाले बताए । गतवर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्यांक छ । यसबर्ष गत बर्षको तुलनामा केही कम उत्पादन भएको थापाले बताए । ‘औषतभन्दा पानी धेरै प¥यो, हिउँ पर्याप्त परेन, जसको असर स्याउको उत्पादनमा पर्छ,’ थापाले भने ‘उत्पादन दिने बिरुवाको संख्या बढेको भएपनि हावापानीका कारण उत्पादन घट्ने देखिन्छ ।’
मुस्ताङमा १ हजार ४ सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५ सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमश उत्पादन दिने थापाले बताए । गतवर्ष यहाँको स्याउ बगानबाट प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री भएको थियो । ‘बगानै ठेक्का दिने चलन छ, ठेक्कामा अझै सस्तो पर्छ, फुटकर बेच्दा मात्रै किसानले मागेको मुल्य पाएका छन्,’ थापा भन्छन् ।

मुस्ताङको स्याउ विशेष गरेर दशैं, तिहारजस्ता पर्वहरुमा कोसेलीको रुपमा प्रयोग हुने भएकाले बजारमा माग बढ्दो छ । बागलुङ, पोखरा, चितव, काठमाडौं लगायतका सहरमा यहाँको स्याउ बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->