पर्वत/ कोरोना संक्रमणकम हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाले आउँदो असोज एक गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने भएको छ।
आइतबार नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित बसेको सरोकारवालाहरूको बैठकमा अ संक्रमणको अवस्था निकै कम मात्रामा रहेको र खोप लगाउने क्रम पनि चलिरहेकाले भौतिक रूपमा नै विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए।
नगरप्रमुख रामचन्द्र जोशीले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न भनिएको बताए। लामो समयसम्म विद्यालयहरू बन्द रहँदा शैक्षिक क्षेत्रमा गम्भीर असर परेको तथा अनलाइन कक्षाको पहुँचमा सबै विद्यार्थीहरू आउन नसकेका कारण पनि प्रविधिमा रहेको असमानता कम गर्नका लागि सुरक्षा सतर्कता सहित विद्यालय खुलाउनु परेको उनको भनाइ छ।
‘प्रविधिको पहुँचमा रहेका विद्यार्थीहरूले त अनलाइनका माध्यमबाट पढ्न पाएकै थिए तर सबै विद्यार्थीहरू अनलाइनको पहुँचमा नहुँदा कोहीले अवसर पाउने कोहीले नपाउने भएर प्रविधियुक्त शिक्षणमा असमानता देखिएको थियो’ उनले भने, ‘कोरोना संक्रमण खासै नरहेको अहिलेको बेलामा पनि नपढाउने हो भने कहिले पढाउने? विद्यालय खोल्दा सबै मापदण्डहरू कार्यान्वयन गर्न भनिएको छ। कहीँ समस्या आएमा त्यही अनुसारको निर्णय हुनेछ।’
अभिभावकहरूले समेत अबको अवस्थामा विद्यालयलाई भौतिक रूपमै सञ्चालन गर्न सकिने माग गर्दै आएका थिए। राजनीतिक भेला र बैठकमा सहभागी हुन कोरोनाको जोखिम नहुने तर देश बनाउने बालबालिकाहरूलाई
पठनपाठनमा सहभागी गराउँदा कोरोना सर्ने? भन्दै अभिभावकहरूले राजनीतिक दलहरूको विरोधमा विद्यालय खोल्नुपर्ने बताउँदै आएका थिए।
पर्वतमा यस अगाडि नै मोदी गाउँपालिकाले पालिकाभरका सबै विद्यालयहरूलाई भौतिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो।





