पर्वत / नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्तहरुको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ।विद्युतीय महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले महसुल नतिरेकोको लाइन काटिने पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले जानकारी दिए ।
‘हामीले पाउनुपर्ने रकम कति छ भन्नेबारे हिसाब निकाल्ने काम भइरहेको छ। जिल्लाभर नै कडाइका साथ विद्युत् कटौती गर्दै बाँकी रहेको महसुल उठाउने छौं,’ उनले भने, ‘यो वडाका यति भनेर हामीले राखेका हुँदैनौं, हामीले हाम्रो रिडिङ एरिया बनाएका हुन्छौं । त्यही एरिया अनुसार बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ।’
अभियान सुरु गर्दा साथ सदरमुकाम कुश्माबजार एरियाको केही ठाउँमा मात्रै २३ जनाको विद्युतकटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन्। विद्युत् काटिएका २० जनाबाट २ लाख ६ हजार ८० रुपैयाँ असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाइछ।
अहिलेसम्म विद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन्। ती २३ जनामा सरकारी कार्यालय नपरेको बताउँदै उनले एरिया अनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाईमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत बिद्युत् सेवा अवरुद्ध हुन सक्ने बताए।
सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ। महसुल समयमा नै तिरेमा उपभोक्ताको लागि छुट सुविधा हुँदासमेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्ले बताउँछन् ।
‘तोकिएको समयमा नै महसुल बुझाउनेहरूको लागि छुटको सुविधा समेत रहँदा समेत बक्यौता तिरेर लाइन काटिने अवस्था आउनु भनेको नराम्रो हो’ उनले भने, ‘आखिर जुनै हालतमा तिर्नुपर्ने भएपछि तिर्नमा ढिलाइ किन गर्नु? कसैको बक्यौता छ भने कार्यालयमा आएर वा अनलाइनका माध्यमबाट पनि बक्यौता तिर्न अनुरोध छ।’





