बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दशैंलाई नयाँ नोट : खबरमा मात्रै आयो !

दशैंलाई नयाँ नोट : खबरमा मात्रै आयो !

‘नाेटकाेष हामीसँग भएकाले अरु बैंकहरुले पनि ल्याएका छैनन् होला ! हामीकहाँ नोट आइपुगेको छैन, त्यसैले वितरण गर्न सकेनौं ।’


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/ नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकका बिभिन्न कार्यालयहरु र बाणिज्य बैंकहरुमार्फत सर्वसाधारणका लागि नयाँ नोट वितरण भैरहेको जानकारी राष्ट्र बैंकले गराएको छ । तर बागलुङमा भने नोट पाइनेखबर मात्रै आएको छ ।

दशैंका लागि नयाँ नोट वितरण सुरु भएको खबर पाएर सोमबार बागलुङका विभिन्न बैंकहरुमा पुगेका सर्वसाधारण रित्तो हात घर फर्किएका छन् । पछि भिड लाग्ला भनेर सोमबार नै बैंक पुगेको भएपनि नोट नै नआएको भन्दै रित्तो हात फर्कादिएको जैमिनी नगरपालिका १ का दिपक शर्माले बताए ।

विगतमा नयाँ नोट बाँड्दै आएको नेपाल बैंकको शाखा कार्यालय बागलुङले नोट आइनसकेको जनाएको छ । अन्य वाणिज्य बैंकहरुमा समेत नयाँ नोट आएको छैन । ‘नाेटकाेष हामीसँग भएकाले अरु बैंकहरुले पनि ल्याएका छैनन् होला,’ नेपाल बैंक लिमिटेड शाखा कार्यालय बागलुङका प्रबन्धक अमृत सेवाले भने, ‘हामीकहाँ नोट आइपुगेको छैन, त्यसैले वितरण गर्न सकेनौं ।’

बैंकहरुका लागि ठूलो मात्रामा नोटको आवश्यकता भएमा मात्रै राष्ट्रबैंकले नोट पठाउँछ । नयाँ नोटका लागि मात्रै नोट बोक्ने गाडी नपठाएकाले तत्काल वितरण गर्न नसकिएको उनले बताए । कोभिड–१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । बागलुङमा पनि नोट प्राप्त भएपछि आवश्यकता र मागका आधारमा सबैका लागि वितरण सटही सुरु गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->