आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

राजनैतिक पत्तासाफ

राजनैतिक पत्तासाफ

विगतले वर्तमान र वर्तमानले भविष्य देखाउँछ । दुबै काल भोगिसकेकाले भविष्य उज्ज्वल नदेख्नु स्वभाविकै मान्नु पर्छ ।


  • शिव प्रसाद पाण्डे
  • असोज ९ २०७८, शनिबार
आजभोली नेपालको राजनैतिक वृतमा धेरै प्रयोग भैरहेको शब्द हो -“पत्तासाफ” । यसको शाब्दिक अर्थ हुन्छ – पातै नभएको सिर्खो रुख । यसले शतप्रतिशत शून्य भएको अर्थ दिन्छ । यो शब्दको गुगल सर्च गरि  हेर्दा निचोड यस्तो पाइन्छ –  एक अर्को पाटी आउदो चुनावमा पत्तासाफ हुन्छन् ; पत्तासाफ पारिन्छ । यो आसयका सयौं भाषण र लेख फेला पर्दछन् । यो अतिशयोक्ति र निरपेक्ष भनाइ हो । यो दलियता नस्वीकार्ने मानसिकताको झल्को हो ।  नेताहरुकै आपसी जुहारी हेर्दा पनि एउटा पक्ष त यसमा सोह्रै आना  झुटो हुन आउँछ । यो तिललाई पाहाड बनाउने राजनैतिक खेलखालको च्वाकिलो शैली मात्र  हो भन्न सकिन्छ ।
एउटाको पत्तासाफ हुदैमा र अर्कोको पातमाथि पात खात हुदैमा सर्वसाधारण जन खुसीले नाच्नु पर्ने र दुखले रुनु पर्ने खासै तात्तिक कारण देखिदैन । विगतले वर्तमान र वर्तमानले भविष्य देखाउँछ । दुबै काल भोगिसकेकाले भविष्य उज्ज्वल नदेख्नु स्वभाविकै मान्नु पर्छ । जनताले कसैलाई पत्तासाफ गराउनु पर्ने गुन के लगाएका छौ वा गर्नेछौ भन्ने विश्वास किन गर्ने भन्ने सवाल अनउत्तरित छ । हामीलाई भोट अरुलाई सत्तासाफ गराऊ भन्दै गर्दा के यी कुराहरु पनि थप्न सक्दछौ ? हामी छिपेका दलाल बन्दैनौ । हाम्रो गोप्य लगानी भएका र हामीलाई सहयोग गरेका कम्पनीहरुले सरकारलाई नबुझाएको अरबौ करको रकम असुल गर्दछौ । विदेशी बैकमा भएको पैसा देशमा फिर्ता ल्याउछौ । विभिन्न क्षेत्रको घोषित र अघोषित सिन्डिकेट हटाउछौ । तरकारिमा बिषाधि परीक्षण गराउछौ । सुकुम्बासीको समस्या समाधान गर्छौ । इटाभट्टामा इट्टा मात्र पोल्न लगाउछौ । बचेखुचेका सरकारी उद्योग लिलाम गर्दैनौ । दुई शय रुपैया किलो पर्ने मार्सी चामलको भात घरै पकाएर खान्छौ । —–आदि ।
पाटीभित्र र बाहिर पनि धेरै जानकार विज्ञ व्याक्तित्व नभएका होइनन् । तिनीहरुले वर्तमान राजनैतिक र संवैधानिक बेथिति नबुझेका पनि होइनन् । तिनीहरुलाई ब्रह्माले देखेको कुरा भन्न अन्य पक्षले असर पु-याई रहेको छ । यस्तै हुदा नै सर्वसत्तावाद र तानाशाहा हुर्कने गर्दछ । कति वर्तमानको स्वार्थले र कति भविष्यको लागि हरियो घाँसको पछि लाग्दा पछौरामा सिरक लटपटिए झै लटपटिएका छन् । एक जनाले पछौरा ओडेर गएको अवस्थामा सिरक चोरेर ल्याएछन्  । पछि छिमेकी सिरकको मालिकले आफ्नो सिरक चिनेर फिर्ता माग्दा उनी अप्ठ्यारोमा परेछन् । सिरक फिर्ता गर्नै पर्ने अवस्थामा आफु चोरको दोषबाट बच्न यसो भनेछन् – मैले यो सिरक चोरेको होइन । पछौरा ओडेर गएको बेला त्यहि पछौरामा लटपटिएर आएछ । हामी पत्याउनको लागि जन्मेका पत्याउनै प-यो ।
पैसाविना राजनीति हुन छाड्यो भनेर नेताले स्विकारेको अवस्था छ । योग्यता, विज्ञता, कार्य क्षमता र आवस्यकतालाई राजनैतिक नियुक्तिको मानक बनाउनु पर्ने हो । यसमा आफ्नो र अर्को पाटी भन्नू नपर्ने हो । यी कुरा त भर्सेलैमा जाहोस् ठीकै मानौ । पहिलो प्रथमिकता नातावाद र दोस्रो प्रथमिकता कसको वढी भ्रष्टाचार  गर्ने कला र अनुभव छ हेर्ने गरिन्छ । चुनावमा टिकट  पनि यस्तै गैर राजनैतिक व्याक्तिले पाउने गर्दछन् । वर्तमानको यो यथार्थलाई प्रष्टाउन जनमत संग्रह  अघिको पंचायती  कालमा घटेको एउटा सत्य परिघटना दिदा सान्दर्भिक होला भन्ने लाग्दछ ।

एकजना कडा स्वभावका अञ्चलाधिश  जिल्ला दौडाहामा निस्के । उनले ठाउँको ठाउँमा फटाहाहरुलाई कारबाही गर्ने गर्दथे । उनले दौडहाको क्रममा एक जना नामुद फटाहालाई पक्रेर आफ्नै टोलीसंग हिडाए । एक ठाउँमा पुग्दा एउटा लेनदेनको मुद्दा आयो । असामीले चार वर्षको व्याज र आधा साँवा चुक्ता गरि तमसुकमा दरपीठ गरेको दाबी गर्दथे । उता साहुले भने कुनै रकम नपाएको दरपिठ नभएको तमसुक सबुत स्वरुप देखाउथे । मुद्दा छिनोफानो गर्न अप्ठ्यारो परिरहेको अवस्थामा ती फटाहाले भनेछन् – श्रीमान् ! यो तमसुक एकचोटि मैले हेर्न पाए सत्यता पत्ता लगाउने थिए ।त्यो तमसुक हेर्न दिइएछ । फटाहाले तमसुक हेरि सकेपछि भनेछन् – असामीले भने अनुसार पैसा बुझाएको देखिन्छ । किनभने तमसुकको माथि बीचमा ” श्री” लेखिएको हुन्छ । डेड इच्च मार्जिन छोडेर मात्र तमसुक लेख्न सुरु गरिन्छ । तर यी दुबै कुरा यसमा देखिदैन । दरपीठ गरेको भाग च्याचेकै हुन् । अञ्चलाधिशले चार थप्पड साहुलाई लगाए पछि साहुले करतुल स्वीकार गरे ।
मुद्दा मिलाउने मुख्य व्यक्ति त एकजना बुढा भएको चर्चा दौडहा टोली पुग्नु अघि नै सम्बन्धित ठाउँमा पुग्न थाल्यो । मुद्दा आफ्नो पक्षमा पार्न गोप्य रुपले ती फटाहालाई घुस दिन थालेछन् । बीस दिने जिल्ला दौडहा सकेर टोली सदरमुकाम फर्केपछि अञ्चलाधिशले फटाहालाई भनेछन् – गाउँमा हुन्थिस भने यो पन्ध्र दिनमा फटाई गरि कति कमाउने थिइस् , बल्ल चाउरिइस् ! फटाहाले गोजिबाट पच्चीस हजार रुपैयाँ झिकेर देखाउदै भनेछन् – घरमा भएको भए पनि यस्तै बीस पच्चीस हजार हो श्रीमान् ! अञ्चलाधिशले कसरी आम्दानी गरिस् भनी सोध्दा यथर्थता भनेछन् । यसपछि अञ्चलाधिशले हैरानीसाथ भनेछन् – फटाहासंग नसकिने रहेछ बाबा ! अहिले पनि युध्द कालमा यस्तै कारबाहीमा परेका फटाहाहरुलाई खोजि खोजि विभिन्न राजनैतिक लाभका पदहरुमा नियुक्ति गर्दै आएका  छन् । इमानदार नैतिकवान् कार्यकर्तालाई यस्तो पद दिदा आम्दानी हरिने कुरामा नेतागण जानकार छन् । यसरी अहिले जनतासामु गरेका बाचा कबुलका सबै दरपीठहरु  च्याचिएका छन् ।
एक नेताले अर्को नेताको भष्टाचार गरेको पोल खोलि दिने धम्कीको दोहरी चलेको पनि सुनिन्छ । यस्ता भष्टचारको रकम फेला पर्नु असम्भव छ । राष्टपति भवनको नजिकै रहेको गहना लुकाउने पोखरीमा वर्षैपिच्छे गहना खोज्ने पर्व लाग्दछ । मल्लकालदेखि अहिलेसम्म पोखरीमा लुकाएको गहना खोजिदै आएको छ । भष्टचारको पोल खोलिनु र पोखरीमा गहना फेला पर्नु समानै सम्भावना छ । यस्ता भष्टचारका प्रमाणहरु समय आउदा भन्नेछु । तिमीले मेरो भष्टचारको पोल खोल्छु भन्दा मैले पनि तिम्रो खोल्छु भन्नको लागि साँचेको हो । यो दुबैको भष्टचार पन्छाउने जन्तर हो ।
एउटा सामान्य कर्मचारीको इच्छा शक्तिले देशी र विदेशी इन्नभटर र सोलरको महाजाल तोडि देशलाई उज्यालो बनाएँ। यो भनाई नेताहरुले माक्स नलगाइ गरेको भाषणको अंश हो । दोस्रो पटक पनि हाम्रै सिफारिसमा नियुक्त गयौ भनी ढुकुरे छाति फुलेको देखिन्छ । कसैले भन्दछ – धरहरा बनाउन जनताबाट जम्मा भएको  पैसा आधाभन्दा वढी हिनामिना गरि खल्तीमा हाल्न सक्ने अवसर हुदा हुँदै पनि त्याग गरि अजकोल्टो भए पनि बनाएर ठडायौ । यो महान कार्य हो । समाजशास्त्रमा सधैभरि अन्याय मात्र देख्ने सुन्ने भोग्ने बानी पर्दा न्याय र अन्यायको भेद पाउन गाह्रो पर्दछ भनिन्छ । यस्ता कार्यहरु दोहरिदै जादा गल्तीलाई सहने बानी बस्न जान्छ । कालन्तरमा यो व्यक्तिको मूल्य मान्यतामा परिणत हुन्छ । नियमित हुने र गर्नु पर्ने जिम्मेवारी पूरा गर्दा पनि फूलमालाले भव्य सम्मान र अभिनन्दन गर्ने स्तरमा पुगेको देखिन्छ ।
आज बैदेशिक हस्तक्षेप बढीरहेको छ । सर्पले भ्यागुतोलाई आधा निलि सक्दा पनि भ्यागुताले नजिकै आएको झिगा टिप्न छोडदैन । अफगानिस्थानमा भष्ट सरकार भन्दा आतन्ककारी भनिएको तालिवानलाई राम्रो मान्नु पर्ने स्थितिमा पु-यायो । आज नेपालमा वर्गिय चिन्तनको ह्रास भएको छ । कुनै बेला जातीय संवेदनामा खेलियो । अहिले धार्मिक संवेदनामा खेल्न खोजिदै छ ।  वर्षा यामको च्याउ जस्तै रात रातमा भिन्न सिद्धान्त, दर्शन, चिन्तन र कार्यदिशा भएका पाटीहरु एकीकरण हुने र दिनभरिमा ओइलाए झै सबै कुरा नमिलेर भिन्न भिन्न पाटी अदालतले बनाइ दिने कोहि नभएको नभुतो न भविष्यको अभ्यास हाम्रैमा भएको छ । सबै पाटीहरुका राजनैतिक नैतिकता, निष्टा, दर्शन,शिद्धान्त र व्यवहारका पातहरु झरि पत्तासाफ हुँदै छन् । सबभन्दा माउ नीति राजनीति हो ।अन्य नीतिहरु यसैको मियोमा घुम्दछन् । त्यसैले यो सबैले दुख मान्नु पर्ने र गंभिर हुनु पर्ने बिषय हो । संसार बदल्न सक्ने शक्ति युवाका हातमा हुन्छ । यस्ता हातहरु सधै फतुरा कुरामा तालि मार्न प्रयोग भैरहने छैनन् । यो नै सबैको अपेक्षा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->