
बागलुङ/ गोठभरी गाई पालेका विकास पौडेल दिनमा ५० लिटर दुध उत्पादन गर्छन् । विदेशमा केही बर्ष काम गरेर गाउँ फर्किएपछि उनले व्यवसायीक पशुपालन थालेका हुन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको उनको फार्ममा उत्पादन भएको दुध हिउँदमा ढुक्कले बिक्री हुन्छ, बर्षामा भने बजारको समस्या । बिहानको बिक्री गरे बेलुका रोकिन्छ, बेलुकाको बिक्री हुँदा बिहान बजार जाँदैन ।
व्यवसायीक रुपमा उत्पादन भएको दुध घरायसी प्रयोजनले मात्रै खपत हुँदैन् । विकास जस्तै जैमिनी र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा झण्डै एक सय किसानले व्यवसायीक दुध उत्पादन गर्छन् । बजारमा हुने मोलमोलाईले सबैको समस्या उस्तै छ । बानपा–१२ अमलाचौरमा एकल रुपमा दैनिक दुइ सय लिटर दुध उत्पादन गर्ने लिलाधर शर्माले खोला र सडकमै दुध पोखेका अनेक किस्सा छन् । किसानको दुध बजारमा पुग्दा बिचौलिया रमाउँछन् । सुख्खा सिजनमा दुधको माग अधिक हुने बजारले बर्खामा भने किसानको दुध फिर्ता गर्छ ।
‘बजार छैन भनौं हाम्रै स्थानीय बजारमा समेत पोखराको दुध आउँछ, छ भनौ भने हाम्रो दुध बेला बेलामा रोकिन्छ, मिल्क होलिडे हुन्छ’ किसान विकास पौडेल भन्छन् ‘हामी संगठित हुन सकेनौं, बिचौलियाको मनलाग्दी छ, उपभोक्ताले दुध पाउँदैनन् ।’ जैमिनीमा व्यवसायीक दुध उत्पादन गर्ने फार्म र किसानको समुहले बनाएका संकलन केन्द्र गरेर ११ वटा समुह छन् ।
अमलाचौरका दुईवटा सहकारीका संकलन केन्द्र पनि जैमिनीका किसानसँग जोडिन्छन् । दैनिक झण्डै २ हजार लिटर दुध उत्पादन हुने जिल्लाको दक्षिण क्षेत्रको दुधमा एक रुपता छैन । सहकारी, समुह र फार्मले उत्पादन गरेको दुध आ–आफ्नै तरिकाले बजार पु¥याउने गरेका छन् । बजारमा रहेका डेरी पसलमा सम्झौता गरेर दुध बिक्री गर्ने किसानले कहिले बन्दाबन्दीको मार त कहिले बाढी पहिरोको मार व्यहोर्ने गरेका छन् । असजिलो समयमा बजारमा दुध पु¥याउन आफ्नो दुध खरिद गर्नेहरुले बहाना बनाएर रोकिदिने गरेको किसान प्रेम पौडेलको गुनासो छ ।
किसानका समस्या देखेको जैमिनी नगरपालिकाले किसानलाई संगठित गर्न थालेको छ । किसानले आँफै बजार खोज्ने, उत्पादित दुधलाई एकद्वार प्रणालीबाट बजारमा पु¥याउने र मुल्यमा समेत एकरुपता कायम गर्न नगरपालिकाले किसानको समुह बनाएको छ । छिमेकी नगरपालिकाको एक वडाका किसानलाई समेत सहभागी बनाएर नगरले १३ वटा दुध उत्पादक तथा संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समुह निर्माण गरेको जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले बताए ।
‘सधैं बजारको समस्या, किसानलाई एकैखालको समस्या, अब त्यो समस्या टार्न किसान आँफै सक्रिय हुनेछन्’ ढकालले भने ‘बजारको खोजी र किसानको दुध एकै ठाउँमा संकलन गरेर बिक्री गर्नका लागि पहल थालेका छौं ।’
अमलाचौरको कालीगण्डकी दुग्ध उत्पादक सहकारीका मुक्ति आचार्यको नेतृत्वमा समुह गठन भएको छ । ११ सदस्य रहेको समुहको सचिवमा जैमिनी–२ दमेकका किसान नन्दलाल सापकोटा र कोषध्यक्षमा जैमिनी नगरपालिका–१ कुश्मीशेराका दिनानाथ आचार्य छन् । सबै फार्म र संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समिति बनेकाले स्थानीय बजार र पोखरामा समेत नियमित दुध पठाउन सक्नेगरी बजारको व्यवस्थापन गर्ने ढकालले बताए ।
समुह बनेर बिचौलिया छल्ने र बजार खोज्ने भएपछि किसानहरुमा आशा पलाएको छ । ‘दुध बेचे पनि समयमा पैसा नआउने समस्यान थियो, अब त्यो पनि अन्त्य होला’ किसान गुरुदत्त आचार्य भने । जैमिनी नगरपालिकाले नगरप्रमुख पशु पल्टन परियोजना र वडा नं. १० राङ्खानीमा भैसि प्रबद्र्धन कार्यक्रम समेत सञ्चालनमा ल्याएकाले दुधको उत्पादन थप बढ्ने आँकलन छ ।





