बागलुङ/चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी लगायतका साविकको धौलागिरी र आसपासका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किनेहरु हुन् वा देशविदेशमा रहेका, तर दशैंका बेला गाउँ फर्किनेहरु किन नहुन् । गाउँघरमा एउटै आशा हुन्छ कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।
दशैंको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको छ । असोज १ गतेदेखि बिक्रीका लागि खुल्ला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको हो । रातो र सेतो दुवै रंगको स्याउ बागलुङ, कुश्मा, बेनी लगायतका बजारमा आईपुगेको व्यसायीले बताए ।
धादिङका चन्द्र लामालाई यतीबेला बजारमा स्याउ पु¥याउन भ्याईनभ्याई छ । हरेक बर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पु¥याउने लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् । ५० लाखमा खरिद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पु¥याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष छ ।
मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उनले ठेक्कामा लिएका हुन् । ‘दशैंपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दशैंका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ’ लामाले भने ‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’
यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वको बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङ लगायतका शहरमा पठाउन भ्याईनभ्याई छ । बगैँचाबाट संकलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य ८० रुपैयाँदेखि १ सय २५ रुपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए ।
दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आर्कषित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ २ सयदेखि २ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेका छन् ।
२०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीन/तीन वटा स्याउका बेर्ना बाँडेको थियो ।
मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइएको घरपझोङ गाउँपालिका २ मार्फाका किसान राजुप्रसाद लालचनले बताए ।
गतवर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्यांक छ । यसबर्ष गत बर्षको तुलनामा केही कम उत्पादन भएको एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताए । मुस्ताङमा १ हजार ४ सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५ सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने थापाले बताए ।





