पोखरा – लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् ।
शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दिवसलाई पुरस्कार अर्पण गरे । पुरस्कारमा १ लाख नगद पनि रहेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका पूर्वअध्यक्ष अध्यक्ष हेमबहादुर प्रधानले पुरस्कार स्थापना गरेका हुन् । हरेक २ वर्षमा यो पुरस्कार प्रदान गरिन्छ ।
२०७६ को यो पुरस्कार महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्न निर्णय भए पनि उनी उपस्थित हुन सकिनन् । समितिका सचिव तीर्थ श्रेष्ठले घिमिरेको घरमै पुगेर पुरस्कार अर्पण गरिने जानकारी गराए ।
१९९८ असारमा धनकुटामा जन्मिएका दिवस सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए । उनी संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील छन् ।
लामो समय प्राध्यापनमा बिताएका दिवसले विभिन्न जातजाति र संस्कृतिको अनुसन्धान गरेका छन् । दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोकसंस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवस की कविताएँ जस्ता कृतिहरु प्रकाशित छन् ।
दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छन् । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिएकी छन् । २००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छन् ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्त रोहितराज बास्तोलाई बधाई अर्पणसमेत गरिएको थियो । बास्तोला समितिका कानुनी सल्लाहकार हुन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताएका हुन् ।
कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदा रहेको भन्दै उनले भने, ‘यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ, कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत हामी पहल गर्छौं ।’
सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने बताउँदै कला, साहित्य, संस्कृतिको क्षेत्रमा लागेका व्यक्ति कहिल्यै पूर्व नहुने भनाइ राखे ।
धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले समितिका क्रियाकलापलाई अझ प्रभावकारी बनाउन आफूहरु अहोरात्र खटिएको भनाइ उनले राखे ।
समिति सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै विन्ध्यवासिनी माताको मूर्ति जिर्णोद्धार गरिएको बताए । निकै जीर्ण भएको मुर्ति पुरातत्व विभागको स्वीकृतिमा जिर्णोद्धार गरिएको भन्दै उनले अब मुर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको जानकारी गराए । मन्दिर परिसरमा रहेको पोखराकै पुरानो तहसिल भवन पुनर्निर्माण, प्राकृतिक चिकित्सालय निर्माण, गुरुकुल भवन निर्माणका काम पनि भइरहेको सचिव श्रेष्ठले बताए । अब विन्ध्यवासिनीमा रात्रिकालीन पूजा सञ्चालनका लागि बिजुलीको प्रबन्ध गर्न लागिएको उनले जानकारी गराए ।





