बागलुङ/ सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नकालागि मुस्ताङको कागबेनी भरिभराउ छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको हो ।
दशैं अघि सोह्रश्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ती हुने जनविश्वास छ । मुस्ताङ बाहिरका सर्वसाधारण सोह्रश्राद्ध सुरु भएदेखि नै मुस्ताङ प्रवेश गर्न थालेका थिए । औंशीमा भने श्राद्धका लागि कागबेनी पुग्नेहरु धेरै नै भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । ‘अरु वर्षहरुमा जस्तो यस वर्ष छैन, कोरोना महामारीका कारण केही कडाइ गरिएको छ तर पनि मानिसको भीड छ’, पौडेलले भने, ‘यहाँ आउनकालागि खोप लगाएको वा तत्कालै कोरोना नेगेटिभ भएको हुनुपर्नेछ ।’ मंगलबार दिउसै एक सय बढी गाडी मुस्ताङ भित्रिएको उनले बताए । कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेहरुको संख्या ठूलो रहेकोे कागवेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्य बताउँछन् ।
कागबेनी धार्मिक स्थल भगवान विष्णुलगायत सबै देवहरूको बासस्थान भएको जनविस्वास छ । स्वामी प्रपन्नाचार्यको भनाइमा शालिग्राम भगवानको शरीरमा मुक्तिनाथ भगवान रहेकाले यहाँ श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्र पुराण लगायतका ग्रन्थमा उल्लेख छ । कागबेनी श्राद्धस्थलमा बर्षेनी बडादशैं र चैतेदशैं सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । मुस्ताङमा स्याउ र च्याङ्ग्राको खोजीमा पुगेका व्यापारीदेखि दशैंको छेकोमा घुम्न जानेहरुको समेत उत्तिकै उपस्थिति रहेको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघ मुस्ताङका अनुसार सोह्रश्राद्धको औँशी अघिपछि र दशैं बिदाको समयमा यहाँ आउने पर्यटक तथा तिर्थालुहरुकालागि खाना बासको व्यवस्था गर्न नै कठिन हुने गरेको छ ।
कागबेनीमा श्राद्ध गरेपछि बुधवारै फर्कनेको ताँती लाग्छ । यसरी फर्केकाहरु अधिकांशले घटस्थापनाको दिन बागलुङ कालीका दर्शन गरेर गन्तव्यमा लाग्ने गरेका छन् । त्यसैले घटस्थापनामा बागलुङमा निकै भीड लाग्ने गरेको छ । मुस्ताङका तीर्थालुले स्याउ, ब्राण्डीलगायतका स्थानीय उत्पादन कोसेलीका रुपमा लैजाने गरेका छन् ।





