बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दसैंलाई भेडा, च्यांग्रा : बझाङबाट ५ दिनमा पोखरा !

दसैंलाई भेडा, च्यांग्रा : बझाङबाट ५ दिनमा पोखरा !

नाका नखुल्दा आएनन्, तिब्बती च्यांग्रा ।


  • विकाश रोकामगर
  • असोज २२ २०७८, शुक्रबार

‘बझाङबाट धनगढीसम्म नै ३ दिनभन्दा बढी लाग्यो । त्यहाँबाट २ वटा ट्रकमा हालेर चितवन हुँदै पोखरा ल्याया’का हौं । यसपालि त पोर, परारभन्दा बेपार घट्या छ ।’

पोखरा/ पोखरा मुख्य बजार र हेमजा जोड्ने याम्दीपुल क्षेत्रमा यतिबेला भेडा, च्यांग्राको ठूलो बथान देखिन्छ । चिन्नका लागि चिन्ह लगाइएका ती भेडा, च्यांग्रा रंगीबिरंगी देखिन्छन् । व्यापारीहरु आफ्नो भेडाच्यांग्रा सम्हाल्नै व्यस्त छन् भने उपभोक्ता मोलमोलाईमा ।

केही दिनदेखि याम्दी क्षेत्रमा भेडा बेच्ने र किन्नेको भिड छ । अघिल्ला वर्षभन्दा यस वर्ष भेडाच्यांग्राको मूल्य आकासिएको छ । भेडाच्यांग्रा किन्न गएका उपभोक्ताहरु कोही ‘भाउ’ सुनेर छक्क पर्छन् त कोही सामान्य मान्छन् । त्यहाँ मुस्ताङसहित बझाङसम्मका भेडाच्यांग्रा बिक्रीवितरणका लागि राखिएका छन् ।

०००

पोखरा लेकसाइडदेखि ५ जनाको एउटा टोली बनाएर मुस्ताङी च्यांग्रा लिन गएका खेम पहारी सुरुमा त बढेको मूल्य सुनेर छक्कै परे । प्रत्येक वर्ष त्यहींबाट च्यांग्रा ‘उठाइरहेका’ उनी यस पटक भने ह्वात्तै मूल्य बढेको थाहा पाएपछि छक्क परेका हुन् ।

‘धेरै वर्ष भो दसैंमा मुस्ताङ च्यांग्रा खान थालेको । त्यही छरछिमेक जम्मा भएर अघिल्ला वर्षहरुमा पनि च्यांग्रा खान्थ्यौं । पोहोर त २७ देखि ३० हजारसम्ममात्रै पथ्र्यो,’ पहारीले भने, ‘यस पटक त कहाँ हो कहाँ मूल्य पुगेछ ।’ उनको समूहले एउटा च्यांग्रा ४३ हजार रुपैयाँमा किनेको थियो ।

पोखरा आइपुग्ने रोज्जा च्यांग्रालाई च्यांग्रालाई ४५ हजार रुपैयाँभन्दा माथि पर्छ । पहारीले धेरै बार्गेनिङ गरेपछिमात्रै २ हजार रुपैयाँ घट्यो । ‘हिमाली जडिबुटी खाएको हुन्छ रे ! ज्यानलाई पनि राम्रै होला ! वर्ष दिनमा एक दिन भएपनि राम्रै आऔं न त भनेर आँटियो,’ आफूसँगै आएका साथीहरुलाई च्यांग्रा डो¥याउन दिँदै उनले भने ।

०००

सुदूरपश्चिम, बझाङका जसवीर बोहोरा प्रत्येक दसैं छेका भेडा, च्यांग्रा बटुलेर पोखरा आइपुग्छन् । यसरी भेडा, च्यांग्रा बिक्री गर्नै पोखरा आउन थालेको ५ वर्ष भयो । केही आफ्नो त केही अरु गाउँलेको भेडा बटुलेर उनी ५ दिन लगाएर पोखरा आइपुगेका हुन् ।

‘बझाङबाट धनगढीसम्म नै ३ दिनभन्दा बढी लाग्यो । त्यहाँबाट २ वटा ट्रकमा हालेर चितवन हुँदै पोखरा ल्याया’का हौं,’ याम्दीमा भेटिएकाले बोहोराले ढोरपाटनसँग भने, ‘यसपालि त पोर, परारभन्दा बेप्पार घट्या छ ।’ उनीसहित ३ जना साथी मिलेर १ सय २० वटा भेडा ल्याएका थिए । त्यसमध्ये २ दिनमा १० वटामात्रै बिक्री भएका छन् ।

गाउँघरमै आफूले भेडा किन्दा महंगो तिर्नु परेकाले बाध्य भएर महंगैमा बेच्नु परेको जसवीरको तर्क छ । ‘भेडा, च्यांग्रा किन्ने धेरै भए । पाल्ने घटे । त्यै भएर महंगो प¥यो होला !’ उनले भने, ‘यता महंगो भएर बेच्नै गाह्रो । हुन त दसैं बल्ल सुरु भएर पनि हुन सक्छ । हेरौं अझै केही दिन बाँकी छ ।’ पहिले धनगढीतिरै भेडाच्यांग्रा बिक्रीवितरण गर्दै आएका जसवीर साथीभाइले पोखरामा राम्रो व्यापार हुने बताएपछि यतै सोझिएको बताउँछन् ।
उत्साह न न बेच्नेमा न किन्नेमा !

भेडा, च्यांग्राको मूल्य अघिल्लो वर्षभन्दा झन्डै दोब्बर बढेको छ । तर, न व्यापारी खुसी देखिन्थे न त उपभोक्ता नै । व्यापारीलाई बिक्री नहोला कि भन्ने चिन्ता थियो भने उपभोक्तालाई किन्न नसक्ने हो कि भन्ने चिन्ता ।
‘अघिल्ला वर्षहरुमा त रोजी रोजी मुस्ताङ, तिब्बती भेडा, च्यांग्रा खाइन्थ्यो । अरुबेलाभन्दा सस्तो पर्ने भएकाले एक्लै पनि उठाउने आँट आउँथ्यो,’ च्यांग्रा बिक्रीस्थलमा भेटिएका एक उपभोक्ताले भने, ‘अहिले ४÷५ जना मिल्दा पनि किन्न नसकिने गरी महंगो प¥यो ।’

बेनीका विकाश मगर लकडाउनकै समय अघिल्लो वर्ष पनि पोखरा आएर मुस्ताङी च्यांग्रा बेचे । तर, अघिल्लो वर्ष सोचेजस्तो कमाइ भएन । यस वर्ष केही हुन्छ कि भन्ने आसले करिब २ सय च्यांग्रा ल्याएका उनको अनुहारमा यस वर्ष पनि खास उत्साह छैन ।

‘अघिल्लो वर्ष त्यत्रो दुख गरेर ल्याइयो । खाइपाई ठीकै भयो । यो वर्ष झन् हामीलाई गोठमै किन्न पनि महंगो प¥यो । नाफा कसरी निकाल्ने भन्ने भा’छ,’ मगर सुनाउँछन्, ‘अहिले झन् लकडाउन, पहिरो जम्मैले साह्रो दुख दियो ।’
मनसुनको सुरुआतमै आएको बाढीपहिरोले बेनी–मुस्ताङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । बाढीपहिरोले सडक भत्काएपछि अझैसम्म आउजाउ गर्न सहज छैन । विकासको टोलीले २ लगाएर बेनीसम्म ल्याउन सकेको बताउँछन् । ‘त्यहाँ आएपछि बल्ल गाडीमा हालेर पोखरा ल्याउन सक्यौं । यहाँ ल्याएको २ दिन भो,’ उनले भने ।

बाढी, पहिरोको सकस छिचोल्दै ल्याउनुपर्ने र कोरोना महामारीका कारण तिब्बतबाट भेडा, च्यांग्रा ल्याउन नपाउँदा यस पटक मूल्य आकासिएको व्यापारी बताउँछन् । ‘अहिले सबैले गोठमै महंगो भन्न थाले । पहिले पहिले त यस्तो हुँदैनथियो,’ व्यापारी मगरले अनुभव सुनाए ।

दसैंको समयमा पोखरामा करिब २ हजार भेडा, च्यांग्रा बिक्रीवितरण हुँदै आएको व्यापारी सुनाउँछन् । तर, यसपटक भने आवश्यकमात्रामा आयात नगरिएकाले उक्त संख्या घट्ने देखिएको छ ।
८ हजार चाहिन्छ खसीबोका

दसैंको बेला पोखरामा ८ हजार वटा खसीबोका खपत हुने गरेको खसीबोका व्यवसायी संघले जनाएको छ । यस वर्षको दसैंका लागि आवश्यक खसीबोका बिहीबारबाट बिक्री वितरण सुरु भइसकेको संघका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

ज्युँदो खसीबोकालाई किलोका हिसाबमा बिक्री वितरण गर्ने गरी मूल्यसूचि तोकेको श्रेष्ठले जानकारी दिए । ‘६ सय १० देखि ५० सम्म मूल्य तोकेका छौं । यसले सबैलाई जोखेर लैजाँदा एकरुपता आउने देखियो,’ ढोरपाटनसँग उनले भने । पोखरामा खसीबोका, पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा लगायत जिल्लाबाट आउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->