बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दशैंलाई कोशेली भाँगो र डल्ले खुसार्नी

दशैंलाई कोशेली भाँगो र डल्ले खुसार्नी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

बागलुङ/ रोजगारिका लागि आएका दोलखाका कवी न्यौपाने दशैं मान्न यो बर्ष काठमाण्डौ जाँदैछन् । सिवाईसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले दशैं मान्न घर जानेबेला बाबुलाई सोधे, ‘कोशेली के ल्याउँ बुबा ।’ न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, ‘शालिग्राम पाईन्छ भने ल्याउनु, भाँगो र डल्ले खुसार्नी नभुल्नु है ।’

बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका जोकोहीले कोशेलीमा भाँगोकै आशा गर्छन् । परिवारकै सल्लाह अनुसार कविले एक बर्षकालागि पुग्ने भाँगो खरिद गरेर झोलामा राखेको बताए । ‘बुवाको इच्छा अनुसारको शालिग्राम खोज्न त भ्याईन तर कोशेलीमा भाँगो र डल्ले खुसार्नी लैजाँदै छु’ न्यौपानले भने ‘यहाँको लोकल केरा पनि हामीले लैजान योग्य छ । काठमाण्डौमा लोकल केरा देख्नै पाईंदैन् ।’

उनले बागलुङको ताराखोला र ढोरपाटनमा फलेको आलु पनि कोशेली हुनसक्ने बताए । ‘हाम्रो घरमा दोलखाको आलु आउने भएकाले मैले नलाने भएँ, तर यहाँको अर्गानिक आलु कोशेली गज्जव हुन्छ’ न्यौपानले भने ‘डल्ले खुसार्नी अन्तको पनि खाएको छु, तर यहाँको स्वाद बिर्सिनसक्नु भएर तीन किलो हिँडाएँ ।’
चार दिनको कामका लागि बागलुङ आएका चितवनका प्रेमनाथ वाग्लेलाई परिवारले घरबाट निस्कने बेला बागलुङको भाँगो ल्याउनु भनेका थिए । शनिबार काम सकेर घर फर्किँदै गरेका वाग्लेले पनि कोशेलीमा भाँगो र स्थानीय जातको केरा तयार पारेको बताए । ‘अरु त यहाँको अर्गानिक जे पाईन्छ त्यहि लैजाने हो, दशैंको बेला छ भाँगो र केरा त तयार गरिसकेँ ।’ केन्द्रिय बचत तथा ऋण सहकारी संघका बरिष्ठ कार्यक्रम अधिकृत वाग्ले बेला बेलामा बागलुङ आउँदा कोशेलीमा भाँगो लैजान छुटाउँदैनन् । आलु र खुसार्नी पनि वाग्लेको झोलामा प्याक भैसके । ‘यहाँ आएर फर्किँदा बागलुङमै फलेको खानेकुरा कोशेली आओस् भन्ने परिवारको आश हुन्छ, बजारमा सजिलै पाईने बस्तुनै हामीले लाने हो’ वाग्लले भने ।
सिप बिकास तालिम केन्द्र पर्वतमा काम गर्ने बिना शर्मा दशैं मान्न काठमाण्डौ जाँदै छिन् । बर्षमा एक पटक घर जाँदा शर्माले कोशेली लैजाने भाँगो बागलुङबाट पर्वत मगाएकी छन् । उनले ताराखोले आलु र मुस्ताङको स्याउ कोशेलीमा लैजाँदै छन् । दशैं सुरु भएयता बागलुङ बजारमा भाँगो, केरा, आलु र खुसार्नी खोज्नेहरु धेरै देखिन थालेका छन् । ‘पहिले भन्दा बढी भाँगोको खोजी भैरहेको छ मेरो पसलमा राखेको दुई बोरा भाँगो सकियो, ताराखोलाको आलु त पु¥याउनै सकिएन्’ आचार्य किरानाका सञ्चालक टंक आचार्यले भने ‘जिल्ला बाहिर जाने धेरैले गाउँमा फलेको के छ भनेर सोध्छन् ।’ बागलुङ बजारमा भाँगो प्रतिकिलो ४ सय रुपैयाँमा बिक्रि भैरहेको छ । स्थानीय जातको केरा १ सय २० रुपैयाँ दर्जन, हरियो डल्ले खुसार्नी १ सय रुपैयाँ किलो र ताराखोला, ढोरपाटनको आलु ७५ देखि १०० रु्रपैयाँ सम्म पर्ने गरेको छ ।
बागलुङमा यी उत्पादनको लेबल भने बनेको छैन । त्यसैले उपभोक्ताले खुला रुपमै लैजाने गरेका छन् । जानेबुझेकाहरुले खुला लैजान मन पराएपनि सबैलाइ चिनाउन भने प्याकीङ आर्कषक चाहिने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘हामीले पनि चासो राखेकै छौं, तर आर्कषक प्याक र लेबलकालागि घरेलु लगायतका संस्थाले तालिम दिन सके राम्रो हुन्थ्यो ।’ लेबल बनाएमा किसानले उत्पादन गरेका सामान मूल्य अझै बढाएर बेच्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->