बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी चेम्बर अफ कमर्सको पदस्थापन

गण्डकी चेम्बर अफ कमर्सको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यको पदस्थापन भएको छ । विजया दशमी, दिपावली लगायत पर्वको शुभकामना आदान प्रदानसहित भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले कार्य समितिका पदाधिकारी तथा सदस्यलाई पदस्थापन तथा सपथ ग्रहण गराए ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले स्थानीय उत्पादनको प्रवद्र्धन र स्वरोजार सिर्जना गर्न निजी क्षेत्रलाई आग्रह गरे । उनले विदेशमा उत्पादन गरेका सामाग्री ल्याएर बेचेर आत्म निर्भर अर्थतन्त्रको विकास हुन नसक्ने दावी गरे ।

नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले स्वदेशमा उत्पादन नबढाएसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसक्ने धारणा राखे । कोभिड १९का कहरले उद्योगी व्यवसायीलाई आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको उल्लेख गर्दै उनले एकलभन्दा सामुहिक रुपमा व्यवसाय गर्न सुझाव दिए र्। अध्यक्ष मल्लले कृषि एम्बुलेन्सको व्यवस्था गरी सस्तो मुल्यमा कृषिजन्य उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा प्रदेश मामिलामन्त्री कुमार खड्काले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लागि कुटनीतिक नियोगका प्रमुख, राजदुत र विकासका साझेदारलाई पोखरा ल्याउन चेम्बर अफ कमर्सले निर्णायक भूमिका खेलेको बताए ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलले गण्डकी प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट भूमिका खेल्ने उद्घोष गरे । कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, कृषि, भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कँुवर, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव देवराज शर्मा, कार्य समिति सदस्य डा टेकनारायण पौडेल, निर्वाचन संयोजक उपेद्रराज पौडेललगायतले मन्तव्य राखेका थिए ।

पहिलो साधारण सभा तथा अधिवेशनबाट उपाध्यक्षमा श्रीबहादुर गुरुङ महासचिवमा देवराज शर्मा सचिव विष्णुकुमार श्रेष्ठ कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्विरोध रुपमा चयन भएका छन् । कार्य समितिको सदस्यमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, टीकाकुमारी गुरुङ, गंगाप्रसाद श्रेष्ठ, विष्णुकुमारी गुरुङ ‘एकता,’युवराज खतिवडा, अरुण गिरी रहेका छन् । गण्डकी प्रदेश चेम्बरको विधान बमोजिम अध्यक्ष किसान सुनारको सिफारिसमा प्रदेश कार्य समितिको सदस्यमा गिता तिवारी गौतम, रवीबहादुर विका र डा टेकनारायण पौडेललाई मनोनित गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->