बागलुङ – बागलुङ बजारमा कोरोना महामारीका कारण एक सातामात्रै चलेर बन्द भएको हाटबजार पुनः सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाहरुको आग्रहपछि थोक बजारसमेत सञ्चालन हुनेगरी हाट बजार सञ्चालनमा ल्याइएको हो ।
बागलुङ नगरपालिका, ३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगरपालिकाक प्रमुख जनकराज पौडेलले उद्घाटन गरेका हुन् । कृषि ज्ञान केन्द्र, बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले बजार सञ्चालनमा ल्याएको हो ।
बजारको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले किसानको गुणत्मक परिवर्तन हुन नसकेको बताए । ‘हिजो बजारबाट ल्याएर खानेहरु अहिले गाउँकै अर्गानिक उत्पादन खान थालेका छन्,’ पौडेलले भने, ‘तर किसानले कर्मबाट चाहेको जति उपलब्धी हासिल गर्न सकेका छैनन् ।’ राज्यका निकायमा रहेकाहरुले किसानका लागि भन्दापनि आफ्नो लागि बढी सोच्ने भएकाले किसानको अवस्थामाथि उठ्न नसकेको पौडेलले बताए ।
‘नीति बन्छन्, विधि हुन्छ, तर विचौलिया ठूलाबडाकै वरिपरि सरकारी सुविधा घुमिरहे,’ उनले भने, ‘कागज मात्रै हेरेर सुविधा दिने काम भए नभएको नहेर्न प्रवृत्तिका कारण समस्या भइरहेको छ ।’ गुठीमा हरेक हप्ता शनिबार हाट बजार र अन्य दिन थोक बजार सञ्चालनमा आउने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए ।
समितिले हरेक दिन फलफुल तथा तरकारीको मूल्य समेत तोक्ने छ । अहिलेसम्म बागलुङमा फलफुल तथा तरकारीको मूल्य बजारमा मोलमोलाईकै आधारमा निर्धारण हुने गरेको थियो । किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफुल तरकारी पाउने वातावरणबनाउनका लागि हाट तथा थोक बजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।
‘थोक बजारबाट अरु व्यपारीले पनि किनेर लैजान सक्नुहुन्छ, ५ किलोभन्दा माथि लानेले थोक मूल्यमा फलफुल तरकारी पाउनुहुन्छ,’ उनले भने, ‘बाहिरको तरकारी यहाँ ल्याउन पाइँदैन, बागलुङमै फलेको तरकारीले स्थान पाउनुपर्छ ।’ उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले किसान आफंैले बिक्री गर्ने भएकाले उपभोक्ताले ताजा तरकारी पाउने बताए । उद्योग वाणिज्य संघले बजारलाई सघाउने उनको भनाइ थियो ।
जिल्ला कृषि सहकारी संघसँग सहकार्य गरेर बागलुङ नगरपालिकाले बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा ५ लाख बजेट विनियोजन गरेको थियो । बजार निर्र्माण भएपछि २ वर्ष अघिनै सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण निरन्तरता पाउन सकेको थिएन ।
थोक बजारसमेत थपेर २ वर्षपछि पुन उद्घाटन गरिएको हो । विषादीयुक्त कृषि उपजहरु महंगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताहरुको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट तथा थोक बजार सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिए । आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने समितिले जनाएको छ ।
कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका विचौलियाहरुको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताए । हाल २ हजार वर्गफिटमा १० स्टल रहने गरी ५ वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा बनाइएको छ । जग्गाको भाडा बागलुङ नगरपालिकाले व्यहोर्ने छ ।





